विराटनगर । कोशी प्रदेशका मन्त्री र मुख्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरणमा मन्त्रीहरुले ठाउँ ठाउँमा घर जग्गा र शेयर रहेको विवरण उल्लेख गरेका छन् । सम्पत्तिको आम्दानीको स्रोत भने पैतृक र व्यावसाय गरेर आर्जन गरेको उल्लेख गरेका छन् ।
जीवन आचार्यसँग दुई वटा घर
पर्यटन वन तथा वातावरणमन्त्री जीवन आचार्यसँग दुईवटा घर छन् । आचार्यले ललितपुर र विराटनगरमा घर रहेको सम्पत्ति विवरणमा लेखेका छन् । उनले बुढीगंगामा पर्याप्त जग्गा रहेको पनि लेखेका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँसमेत रहेका पर्यटन मन्त्री आचार्यको नाममा ललितपुरको सुनाकोठीमा १० आना २ पैसा जग्गामा बनेको अढाइ तले घर छ ।
विराटनगर महानगरपालिका– १ मा १५ धुरमा बनेको अढाइ तले पक्की घर पनि आचार्यसँग छ । ललितपुरको घर ३६ लाख र विराटनगरको घर साढे १३ लाखमा खरिद गरेको उनले उल्लेख गरेका छन् । खरिदको स्रोत भने व्यावसाय र पैतृक भएको उनले उल्लेख गरेका छन् ।
आचार्यसँग मोरङको साबिक हात्तीमुढा गाविस ९हाल बुढीगंगा गाउँपालिका० वडा नम्बर ४ मा २ हजार ६३० वर्ग मिटर जग्गा पनि छ । यसैगरी साबिक हात्तीमुढा गाविस– २ मा १ हजार ९४७ वर्ग मिटर र २ हजार ३१ वर्ग मिटर जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । हात्तीमुढा २ को जग्गाको स्रोत पैतृक रहेको उल्लेख गरेका उनले अन्य जग्गा भने व्यावसायबाट खरिद गरेको बताएका छन् ।
आचार्यसँग २० तोला सुन र ५० तोला चाँदी छ । आचार्यले चार वटा बैंकमा ४५ लाख रुपैयाँ मौज्दात रहेको विवरण पेश गरेका छन् । प्रभु बैंकबाट ५ लाख र सुनसरीका ओम थापासँग ८० लाख रुपैयाँ ऋण लिएको विवरण पनि उनले पेश गरेका छन् ।
एनस्याट प्रालि काठमाडौंमा ३३ प्रतिशत शेयर ३० लाख रुपैयाँमा र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौंको ५० प्रतिशत शेयर ५० लाखमा खरिद गरेको पनि आचार्यले उल्लेख गरेका छन् । शेयर हात्तीमुढाको जग्गा बिक्री तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट भएको आम्दानीबाट खरिद गरेको विवरण पेश गरेका छन् ।
राजभण्डारीसँग तीन घर
सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीका तीन वटा घर छन् । उनले काठमाडौं– ३२ मा एउटा र सोलुखुम्बुको सोलुदूधकुण्ड– ६ मा दुई वटा घरजग्गा रहेको उल्लेख गरेका छन् ।
काठमाडौंको घरजग्गा व्यावसायबाट भएको आम्दानीले २०५८ सालमा खरिद गरेको उल्लेख गरेका उनले सोलुखुम्बुको सम्पति भने पैतृक भएको उल्लेख गरेका छन् । उनले सोलुखुम्बुमा विभिन्न कित्ता नम्बर उल्लेख गरी १० हजार ६९२ वर्ग मिटर जग्गा रहेको उल्लेख गरेका छन् ।
निर्माण व्यावसायीसमेत रहेका राजभण्डारीले आफूसँग ३ तोला सुन रहेको उल्लेख गरेका छन् । उनले १२ वटा बैंकमा १० लाख ७६ हजार नगद रहेको उल्लेख गरेका छन् ।
उनीसँग विभिन्न कम्पनीमा ५६ हजार ३५० कित्ता शेयर पनि छ । सोलुखुम्बु ग्रुपमा उनको ३० हजार कित्ता छ । बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको उल्लेख गरेका छन् ।
२० लाख रुपैयाँ ऋण देखाएका उनले २८ लाखमा खरिद गरेको टाटा सुमो, २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर रहेको विवरण पनि पेश गरेका छन् ।
लिम्बूका दुई वटा घर र कपडा उद्योग
स्वास्थ्यमन्त्री निर्मला लिम्बूले दुई वटा घर देखाएकी छन् । ताप्लेजुङको फुङलिङ– ६ र ललितपुरको सानो हात्तीवनमा उनको घर जग्गा छ ।
झापामा पनि उनको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । २२ तोला सुन र ३५ तोला चाँदी रहेको विवरण उल्लेख गरेकी उनले आफ्नो नाममा युमा कपडा उद्योग रहेको उल्लेख गरेकी छन् । तर उद्योगको विवरण भने उल्लेख गरिएको छैन ।
पूर्वाधार मन्त्रीको हाइड्रोमा लगानी
भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईंले झापाको विर्तामोडमा श्रीमती इन्दिरा कार्कीको नाममा घर रहेको उल्लेख गरेका छन् । श्रीमती कार्कीको मोरङ सुन्दरहरैंचा९१ मा १ विगाहा १० कठ्ठा जग्गा रहेको उनले उल्लेख गरेका छन् ।
३ तोला सुन, ५ तोला चाँदी रहेको विवरण पेश गरेका उनले अपर खोरङ खोला जलविद्युत आयोजनामा १।२५ प्रतिशत र अपर सोलुमा पनि ०।४८ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । उनले घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्न इष्टमित्र तथा आफन्तजनबाट १ करोड २० लाख रुपैयाँ ऋण लिएको विवरण पनि उल्लेख गरेका छन् ।
तिलकुमार मेन्याङ्बोसँग ७ तोला सुन
खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूले ताप्लेजुङको पाथीभरा याङ्वरक २ मा घर रहेको उल्लेख गरेका छन् । फुङलिङ बाहेक सुनसरीको इटहरी उपमहानगरपालिका– ६ मा पनि उनको १६ धुर जग्गा छ ।
७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको सम्पत्ति विवरण बुझाएका छन् । उनको नाममा विभिन्न चारवटा कम्पनीमा ४० कित्ता शेयर रहेको उल्लेख छ ।
उद्योगमन्त्रीसँग ५० तोला सुन र जग्गा
उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आफ्नो जग्गा पर्याप्त देखाएका छन् । तर घर देखाएका छैनन् । विर्तामोड ७ मा विभिन्न कित्तामा गरेर ३० कट्ठा ५ धुर जग्गा रहेको उल्लेख गरेका छन् । जग्गाको स्रोत पैतृक रहेको उल्लेख छ ।
सम्पत्ति विवरणमा उनको ५० तोला सुन र ५०० तोला चाँदी रहेको उल्लेख गरेका उनले ३० लाखको कार र २ लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको उल्लेख गरेका छन् ।
Discussion about this post