इलाम । नयाँ वर्षका अवसरमा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणसार्दुल गण इलामको संयुक्त आयोजनामा म्याराथुन प्रतियोगिता हुने भएको हो ।
म्याराथनको सहआयोजकका रुपमा जिल्ला खेलकुद विकास समिति इलाम, इलाम नगर पर्यटन प्रवर्द्धन समिति तथा प्रथम सन्दकपुर महोत्सव मूल आयोजक समिति छन् ।
आयोजक संस्थासँगै पर्यटन बोर्ड, इलाम उद्योग वाणिज्य संघ, जिल्लास्थित वित्तीय संस्थाहरु, जलविद्युत् आयोजना लगायतले सहयोग गरेका छन् ।
प्रतियोगिता पुरुष र महिला विधामा हुने छ । खुल्ला प्रतियोगिता हुने भएपछि जोकोही भिड्न सक्ने बताइएको छ ।
‘खेलकुदको विकास, स्वस्थकर जीवनः पर्यटन प्रवर्द्धनमा इलामको आह्वान’ भन्ने नारासहित प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताले नयाँ वर्षसँगै नयाँ जोस एवम् आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत गर्ने इलाम नगरपालिकाका प्रमुख केदार थापाको भनाई छ । उनले स्वस्थ जीवन यापनमा यस्ता प्रतियोगिताले मद्दत मिल्ने समेत बताए ।
प्रतियोगितामा पुरुषतर्फ ४२.२ किलोमिटरको दूरी कायम गरिएको छ । यसका लागि इलाम नगरपालिका–१० गोदकको मेची राजमार्गस्थित नारायण चोक–माईखोला–इलाम बजार–बिब्ल्याँटे–धारापानी–माईपोखरी–सात हुँदै खाल्डे मैदानसम्म रुट कायम गरिएको छ ।
महिलातर्फ हाफ म्याराथन हुने आयोजकले जानकारी दिएको छ । महिला तर्फको दौड रुट इलाम बजार–बिब्ल्याँटे–धारापानी–माईपोखरी हुँदै सात खाल्डेसम्म रहने छ । जसको दूरी २१.१ किमी हुनेछ ।
पुरुषतर्फ पहिलो हुनेलाई २ लाख ५० हजार र महिलातर्फ पहिलो हुनेलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । दुवै समूहतर्फ १० औं स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुले समेत नगद पुरस्कार पाउनेछन् ।
मेची राजमार्गमा प्रतियोगिता हुने भएपछि ट्राफिक समेत व्यवस्थापन गरिने जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलीप घिमिरेले बताए ।
Discussion about this post