विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ स्थित घरमा प्रदेशको नामकरणका विषयमा असन्तुष्ट भएको समूहले तोडफोड गरेको छ ।
काठमाण्डौको पेप्सीकोला स्थित घरमा पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्छ भन्ने माग राख्दै राजभण्डारीको बिहान घरमा तोडफोड गरिएको हो । ३०–३५ जनाको समूहमा आएका प्रदर्शनकारीहरूले घरमा तोडफोड गरेको राजभण्डारीका स्वकीय नूतन श्रेष्ठले बताए । नाराबाजी गर्दै उनीहरूले राज भण्डारीको घरको गेटमा तोडफोड गरेका हुन् ।
प्रदेशको नामकरणका विषयमा असन्तुष्टि जनाउँदै उनीहरूले घरमा तोडफोड गरेको मन्त्री राज भण्डारीको सचिवालयले जनाएको छ । तोडफोडका बेला मन्त्री भण्डारीका आमा र श्रीमती मात्रै थिए । उनीहरूले घरमा कालो झन्डा समेत गाडेका छन् ।
कालो झन्डा राख्दै उनीहरूले साङ्केतिक रूपमा विरोध गरिएको र नसच्चिए भौतिक रूपमा कारबाही गरिने समेत चेतावनी दिएका छन् । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजभण्डारी सोलुखुम्बुबाट विजयी भएका थिए । यसैबिच नेकपा एमाले सोलुखुम्बुले घटनाको विरोध गरेको छ ।
एमाले सोलुखुम्बुले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश नामकरणको विषयलाई लिएर व्यक्तिको निजी सम्पत्ति माथि गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक भएको उल्लेख छ ।
कोशी प्रदेश नामकरणको विषय राजनीतिक विषय हो र राजनीतिक विषयलाई राजनीतिक रूपमै समाधान गरिनु पर्ने विज्ञप्तिमा उल्लेख छ विज्ञप्तिमा परिवार र समाजलाई डर, धाक धम्की देखाउँदै आतङ्कित पार्ने गरी गरिएको यस प्रकारको आपराधिक आक्रमणले बहु जातीय, बहुभाषिक, बहु धार्मिक र बहु सांस्कृतिक पहिचान झल्किने सामाजिक सद्भाव सहित मिलेर बसेको हाम्रो समाजलाई विभाजित गर्ने र मुठभेड सम्मको स्थिति सिर्जना गर्न सक्ने उल्लेख छ ।
Discussion about this post