स्थानीय तहहरुलाई राजस्व उठाउन कतिपय समस्या हुने गरेका छन् । राजस्व अपेक्षित रुपमा संकलन हुन नसक्दा विकास निर्माणको काम पनि प्रभावित भइरहेको हुन्छ । देशभरकै स्थानीय तहले राजस्व संकलन उत्साहजनक रुपमा गर्न नसकेको गुनासो सुन्ने गरिन्छ ।
विराटनगर महानगरपालिका भने यस दृष्टिले केही भिन्न पाइएको छ । महानगरका अनुसार देशभरिकै स्थानीय तहको तुलनामा विराटनगरले राजस्व संकलन उत्साहजनक रुपमा गरिरहेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला राजस्व संकलनसँगै महानगरको विकासमा उदाहरणीय कामहरु भइरहेको दाबी गर्छन् ।
योजनाहरु बनाएर काम अघि बढाइएको उल्लेख गर्दै कोइरालाले महानगरको आम्दानी प्रतिशत पनि बढेका बताए । संघ, प्रदेश र स्थानीय तहमा रहेका ७ सय ६१ वटै सरकारभन्दा विराटनगरको राजस्व उल्लेख्य रुपमा बढेको उनको भनाइ छ ।
प्रस्तुत छ, महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालासँगको कुराकानीको सम्पादित अंशः
विराटनगर महानगरपालिका के गर्दैछ ?
विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी रुपमा अघि बढाइएको छ । महानगरका सेवा प्रवाह सहज बनाएर सुशासन कायम गरेका छौं । महानगरबासीलाई सेवा लिन असहज नहोस् भनेर सधैँ ध्यान दिने गरेका छौं । विकास निर्माणका काम आवश्यकताका आधारमा गरिरहेका छौं । व्यवस्थित पार्किङदेखि, स्वच्छ, सफा र हराभरा नगर बनाउनेदेखि सूचना प्रविधिमा पनि अग्रणी नगर बनाउने हाम्रो प्रयत्न छ ।
अरु स्थानीय तहभन्दा विराटनगर महानगर कसरी फरक छ ?
देशव्यापी आर्थिक मन्दी चलिरहेको अवस्थामा विराटनगरले हरेक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका ७ सय ६१ वटै सरकारभन्दा हाम्रो राजस्व संकलन बढी छ । गत आर्थिक वर्षभन्दा राजस्व २५ प्रतिशतले बढेको छ । यो देशभरमै बढी हो । बेरुजु फर्छ्यौटमा ७२ प्रतिशत सफलता हामीले पाएका छौं ।
अहिलेसम्म हामीले ३३ प्रतिशत बढी पुँजीगत खर्च गरेका छौं । करिब ५० प्रतिशत चालू खर्च भएको छ । वित्त आयोगको दृष्टिमा हामी दोस्रो छौं । सुशासन, विकास निर्माण, बेरुजु, आम्दानी, खर्च जस्ता हरेक पक्षमा हामी अघि छौं ।
कोशी प्रदेशको एकमात्र महानगर अनि प्रदेशकै राजधानी विराटनगरलाई उदाहरणीय बनाउने के योजना छन् ?
हामीसँग गौरवका आयोजना छन् । सबै ठेक्का लागेर कार्यान्वयनमा गएका छन् । बहुप्राविधिक शिक्षालय, कार्यालय सजावट, शहर सौन्दर्यीकरण, आन्तरिक सुशासनका लागि महत्वपूर्ण काम भइरहेका छन् ।
स्थानीय तहले ल्याउने नीति कार्यक्रमअनुसार काम नभएको गुनासो आउने गरेको छ, तपाईंहरुकहाँ कस्तो छ ?
विराटनगरमा त्यस्तो अवस्था छै । शतप्रतिशत त नहोला, यो जस्तै विकसित मुलुकमा पनि सम्भव हुँदैन तर तुलनात्मक रुपमा हेर्ने हो भने देशभरिका पालिकाहरुभन्दा हामी कम छैनौं ।
आर्थिक, राजनीतिक सबै क्षेत्रमा अग्रणी रहेको विराटनगर अचेल पछि पर्यो भन्ने व्यापक चर्चा छ, यस्तै हो ?
