काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षबिनै सकिएको हो ।
मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो-आफ्नो दाबी नछाड्दा बिनानिष्कर्ष सकियो । सबै दल मन्त्रालयको संख्यामा आ-आफ्नै अडानमा रहेपछि भोलि (बुधबार) हुने भनिएको मन्त्रिपरिषद् विस्तार पनि अनिश्चित भएको छ ।
बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन मन्त्रालयमा दाबी पेस गरेका हुन् । त्यस्तै लोसपाले २ मन्त्रालय माग गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने अडानमा छन् । गठबन्धनमा आबद्ध सबै दल आ-आफ्नो अडानमा रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने जानकारी दिए ।
उनले आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको जनाए । ‘सरकारपक्षीय राजनीतिक दलका नेताहरुको बैठक बस्यो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो ।
‘भोलि फेरि बस्ने भन्नेछ,’ उनले भने, ‘भागबन्डाको बारेमा छलफल भएन । सरकार चाँडोभन्दा विस्तार गर्ने कुरा भयो । सरकार चाँडै विस्तार हुनेगरी छलफल भयो । मन्त्रालय नमिल्ने भन्ने समस्या छैन । गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ । मन्त्रालयबारे विवाद छैन ।’
प्रमुख सचेतक लेखकले मन्त्रालयबारे केही समस्या नरहेको दाबी गरे । आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयले प्रवेश नपाएको उनको दाबी थियो । यद्यपि बैठकमा दलहरुले मन्त्रालय भागबन्डाका विषयमा आफ्नो दाबी भने प्रस्तुत गरेका थिए ।
सबै दलका शीर्ष नेता सम्मिलित बैठक झन्डै साढे २ घण्टा चलेको थियो । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल भएको थियो ।
Discussion about this post