सुनसरीको तरहरामा शनिबार बिहान केही यात्रु र प्रहरी बसलाई ठेलिरहेका थिए ।
उनीहरुले यसो गर्नुको कारण थियो– बस अचानक बन्द भयो । इन्जिन बन्द भएपछि चालकले धेरै बेरसम्म प्रयास गर्दा पनि स्टार्ट भएन ।
तरहराको प्रहरी चौकी नजिकै बस सडकमै रोकिएपछि त्यसलाई स्टार्ट गर्न यात्रु र प्रहरी समेत मिलेर ठेलिरहेका थिए ।
लामो पहाडी सडकको यात्रा गर्नुपर्ने बसमा तराईको सजिलो सडकमै समस्या आएपछि यात्रा कत्तिको जोखिमपूर्ण र दिग्दारलाग्दो हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
यातायातका साधन मर्मत, सम्भार गरेर दुरुस्त राखिनुपर्ने हो । तर त्यसो गरिएको पाइँदैन ।
समय समयमा मर्मत गर्ने, बिग्रिएका पार्टपूर्जा फेर्ने जस्ता नियमित काम नगर्दा सवारी साधनहरु यात्राका लागि जोखिमपूर्ण बन्ने गरेका छन् ।
त्यसैले पनि कतिपय पहाडी क्षेत्र र तराईमै पनि बसलगायत सवारी साधन दुर्घटना हुने गरेका छन् ।
विराटनगर, झापा, इटहरी, धरान जस्ता स्थानबाट संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुमलगायत पहाडी जिल्लामा थुप्रै सवारी साधन सञ्चालनमा छन् ।
यात्रुहरु आफ्नो गन्तव्यमा पुग्न हतारिएका हुन्छन् । अनि आफूले पर्खेर बसेको स्थानमा आइपुगेको साधनमा चढेर यात्रा गर्छन् ।
त्यसरी यात्रा गर्दा आफू कत्तिको सुरक्षित साधनमा चढेको छु भन्ने यात्रुले हेक्का पाउँदैनन् । उनीहरुले परीक्षण गर्ने कुरा पनि भएन । कतिपय प्राविधिक कुराहरु थाहा पनि हुँदैन ।
यस्तो अवस्थामा यातायात व्यवसायीहरुले ध्यान दिनुपर्ने देखिन्छ । सवारी साधनलाई यात्रा सुरु गर्नुअघि ठिकठाक भए, नभएको जाँच्ने र आवश्यक परे मर्मत गर्ने गर्नुपर्नेमा त्यस्तो सबैले गरेको पाइँदैन ।
त्यही कारण सवारी साधन गन्तव्य नपुगी बीचैमा बन्द हुने, पार्टपूर्जाहरु खुस्किएर झर्ने जस्ता उदाहरण धेरै पाइन्छन् । कतिपय साधनले कालो बाक्लो धुवाँ छाडिरहेका हुन्छन् । यो पनि समयमा मर्मत र स्याहार नगरेकै कारण हुन्छ ।
यसैगरी ट्राफिक प्रहरीले पनि लामो र छोटा दूरीका यात्रुबाहक साधनहरुमा निगरानी गर्नुपर्ने देखिन्छ । नत्र यात्रुले सधैँ त्रासमय अवस्थामा यात्रा गर्नुपर्ने अनि कतिपय बेला दुर्घटना ब्यहोर्नुपर्ने अवस्था पनि हुन सक्छ ।
यसका साथै दक्ष र अनुभवी चालक हुनु पनि सवारी साधनमा सुरक्षित यात्राको अर्को महत्वपूर्ण पक्ष हो । यसमा पनि यातायात व्यवसायीले ध्यान दिनु जरुरी छ ।
यो विषयमा सरोकारवाला सबै पक्षले ध्यान दिनु अत्यन्त जरुरी देखिएको छ । होइन भने लामो पहाडी सडकको यात्रा गर्दा सवारी साधन ठेलेर कहिले सुरक्षित रुपमा गन्तव्य पुगिएला र ?
Discussion about this post