हो, यस्तो चर्चा हुने गरेको छ । तर सूचकहरुले देखाएअनुसार मलाई चाहिँ विराटनगर पछि परेजस्तो लाग्दैन । हामी क्षेत्रफलमा सानो छौं । ७७ वर्गकिलोमिटर क्षेत्रफल भएको महानगरमा धेरै काम भएका छन् । सबैभन्दा पछि विराटनगर महानगर घोषणा भएको हो । यसले पनि त असर गर्छ नि ! अब भूगोलमा सानो भन्नुहोला, अर्को आम्दानीमा भन्नुहोला तर अरूको क्षेत्रगत तुलनामा विराटनगर महानगरपालिकाको क्षमताचाहिँ धेरै अगाडि छ ।
विकास निर्माणको काममा जनप्रतिनिधिहरुसँग सहकार्य कस्तो छ ?
यसबारे हामी संवेदनशील छौं । सहकार्यका साथ अघि बढेका छौं । मेयर र उपमेयर फरक फरक राजनीतिक दलका हुनुहुन्छ । तर काम गर्ने विषयमा कुनै बेमेल छैन । हरेक कामका लागि सल्लाह हुन्छ, समन्वयमा काम सहज रुपले अघि बढेको छ ।
राजनीतिक नियुक्तहरु गर्ने चलनले पनि स्थानीय तहको छविमा असर गरेको छ होइन ?
पहिले त्यस्तो अवस्था भए पनि अब छैन । आवश्यकताअनुसार मात्रै कर्मचारी करारमा नियुक्त भएका छन् । अनावश्यक रुपमा नियुक्ति दिने चलन धेरै कम भएको छ ।
जनसहभागिताको पक्ष कस्तो छ महानगरमा ? विकासका काममा महानगरबासीको सहयोग कत्तिको हुने गरेको छ ?
यो महत्वपूर्ण कुरा हो । आफ्नो ठाउँको विकासमा स्वाभाविक रुपले स्थानीय बासिन्दाको चासो र सहभागिता हुनुपर्छ । यस्तो भइरहेको छ । सुझाव दिने, खबरदारी गर्ने अनि प्रश्नहरु गर्ने संस्कृतिको विकास भएको छ । यस्तो हुँदा हामीलाई अझ बढी जिम्मेवार हुन मद्दत पुग्छ ।
विराटनगरको विशेषता के हो ?
सबैलाई थाहा छ, यो ऐतिहासिक नगरी हो । अग्रणी औद्योगिक क्षेत्र हो । विराटनगरलाई कुनै नयाँ परिचयको आवश्यकता छैन । अचेल शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रका लागि पनि विराटनगर प्रदेशकै केन्द्र बनेको छ । विराट राजाको क्षेत्र भएकाले यो ऐतिहासिक महत्वको छ । विराट राजाको दरबार रहेको क्षेत्रलाई धार्मिक एवं पर्यटकीय स्थल बनाउने हाम्रो योजना छ । समग्रमा विराटनगर अनेक विशेषतायुक्त नगर हो ।
प्रदेश र केन्द्रीय सरकारसँग समन्वय कस्तो छ ?
तीनै तहका सरकारबीच समन्वय अत्यन्त महत्वपूर्ण पक्ष हो । तर सहयोग र योजना भित्र्याउने कुरामा चाँहि हामी अलिक पछि परेका हौँ कि जस्तो लागेको छ । प्रदेश राजधानी रहेको विराटनगरमा देश हाक्ने प्रधानमन्त्रीदेखि मन्त्री बनेका नेताहरुको संख्या उल्लेख्य छ । यति हुँदाहुँदै पनि यहाँको विकासमा पर्याप्त समन्वय भने हुन नसकेको अनुभव हुन्छ ।
Discussion about this post