इटहरी । भारतको भारतका ८३ वर्षीय गौरीशंकर खतिवडाले मोतियाविन्दुका कारण तीन महिनाअघि आँखाको ज्योति गुमाएका थिए ।
बुढेसकालमा आँखाको ज्योति गुमेपछि उनको दैनिकी निकै कष्टपूर्ण बनेको थियो । कष्टकर जीवन बिताइरहेका नेपालीभाषी खतिवडाका आफन्तले उनलाई इटहरी बोलाए ।
रामधुनि ८ सुनसरीमा नवदृष्टि आँखा अस्पतालले आयोजना गरेको निःशुल्क आँखा शिविरमा पुर्याए ।
नव दृस्टीमा चिकित्सकले शल्यक्रिया गरेर उनको आँखाको ज्योति फर्काइदिए । मंगलवार आँखाको शल्यक्रियापछि पुनःउज्यालो संसार देख्न पाएका ८३ वर्षीय खतिवडा निकै खुसी देखिन्थे ।
उपचारका लागि ल्याएका आफन्त मोहनप्रसाद निरौला पनि उनको गुमेको ज्योति फर्किँदा खुसी छन् ।
‘अब देख्न सक्दिन होला भन्ने लागेको थियो’ उपचारपछि खतिवडाले भने, ‘अहिले त प्रष्ट देख्न सक्ने भएको छु ।’
उनले आफ्नो आँखाको ज्योति फर्काइदिने डाक्टरलाई भगवान र अस्पताललाई मन्दिर भनेर प्रशंसा गरे ।
रामधुनि वडा ८ को आयोजनामा नवदृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ९० जनाको आँखा जाँच गरिएको थियो ।
पछिल्लो समय कोशी प्रदेश र छिमेकी मुलुक भारतका आसाम, दार्जीलिङ, विहार, बंगालका आँखाका बिरामीले इटहरीमा आँखाको सहज रुपमा सेवा पाउन थालेका छन् ।
इटहरीमै मोतियाविन्दु तथा अन्य आँखा रोगको उपचार भएपछि कोशी प्रदेशका धेरै नागरिकलाई विराटनगर, काठमाडौ जानुपर्ने बाध्यता हटेको छ ।
पछिल्लो ४ वर्ष यता इटहरीमै आँखाको मोतियाविन्दु र अन्य रोगको उपचार हुन थालेको स्थानीयय पवन शर्माले बताए ।
अस्पतालले वार्षिक २५ हजारभन्दा बढीको आँखा उपचार गर्दै आएको जनाएको छ ।
१५ शैयाको यो अस्पतालले सामान्य परीक्षणदेखि जटिल रोगको निदान गर्न थालेपछि बिरामीको चाप बढ्दै गएको छ ।
दैनिक ३०० विरामीलाई सेवा
अस्पतालले दैनिक करिब ३०० विरामी लाई सेवा दिने गरेको छ । तीमध्ये दैनिक १५ देखि २० जनासम्मको शल्यक्रिया गरिदै आएको प्रबन्धक भक्तबहादुर शाहीले जनाए ।
जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनसँगै अस्पतालले सेवा चुस्त बनाएको हो ।
सेवा प्रवाहलाई छरितो बनाउन हाल अस्पतालमा ८१ जना जनशक्ति छ । पछिल्लो चार वर्षको अवधिमा अस्पताल र शिविरबाट १५ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
एक लाखभन्दा बढीले आँखा उपचार सेवा लिएका छन । अस्पतालले नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम पनि लागू गरेको जनाएको छ ।
Discussion about this post