प्रकाश तिम्सिना
इटहरी । स्थानीय सरकारले समाजका सबै क्षेत्रको विकासका लागि पहलकदमी लिनुपर्ने हो । स्थानीय भाषा, संस्कृति, विकास–निर्माण, साहित्य अनि खेलकुद क्षेत्रको संरक्षण गर्दै यी क्षेत्रको विकास आफ्नो प्राथमिकतामा राख्नुपर्ने हो ।
इटहरी उपमहानगरपालिकाले भने ठिक उल्टो चरित्र देखाएको छ । पहिल्यै स्थापित र चर्चित बनेको खेल मैदान मास्नेतिर उपमहानगरको ध्यान केन्द्रित भएको छ । उसको यस्तो कामको व्यापक आलोचना भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बरमा ९ मा रहेको क्रिकेट खेल मैदानमा २०७३ सालमा सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिता भएको थियो ।
गत पुुसमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता यही खेल मैदानमा भयो । कोशी प्रदेशकै क्रिकेट खेल मैदानका लागि उपयुक्त भएको स्थान यतिबेला इटहरी उपमहानगरले आफ्नै लगानीमा कंक्रिट प्रयोग गरेर ‘जनतापार्क’ बनाउन लागिपरेको छ ।
३ वर्षअघि तत्कालीन नगर प्रमुख द्वारिकलाल चौधरीले उक्त खेल मैदान मासेर पार्क बनाउने कार्यपालिकाबाट निर्णय गराएका थिए । २०७८ साल मंसिर २३ गते इटहरी उपमहानगरले निर्माण कम्पनी प्रेरा/पुर्णचण्डी/गिरी जेभीसँग २०८० साल असार २३ मा सम्पन्न हुने गरी ५ करोड ९९ लाख ९८ हजार २२७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
त्यसयता खेलाडी तथा क्रिकेट प्रेमीले खेल मैदानमासेर पार्क बनाउने काममा अवरोध गरेका थिए । त्यसपछि पार्कको काम अघि बढ्न सकेको छैन ।
जिल्ला क्रिकेट संघ सुनसरी अध्यक्ष चेतनाथ पौडेल स्थानीय सरकारले खेल क्षेत्रलाई बेवास्ता गरेका कारण क्रिकेट खेलमा भविष्य देख्ने युवाहरु निरास भएको बताउँछन् ।
सार्वजनिक जग्गा हराउँदै गएको अवस्थामा एउटा खेल मैदान पनि मास्न लागिपर्नुले खेलतर्फ इटहरी सरकार गैरजिम्मेवार रहेको उनको भनाई छ ।
‘राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता यही ठाउँमा भएका छन्, तर उपमहानगरले महत्व बुझ्न सकेन’ पौडेल भन्छन्, ‘सकेसम्म यही ठाउँलाई क्रिकेट मैदानका लागि विकास गर्न सक्नुपर्छ, होइन भने अरु ठाउँको व्यवस्था गरिनुपर्छ ।’
क्रिकेट खेलाडी गौरव कटुवाल भएको संरचनालाई विकास गर्दै धेरैभन्दा धेरै कार्यक्रम गर्नु पर्नेमा भएका संरचना मास्नतिर लाग्नु खेलाडीका लागि दुःखद भएको बताउँछन् । देशभर क्रिकेटको माहोल बनिरहँदा कोशी प्रदेशकै उत्कृष्ट खेल मैदानलाई मास्नुले भोलिका दिनमा नयाँ खेलाडीको खेलमा आकर्षित नहुने उनको भनाई छ ।
३ बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको खेल मैदानलाई पार्क बनाउने ठेक्का पाएको ठेकेदार कम्पनीले हालसम्म उपमहानगरबाट १ करोड ९ लाख भुक्तानी लिइसकेको छ । तर काम सकिने अवधि ४ महिना बाँकी छँदा पार्क बनाउन सुरु भएको छैन ।
अघिल्ला जनप्रतिनिधिले गरेको निर्णय अहिलेका जनप्रतिनिधिलाई निल्नु न ओकल्नु भएको छ । इटहरी वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापा अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले पूर्णता दिनुपर्नेमा जोड दिनुपर्ने बाध्यता रहेको बताउँछन् । खेल क्षेत्रलाई विकास गर्न उक्त संरचना तयार रहेपनि ठेक्का लागेको अवस्थामा के गर्ने भन्ने अन्योल रहेको उनको भनाई छ ।
उपमहानगरको हिउँदे नगर सभामा उक्त विषयबारे छलफल गर्ने तयारी थियो । तर नगर सभा सञ्चालन नहुँदा उक्त विषयले प्रवेश पाएन । वडा अध्यक्ष थापा धेरै सार्वजनिक जग्गाहरु मासिँदै जानुले भोलिका दिनमा इटहरीमा खुला क्षेत्र अभाव हुने बताउँछन् ।
उनले उक्त जग्गालाई अस्पताल तथा अन्य क्षेत्रमा प्रयोग गरी क्रिकेट मैदान अन्य कुनै वडामा व्यवस्थापन गर्न सकिने बताए । ‘हामीले गरेको निर्णय भए सच्याउन सक्थ्यौं तर अघिल्लो सरकारले गरेको निर्णयलाई बेवास्ता गर्न नसकिने रहेछ’ उनले भने, ‘सकेसम्म क्रिकेट मैदान नै बनाउन लागि पर्छौं, भएन भने क्रिकेट मैदान अन्य स्थानमा व्यवस्थापन गरेर यसलाई सही सदुपयोग गर्नेछौं ।’
Discussion about this post