तीनकुनेको प्रदर्शनमा पक्राउ परेकामध्ये कतिजना छुटे ?

आइतबार, २८ बैशाख २०८२
फाइल तस्बिर

काठमाडौं । तीनकुनेमा आयोजित राजतन्त्र पुनर्स्थापनाको मागसहितको प्रदर्शनमा पक्राउ परेकामध्ये २२ जना हिरासतमुक्त भएका छन्।

चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' र नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति'को आह्वानमा भएको प्रदर्शनमा सहभागी यी अभियुक्तहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

प्रदर्शनमा संलग्न रहेका राप्रपाका महामन्त्री डा. धवल शमशेर जबरासहित २२ जना हाजिर जमानीमा रिहा भएका छन्। उनीहरूलाई संगठित अपराध र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको थियो।

तर, अझै पनि २५ जना राज्यविरुद्धको कसुरमा र ४२ जना आपराधिक उपद्रवमा पक्राउ परेर प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। पक्राउ परेकामध्ये एकजना भारतीय नागरिकसमेत रहेको बताइएको छ।

प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा अन्य थुप्रै व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको र उनीहरूमाथि कानूनी कारबाही अघि बढाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार