विराटनगर । मोरङको पथरीशनिश्चरेमा सामूहिक कुटपिट भएको ३ महिनापछि एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कुटपिट गरी अचेत बनाएर सडकको किनारमा छाडिएका पथरीशनिश्चरे नगरपालिका–४ प्रगति टोलका ६२ वर्षीय टेकबहादुर थापाको बुधबार ९आज० बिहान ५ बजेतिर मृत्यु भएको हो । थापालाई गत पुस २८ गते राति ३ जनाले कुटपिट गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।
उनका अनुसार छिमेकीको घरमा न्वारानमा गएका बेला थापामाथि आक्रमण भएको थियो । त्यतिबेला उत्पन्न आपसी विवाद कुटपिटमा परिणत हुँदा उनीमाथि बियरको बोतल र लात्ता प्रहार भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । सडक किनारमा अचेत अवस्थामा फेला पारेका थापालाई उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाएको थियो ।
प्रहरीका अनुसार ३ महिनासम्म उपचार गराउँदा पनि ठीक नभएपछि परिवारका सदस्यले गत मंगलबार घर फर्काएर लगेका थिए । स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेतर्फ लैजाने क्रममा बाटैमा थापाको मृत्यु भएको जानकारी डीएसपी दाहालले दिए ।
प्रहरीले घटनामा संलग्न १ महिला र २ बालकसहित ३ जनालाई त्यतिबेलै पक्राउ गरेको थियो । घटना यकिन नभएको र थप अनुसन्धान आवश्यक देखिएपछि २१ वर्षीया शुलोचना थापा कार्की तथा १६ र १७ वर्षका २ जना बालक हाजीरजमानीमा छुटे । तर, कुटपिटमा संलग्नता यकिन भएपछि उनीहरुलाई पुनः पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरुविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको थियो । मुद्दाको अनुसन्धान सकेर प्रहरीले मिसिल ९अनुसन्धान प्रतिवेदन० बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले मंगलबार तीनै जनालाई प्रतिवादी बनाएर अदालतमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर्यो । तर, अदालतबाट मुद्दामा आदेश आउन बाँकी रहेकै अवस्थामा घाइते वृद्धको मृत्यु भएको हो ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेकाहरु मृतकका परिवारिक नाता सम्बन्धका व्यक्तिहरु हुन् । घाइतेको मृत्यु भएका कारण मुद्दालाई कर्तव्य ज्यानमा परिणत गर्न सरकारी वकिलसँग समन्वय भइरहेको डीएसपी दाहालले बताए । उनका अनुसार ज्यान मार्ने उद्योगमा अनुसन्धान सकिए पनि घाइतेको मृत्यु भएका कारण मुद्दालाई कर्तव्य ज्यानमा परिणत गर्नुपर्ने अवस्था आएको हो ।
मृत्युको जानकारी सरकारी वकिल कार्यालयमा गराएर मुद्दालाई कर्तव्य ज्यानमा परिणत गर्न आवश्यक समन्वय भइरहेको दाहाल बताउँछन् । शवलाई पोस्टमार्टमाका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
Discussion about this post