विराटनगर । प्रदेश नामकरणविरुद्ध चैत ५ गते भएको प्रदर्शनमा घाइते भइ मृत्यु भएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्रीपरिषद्को आज सोमबार बसेको बैठकले राहत दिने निर्णय गरेको हो । कोशी नाम खारेजको माग गर्दै भएको आन्दोलनमा घाइते भएका लाजेहाङको गत १० गते मृत्यु भएको थियो ।
‘कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागी भई चैत १० गते पदम लिम्बू (लाजेहाङ) को दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बूप्रति हार्दिक श्रदाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम हार्दिक समवेदना प्रकट गर्दछ,’ प्रदेश सरकारको निर्णयमा भनिएको छ, ‘तत्काल राहतस्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय भएको छ ।’
उनको मृत्यु प्रहरीको लाठी प्रहारबाट भएको आन्दोलनकारीले दाबी गर्दै आएका छन् । प्रहरीले भने आन्दोलनकारीले प्रहरीमाथि प्रहार गर्न खोजको लाठी उनको टाउकामा लागेको बताएको छ ।
प्रहरीले घटनाबारे छानबिन गर्ने पनि जनाएको छ । लिम्बूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
सरकारले नामकरणसम्बन्धी विवादका विषयमा वार्ता गर्न समिति गठन गरेको छ ।
Discussion about this post