टीका खतिवडा
इलाम । इलाम सदरमुकामको चियाबारी बीच बनाइएको कृत्रिम हात हेर्न र फोटो खिचाउन यहाँ आउने पर्यटकहरु आकर्षित हुने गरेका छन् ।
मानिस नौलो कुराले आकर्षित हुन्छन् । सिमेन्टबाट बनाइएको ठूलो आकारको हात नौलो लाग्ने भएकाले यसप्रति पर्यटकको ध्यान तानिने गरेको हो ।
जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो (भर्याङ) बनाइएको छ । त्यसबाट चढेर हत्केलामा पुग्न सकिन्छ । त्यहाँ पुगेर विभिन्न मुद्रामा आगन्तुकहरु तस्बिर खिचाइरहेका हुन्छन् ।
इलाम बजारनजिकै रहेको इलाम चियाबारीको ‘लभडाँडा’ भन्ने स्थानमा यस्तो हात बनाइएको छ । नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएकाले यो स्थान यसै पनि ऐतिहासिक महत्वको छ ।
ऐतिहासिक चियाबगान र सुन्दर हरियालीको दृश्य अवलोकनका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् । नजिकै रहेको नेपालकै पहिलो चिया कारखानाले पनि आगन्तुकलाई आकर्षित गर्ने गरेको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चिया खेतीको इतिहास बोकेको इलाम चिया बगानमा घुम्न आउने पर्यटकहरुको सहजताका लागि पूर्वाधार पूर्वाधार निर्माण गरिएको छ ।
नेपालको पाहिलो चिया बगान र कारखाना क्षेत्र घुम्न आउने पर्यटकहरुको थप मनोरञ्जनका लागि इलाम नगरपालिकाले पूर्वाधार निर्माण गरेको हो ।
चिया बगान भित्रका खुल्ला क्षेत्रहरुमा विभिन्न पूर्वाधार निर्माण गरिँदै आएको छ । इलाम नगरपालिकाले बगान क्षेत्रमा आउने पर्यटकहरुको इलाम बसाई लम्बाउनका लागि पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको हो ।
बजार क्षेत्रको चिया बगान, भालुढुङ्गा, भ्यु टावर, लभडाँडा क्षेत्रमा पर्यटक पूर्वाधार निर्माण गरिएको छ । नगरको विकासका लागि पर्यटकीय क्षेत्रको समेत विकास हुनु पर्ने भएकाले आगामी दिनमा समेत नगरपालिकाले यसतर्फ आफ्ना योजना अगाडि बढाउने नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए ।
चिया बगान क्षेत्रको लभ डाँडा क्षेत्रमा नेपालमा चिया खेती सुरुवात गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमा बनाइएको छ । गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादूर राणाका ज्वाईँ हुन् ।
चिया बगान सँगै हात भएभन्दा केही माथि इलाम चिया बगान क्षेत्रमा नगरपालिका वडा नम्वर सात कार्यालयको पहलमा खुल्ला जिम हाउस सञ्चालनमा छ । जिम हाउसमा दैनिक पर्यटक र इलाम बजारबासीले व्यायाम गर्दै आएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
चियाबारी क्षेत्रमा पर्यटकसँगै बजारबासी, कर्मचारी, स्थानीय बासिन्दा दैनिक रुपमा बिहान र साँझ भ्रमणका लागि जाने गरेका छन् ।
उनीहरुलाई नै लक्षित गरेर खुल्ला जिम हाउस सञ्चालन गरिएको हो । खुल्ला जिम हाउस चिया बगानको माथि धुराबस्ती क्षेत्रमा बनाइएको छ ।
बगान क्षेत्रका खुल्ला ठाउँको पहिचान गरी पर्यटन पूर्वाधार र खुल्ला जिम हाउस निर्माणले नगरपालिकाबासीलाई भ्रमण गर्ने बानीको विकास गराइ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने इलाम नगरपालिकाको योजना छ ।
नयाँ र आकर्षक केन्द्र निर्माणले यहाँ हाल पर्यटकको संख्यामा समेत बृद्धि भएको छ । इलाम पर्यटकीय जिल्लाका रुपमा नै परिचित छ ।
Discussion about this post