विराटनगर । कोशी प्रदेश सरकारको २५औँ मन्त्रिपरिषद बैठकले दुईवटा संशोधन विधेयकलाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको निर्देशक पद रिक्त भएकाले अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा पेश गरिएका प्रदेशवातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको हो ।
यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपूरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले प्रदेश नामकरणमा भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सम्पूर्ण राजनीतिकदलहरुलाई धन्यवाद ज्ञापन पनि गरेको छ । यसका साथै कोशी प्रदेशवासीलाई बैठकले बधाई ज्ञापन गर्ने निर्णय पनि गरेको जनाइएको छ ।
बैठकले कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागी भई चैत १० गते पदम लिम्बु (लाजेहाङ) को दुःखद निधनप्रति दुःख व्यक्त गरेको छ ।
उनका परिवारलाई तत्काल राहत स्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने तथा नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय पनि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
Discussion about this post