विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको नेतृत्व अब प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीको हातमा पुगेको छ। हालै मात्र गृह मन्त्रालयको निर्णयअनुसार सरुवा भई कोशी प्रदेश आएका डिआइजी कार्कीले आइतबार विधिवत रूपमा पदभार ग्रहण गरेका हुन्।
नयाँ जिम्मेवारी सम्हाल्न कार्यालयमा पुगेका कार्कीलाई हर्षपूर्वक स्वागत गरिएको थियो। स्वागत गर्नेहरूको पंक्तिमा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अबि नारायण काफ्ले, प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम बहादुर दाहाल, एसएसपी गोबिन्द अधिकारी सहित वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरू सहभागी थिए।
पदभार ग्रहणपछि एसएसपी भीम बहादुर दाहालले डिआइजी कार्कीलाई कोशी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधका वर्तमान चुनौतीहरू र प्रहरीको नविनतम रचनात्मक पहलहरूको जानकारी गराएका छन्।
नेपाल प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालय, नक्साल काठमाडौंमा कार्यरत रहँदा उत्कृष्ट कार्यसम्पादन देखाएका कार्की अब प्रदेशस्तरीय सुरक्षाको जिम्मा सम्हाल्दैछन्।
प्रतिक्रिया