इटहरी । ‘कोशी’ नामकरणको विरोधमा भइरहेको आन्दोलनलाई ९ वटा आदिवासी राजनीतिक संगठनहरूको गठबन्धनले समर्थन गरेको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी कोशी नाम खारेज गरी पहिचानसँग जोडिएको नाम नराखे देशव्यापी आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
पत्रकार सम्मेलनमा खम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष आरके खम्बुले १ नम्बर प्रदेशको नाम कोशी नामकरण हुनु त्यहाँका आदिवासी जनताको पहिचानमाथि धावा बोल्नु समान भएको धारणा राखे ।
जनताले आफ्नो पहिचान गुमाएको महसुस गर्नु र त्यसको प्रतिवाद गर्नु स्वाभाविक रहेको बताउँदै उनले भने, ‘जनताले सो नामलाई शान्तिपूर्ण तरिकाले अस्वीकार गर्दा राज्यले बल प्रयोग गरेर हत्या नै गर्नु त गलत भयो नि, त्यसको ठुलो मूल्य चुकाउनुपर्छ ।’
त्यसैगरी नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा.विजय सैजुले कोशीमा चलेको आन्दोलनमा आफूहरुको पूर्ण सहमति रहेको बताए । उनले देशमा बहु–पहिचान सहितको संघीयता लागू हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय ताम्सालिङ पार्टी अध्यक्ष बुद्धराज लामाले स्थानीय जनताको भावना र मर्म विपरीत भएको नामकरणमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए । मगरात राष्ट्रिय पार्टी नेपालका अध्यक्ष इन्द्रबहादुर मगरले कोशी नामकरण खारेज नगरिए कोशीमा सल्किएको आगो देशभरी फैलिने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरूले चैत ५ गते विराटनगरमा प्रहरी दमनबाट पदमबहादुर लिम्बुको मृत्यु भएको भन्दै मृतक लिम्बुलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरेका छन् ।
आन्दोलनलाई नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, बहुजन शक्ति पार्टी,थारुवान–थारुहट सङ्घर्ष समिति, राष्ट्रिय ताम्सालिङ पार्टी नेपाल, खसान राष्ट्रिय सङ्घर्ष समिति, मगरात राष्ट्रिय पार्टी नेपाल, लिम्बुवान पार्टी नेपाल, तमुवान राष्ट्रिय पार्टी नेपाल गरेर नौवटा आदिवासी राजनीतिक दलले समर्थन गरेका हुन् ।
Discussion about this post