विराटनगर । प्रदेश नामकरणप्रति असन्तुष्ट रहेका पहिचानवादी संगठनका कार्यकर्ताले मोरङको पथरी शनिश्चरे नगरपालिका वडा ५ र ६ को कार्यालयमा तालाबन्दी गरेका छन् ।
बिहीबार बिहान कार्यालय खुल्नुअघि पुगेका उनीहरुले ती वडा कार्यालयमा राखिएको बोर्डमा लिखित ‘कोशी प्रदेश’ मेटाएका थिए ।
प्रदेशसभाले प्रदेशको नाम कोशी राखेदेखि असन्तुष्ट रहँदै आएका पहिचानवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।
प्रदेश राजधानी विराटनगर र अरु विभिन्न स्थानमा उनीहरुले प्रदर्शन पनि गर्दैका छन् ।
विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग पटक पटक झडप भएको थियो ।
त्यस क्रममा केही आन्दोलनकारी र केही सुरक्षाकर्मी घाइते भएका छन् ।
आन्दोलनकारीमध्ये पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो । उनको मृत्यु प्रहरीको लाठी प्रहारबाट भएको आन्दोलनकारीको दाबी छ ।
प्रहरीले भने आन्दोलनकारीले प्रहरीलाई प्रहार गर्न खोजेको लाठी उनको टाउकामा लागेको बताउँदै आएको छ ।
लिम्बूको मृत्यु भएलगत्तै संघीय सरकारले गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन तथा वार्ता समिति गठन गरेको थियो । छानबिन समितिका संयोजक सुवेदीका अनुसार समितिले काम थालिसकेको छ ।
समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ सरद पोखरेल, नेपाल प्रहरीका उपरीक्षक नवीनराज राई, सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजङ बहादुर चन्द र उपसचिव कृष्णबहादुर शाही रहेका छन् ।
Discussion about this post