विराटनगर । आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका क्रियाशील पत्रकार टीका खतिवडालाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ इलाम शाखाले प्रत्येक वर्ष बैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार खतिवडालाई प्रदान गरिएको हो । पत्रकार खतिवडा प्रदेशखबरका इलामस्थित संवाददाता हुन् ।
उनलाई इलाममा शुक्रबार आयोजित कार्यक्रममा उनलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र दोसल्ला ओढाएर सम्मान गरियो । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भिषण राई, महासंघ कोशी प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, प्रदेश सदस्य तोयानाथ भट्टराई लगायतले उनलाई सम्मान गरेका थिए ।
कार्यक्रममा आशिष राईले पत्रकारितामा गरेको योगदानको चर्चा गरिएको थियो । तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका आशिष राईको नयाँ वर्ष मनाउने क्रममा २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको थियो ।
उनकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष साविक मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।
उक्त पुरस्कारबाट हालसम्म खतिवडासहित १९ जना पत्रकार पुरस्कृत भएका छन् । सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती पुरस्कृत भइसकेका छन् ।
त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भइसकेका छन् ।
१२ वर्षदेखी निरन्तर पत्रकारिता पेशामा क्रियाशिल पत्रकार खतिवडा पछिल्लो समय प्रदेश खबरमा समेत आवद्ध भएर काम गरिरहेका छन् ।
क्रियाशील महिला पत्रकारिता पुरस्कार दुईजनालाई
नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको क्रियाशिल महिला पत्रकारिता पुरस्कार दुईजनालाई वितरण हुने भएको छ । पत्रकार महासंघको स्थापनाको दिन वितरण गर्ने गरी स्थापना भएको उक्त पुरस्कार यस वर्ष ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ सँगै वितरण हुने भएको हो ।
यसबाट पत्रकार सविता पाण्डे र सुजता सुनुवारलाई वितरण गर्ने नेपाल पत्रकार महासंघले जनाएको छ । पाण्डे नेपालवाणी एफएम, निगरानि डटकम र रेडियो नेपालमा आवद्ध हुनुहुन्छ भने सुनुवार इलाम एफएम, नेपाल वाणी एफएम, इलाम पोष्ट हुँदै हाल उज्यालो अनलाइनको डेक्समा रहेर काम गरिरहेका छन् ।
Discussion about this post