विराटनगर । नामकरण विरोधमा भएको प्रदर्शन र झडपका कारण तनावग्रस्त बनेको विराटनगर सामान्यतिर उन्मुख भएको छ ।
पहिचानमा आधारित नाम राख्न र कोसी नाम खारेज गर्न माग गर्दै पहिचानवादी संगठनका प्रतिनिधिहरु तथा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । आन्दोलनकारीले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए भने प्रहरीले अश्रुग्यास, लाठी र पानीको फोहरा प्रहार गरेको थियो । हवाई फायर पनि गरिएको थियो ।
प्रदर्शनकारीले प्रहार गरेको ढुंगा र इँटाले लागेर नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित १५ जना सुरक्षाकर्मी घाइते भएका छन् । घाइते हुनेमा १२ जना नेपाल र ३ जना सशस्त्र प्रहरी छन् ।
वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ, जिल्ला प्रहरी मोरङका निरीक्षक (इन्सपेक्टर) रोहित शर्मालगायतन घाइते भएका हुन् ।
सशस्त्र प्रहरीतर्फ १ जना नायव निरीक्षक र २ जना जवान घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।
दाहालका अनुसार स्थितिलाई नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीबाट १३ सेल अश्रुग्यास र १७ राउण्ड हवाईफायर भएको छ । सशस्त्रले ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
करिब डेढ घण्टाजति प्रदर्शन गरेपछि कोणसभा गरेर आन्दोलनकारी फर्किएका छन् ।
पहिचान पक्षधरले दिउँसो १ बजेदेखि पाञ्चाली छेउबाट प्रदर्शन सुरु गरेका थिए ।
कोणसभा गरेर पहिचान पक्षधर नेताले आफ्ना कुरा राखिसकेपछि आन्दोलनकारी विराटनगरबाट फर्किएका हुन् ।
पहिचान पक्षधरले गरेको प्रदर्शन नियन्त्रणमा लिने क्रममा भएको झडपमा परेर आन्दोलनकारीतर्फ कति घाइते भए भन्ने यकिन छैन ।
कोणसभाका क्रममा नेताहरुले ९ जनाजति प्रदर्शनकारी घाइते भएको बताएका छन् ।
प्रदेश १ को नाम कोसी राखिएपछि ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण हुनुपर्ने र कोसी खारेज हुनुपर्ने मागसहित पहिचानवादी आन्दोलित छन् ।
आन्दोलनकारीले विराटनगरको बिग होटलको कफी सपमा तोडफोडसमेत गरेका छन् ।
शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बनाउन आन्दोलनकारीले नै भूमिका खेलेको प्रहरीका एक अधिकारी बताउँछन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
कोसी नाम खारेज हुनुपर्ने, मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने, पहिचानवादी एक हुनुपर्ने लगायतका माग पहिचान पक्षधरको छ ।
फागुन १७ गते प्रदेशको नामकरण गरेर कोसी राखिएको थियो । नाम खारेजीको माग राख्दै चैत ५ गते विराटनगरमा प्रदर्शन भएको थियो । त्यस क्रममा पहिचान पक्षधर पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको थियो ।
आन्दोलनकारीकै लाट्ठी प्रहारबाट उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सार्वजनिक भएको एउटा भिडियोमा पनि लिम्बूको टाउकोमा आन्दोलनकारीकै लाट्ठी बज्रिएको देख्न सकिन्छ । पहिचानवादी समूहले भने प्रहरीको लाठी प्रहारका कारण उनको मृत्यु भएको दाबी गर्दै आएका छन् ।
आन्दोलन चर्काउन, शान्ति सुरक्षाको अवस्था भड्काउन र आन्दोलनरत सबैको सहानुभूति बटुल्न प्रहरीको कुटाइले मृत्यु भएको दाबी गरिरहेको सुरक्षा स्रोतले बतायो ।
चैत ८ गते उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका उनको चैत १० गते बिहान मृत्यु भएको थियो । आन्दोलनरत पक्षले प्रतिष्ठानमै रहेको शव बुझ्न अस्वीकार गरिरहेको छ ।
कोसी प्रदेश सरकारले मृतक लिम्बूको परिवारलाई राहतस्वरुप ३ लाख रुपैयाँ दिने निर्णय सोमबार गरिसकेको छ ।
Discussion about this post