काठमाडौं । वैशाख १० मा प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।
बाराका निर्वाचन कार्यालय प्रमुख सरोज चौधरीका अनुसार बारा–२ मा ३६ जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका १२ र स्वतन्त्र २४ जनाको उम्मेदवारी परेको हो । तीमध्ये ५ जना महिला छन् ।
एमालेबाट पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट पूर्वडीआईजी रमेश खरेल, जनमतबाट शिवचन्द्र कुशवाहा, नेमकिपाबाट मुक्ति यादव, आम जनताबाट अरुण ज्ञवालीलगायत ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका कांग्रेस, माओवादी, लोसपालगायतको समर्थनमा जसपा अध्यक्ष यादव उम्मेदवार बनेका छन् ।
चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाकै उम्मेदवारी परेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रास्वपा सभापति रवि लामिछानेले सुरुमै उम्मेदवारी दर्ता गराएका थिए । सत्ता गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । श्रेष्ठ चितवन कांग्रेसका पूर्वजिल्ला सभापति हुन् । उनलाई सत्तारूढ गठबन्धनका माओवादी र एकीकृत समाजवादीको पनि साथ छ । एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । उनी एमाले चितवनका अध्यक्ष हुन् ।
सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चाले पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उठाएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले राजेश अधिकारीलाई उठाएको छ । राप्रपा, नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसनलगायत १२ दलले उम्मदेवारी दिएका छन् ।
तनहुँ–१ मा उपनिर्वाचनमा सहभागी हुन नौ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्लेले उम्मेदवारी दिएका छन् । नेमकिपा, नेकपा समाजवादी, राप्रपालगायत दलले पनि उम्मेदवार उठाएका छन् ।
Discussion about this post