काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७ औँ साधारणसभा मार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन् ।
अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढकालले आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतको प्रयास अन्तिममा सफल भएको बताए ।
उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रूपमा महासङ्घको छविलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे ।
महासंघको नवनिर्वाचित अध्यक्षको रूपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयहरू पहिलो– वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्ने,दोस्रो–लगानीको वातावरण बनाउने,तेस्रो– राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने,र, पाँचौ– व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
नवनिर्वाचित अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी व्यवसायी छन् । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहनुभएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएसन उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् ।
Discussion about this post