सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पाँच वर्ष जनताको लागि काम गर्ने बताएका छन् । उनले सुनसरी ४ बासीले भोट दिएर गुन लगाएको भन्दै गुनको बदला काम गरेर तिर्ने बताएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिकामा विजय उत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको विश्वासलाई कायम गर्दै आगामी पाँच वर्षमा जनताको लागि काम गर्ने बताए । कार्कीले शिक्षामा सूचना तथा प्रविधिको प्रयोगमा जोड दिएर योजना बनाउने बताए । आफु लोकतान्त्रिक वाम गठबन्धनबाट विजयी भए पनि सबैको साझा जनप्रतिनिधिको रूपमा काम गर्ने कार्कीले बताए ।
विगतमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै अगाडी बढ्ने बताएका कार्कीले जनताले विश्वास गरेर दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएको हुँदा जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने जिम्मेवारी काँधमा आएको उल्लेख गरे । विकासको गतिलाई तीव्र रुपमा अगाडि बढाउने गरि कामलाई अघि सार्ने कार्कीको भनाइ थियो।
उनले निर्वाचनमा अमुल्य मत प्रदान गरेर निर्वाचित गराउने सुनसरी ४ बासीलाई धन्यवाद दिए । कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा अबको सरकार लागिपर्ने बताएका छन् ।
हरिनगर, भोक्राहा नरसिंह गाउँपालिका र इनरुवा नगरपालिका लगायतका आफ्नो निर्वाचन क्षेत्रमा विजय उत्सव मनाउदै पुगेका मन्त्री कार्कीलाई मतदाताहरूले स्वागत तथा सम्मान गरेका थिए।
Discussion about this post