काठमाडौं । नेपालमा केही सातायता कोरोना संक्रमितको संख्या बढ्ने क्रम निरन्तर देखिएको छ । पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ हजार ६३५ जनामा गरिएको परीक्षणमा ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४१ र एन्टीजेन परीक्षणबाट ५८ जनामा संक्रमण देखिएको हो।
यस अवधिमा २६ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १७ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ३७३ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो एक साताको कोरोना संक्रमण दर हेर्ने हो भने तीव्र रूपमा संक्रमण फैलिएको देखिन्छ।
पछिल्लो समय संक्रमण देखिएकाहरुमा ओमिक्रोन भेयरयन्ट पुष्टि भएको छ । यो भेरियन्ट तीव्र रुपमा अरुलाई सर्ने विज्ञहरुले बताएका छन् ।
तीव्र रुपमा फैलन भए पनि पहिलेजस्तो घातक खालको भने नरहेको जनाइएको छ ।
भारतमा संक्रमितको संख्या निकै बढिरहेको छ । खुला नाकाबाट आउजाउ हुने भएकाले नेपालमा पनि संक्रमित बढिरहेका हुन् ।
नाकाहरुमा परीक्षणको प्रक्रियालाई प्रभावकारी रुपमा सञ्चालन गरिनुपर्ने विराटनगरका डा. दिनेश शर्माले बताए ।
बेलैमा सतर्कता अपनाइए गम्भीर अवस्था आउनबाट रोक्न सकिने उल्लेख गर्दै उनले यो काममा सरकारका सबै निकाय, स्थानीय तह र जनप्रतिनिधिले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
Discussion about this post