झन्झटिलो भएको गुनासो
झापा । पूर्वी नाका काँकडभिट्टामा जाँच कडा गरिएको छ । मेची भन्सार कार्यालयले राजश्व संकलनमा कडाई गर्ने उद्देश्यले जाँच कसिलो बनाएको हो ।
भन्सार कार्यालयमा प्रमुखको रुपमा रामप्रसाद पाठक आएलगत्तै पूर्वी नाकामा एशियन हाइवेमा जाँचलाई कडाई गरेका हुन् ।
मुख्य राजमार्ग (सीमा नाका) बन्द गरी यात्रु शाखामा सवारीलाई प्रवेश गराएर जाँच शुरु गरेसँगै यात्रुहरुलाई समस्या भएको आवाज उठ्न थालेको छ ।
भारतबाट आउने यात्रुहरुलाई मुख्य एशियन हाइवेमा जाँच नगरी उत्तरपट्टि यात्रु शाखामा प्रवेश गराई जाँच गर्दा झन्झटिलो भएको जनाइएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने चारचक्के सवारीसाधनलाई र नेपाल र भारतका सबै यात्रुहरुलाई उत्तरपट्टि भन्सार कार्यालयको हाताभित्र प्रवेश गराई जाँच शुरु गरेसँगै स्थानीयले मेची भन्सार कार्यालयले अनावश्यक रुपमा दुःख दिएको भन्दै आवाज उठाएका हुन् ।
अहिले जाँचका नाममा भन्सार कार्यालयले एसियन हाइवेको सट्टा देवकोटा पार्क निकाल्ने गरी यात्रु र सवारीलाई सञ्चालन गराउँदै आएको छ ।
मुख्य राजमार्ग नाका बन्द गरी यात्रु शाखामा प्रवेश गराएर जाँच गर्दा यात्रुहरुलाई समस्या भएको भन्दै जनप्रतिनिधिले चासो राखेका छन् । भन्सार प्रमुख पाठकको त्यस कार्यप्रति उनीहरुले आपत्ति जनाएका छन् ।
यसअघि हाइवेमै जाँचको व्यवस्था रहेकोमा पाठकले नयाँ नियम लागू गरेको जनप्रतिनिधिको भनाई छ । यात्रु शाखामा यात्रुहरुलाई प्रवेश गराई जाँच गर्ने नयाँ नियम लागू गरिएपछि धेरै समय लाग्ने र घुमेर जानुपर्ने झन्झट भएको स्थानीयको गुनासो छ ।
यात्रु शाखामा थालिएको जाँचप्रति यात्रुहरुले आपत्ति जनाएको जाँचमा खटिएका सुरक्षाकर्मी नै बताउँछन् ।
यसअघि नेपालतर्फ मेची पुलमा सशस्त्र प्रहरीले जाँच गरिसकेपछि भन्सार कार्यालय छेउ बाटोमा प्रहरीसहित भन्सार कर्मचारीहरुले जाँच गर्ने गरेका थिए । अहिले तीनचक्के सवारीसाधनहरु हाइवेबाट सञ्चालन भइरहेका छन् ।
भन्सार प्रमुख पाठकले तीन चक्के सवारीसाधनलाई पनि हाइवेबाट चल्न नदिने भएका छन् । उनले दक्षिणपट्टिबाट तीन चक्के सवारीसाधन जानेगरी व्यवस्था मिलाउन थालेका छन् ।
‘हाम्रो प्रमुख दायित्व नै राजश्व संकलन हो’ उनले भने, ‘कसैलाई दुःख दिने नियतले यो काम गरेका छैनौं यो हाम्रो कर्तव्य हो । यसमा कसैले आपत्ति जनाउनु पर्ने कुरै छैन ।’
यात्रुहरुलाई दुःख दिने नियतले नभई राज्यको लागि राजश्व बढीभन्दा बढी संकलन गर्ने उद्देश्यले त्यसो गरिएको उनको भनाइ छ । ‘अहिलेसम्म हामीलाई यो नियमले समस्या भयो भन्दै कोही आएका छैनन्’ उनले भने, ‘ यो सबै अनावश्यक विषय मात्रै हो ।’
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आफूलाई सो विषयमा गुनासो आएको र आफूले अनुगमन समेत गरेको बताएका छन् । उनले भन्सार विभागबाट केही निर्देशन आएर निर्देशन बमोजिमको कार्य गर्दा यात्रुलाई कठिनाई भएपनि भन्सारले गर्ने काममा आफूहरुले समन्वय मात्रै गर्ने बताएका छन् । ‘एसियन हाइवे नै रोकिएको छैन’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘जाँचमा चाहिँ कडाई भएको हो ।’
मेची नगर प्रमुख गोपाल वुढाथोकीले हाइवे बन्द नगर्न र जनसाधारणलाई दुःख नदिन आफूले भन्सार प्रमुख पाठकलाई आग्रह गरिसकेको बताएका छन् ।
झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका नेता अग्नि खरेलले पनि भन्सार प्रमुख पाठकको त्यस कार्यप्रति आपत्ति जनाएका छन् ।
Discussion about this post