काठमाडौं । नेपालमा पदयात्रालाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) सुरुवात भएको छ।
नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।
नेपालको पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) सुरु गरिएको हो । सरकारले पदयात्रालाई व्यवस्थित बनाउन विदेशी पर्यटकले गाइड अनिवार्य रूपमा साथमा लैजानुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था आजैदेखि लागु भएको छ ।
पदयात्री एवं पथ प्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले (टिम्स) अनुमति पत्र लिनुपर्नेछ । अर्थात अबदेखि कोही पनि विदेशी जटिल स्थानतर्फ (विशेष गरी) हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिना गाइड जान पाउने छैनन् । तर हिमाल आरोहणमा जाने आरोहीले भने टिप्स अनुमति पत्र लिनु पर्ने छैन । अध्यागमन विभागबाट अनुमति पत्र लिइ नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकको लागि टिम्स अनुमति पत्र अनिवार्य नहुने बताइएको छ ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यो व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले आफ्नै पालोमा पर्यटन क्षेत्रलाई उकास्ने प्रतिबद्धतासमेत जनाए ।
‘हाम्रो देशको आर्थिक विकासमा पर्यटन क्षेत्रबाट धेरै ठूलो योगदान भइरहेको छ, हाम्रो पालामा नै हामीले पर्यटनमा ठूलो विकास गर्नुपर्नेछ,’ उनले भने, ‘प्रविधि र पर्यटनको क्षेत्रमा हामी एक पाइला अघि बढेका छौँ । यसले अझै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नेछ ।’
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले कोही पनि व्यक्तिले नेपालमा आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहेपनि अबदेखि भने अनिवार्य रुपमा पथ प्रदर्शक लैजानुपर्ने व्यवस्था लागु भएको जानकारी दिए ।
नेपालमा प्रत्येक सिजनमा घुम्न गएका पदयात्रीहरु हराउने, मृत्यु हुने घटना बढेकाले सुरक्षाका लागि यो व्यवस्था लागु गरिएको उनको भनाइ छ ।
Discussion about this post