काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले मंगलबार ‘विश्वको मानवअधिकार अवस्था’ बारे प्रतिवेदन विश्वभर एकसाथ सार्वजनिक गर्यो । प्रतिवेदनले अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको निष्कर्ष निकालेको छ ।
एसिया प्रशान्त क्षेत्रमा रहेका भारत, बङ्गलादेश, इन्डोनेसिया, नेपाल, पाकिस्तान, श्रीलङ्का र थाइल्यान्डलगायतका देशहरूमा स्वतन्त्रता माग गर्ने व्यक्तिहरू माथि सरकारले स्वेच्छाचारी ढंगले गिरफ्तार गर्ने, लामो समयसम्म हिरासतमा राख्ने काम निरन्तर गरिरहेको तथ्य उक्त प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनले विश्वभर ‘असहमति’को निर्मम दमन भइरहेको, राज्यले अधिकार संरक्षण नगर्दा महिलाहरू मारमा परेकोजस्ता तथ्यहरू औल्याएको छ । नेपाललगायतका देशमा अधिकार माग गर्ने व्यक्ति तथा समूहलाई दबाउन अत्यधिक तथा घातक बल प्रयोग हुने गरेको पनि एम्नेस्टी इन्टरनेसनलको निष्कर्ष छ ।
नेपालमा अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न सरकारले मनोमानी रूपमा गिरफ्तारी गर्ने गरेको, सुरक्षा बलको प्रयोग गरी विरोध/प्रदर्शन गर्नेलाई तितरबितर पार्ने गरेको र अनावश्यक तथा अत्यधिक बल प्रयोग गर्ने गरेको तथ्य एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले उठाएको छ । त्यस्तै वर्ष २०२२/२३ मा कम्तीमा एक प्रदर्शनकारीलाई गोली हानेर मारिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२२/२३’ सार्वजनिक कार्यक्रममा बोल्दै एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपीन बुढाथोकीले नेपालका सबै सरकारले निरन्तर दमन गर्ने र असहिष्णु व्यवहार गर्ने गरेको निष्कर्ष बताए । प्रतिवेदनमा माओवादी द्वन्द्वकालीन मुद्दा र तिनको न्याय निरूपणको विषयमा पनि सरकार चुकेको उल्लेख छ ।
त्यस्तै हिरासतमा मृत्यु भएकाहरूको स्वतन्त्र र विश्वसनीय ढंगले अनुसन्धान गर्न सरकार असफल भएको निष्कर्ष एम्नेस्टी इन्टरनेसनलले निकालेको छ ।
Discussion about this post