इटहरी : नेपाली कांग्रेसको कारबाहीमा परेका कांग्रेस खोटाङ जिल्ला सभापति बिष्णुकुमार राईले आफूमाथि एक वर्षको निलम्बनसहितको राजनीतिक कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई पुनः ऊर्जावान बनाएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक अभिव्यक्तिमा उनले लेखेका छन्,‘फेरि एकपटक निष्ठा र त्यागको राजनीतिले जगतबाट पृष्ठपोषण पाएको छ ।’ राईका अनुसार राजनीतिमा अब ‘धूर्त, फट्याई र चाकडिवाज’हरुले वर्चस्व जमाएको भान भइरहेका बेला पनि सत्य र निष्ठाको पक्षमा उभिन जनताको साथले आफूलाई थप उचाइ दिएको छ ।
उनी लेख्छन्,‘जब म माथि १ वर्षे नसिहतको कारवाही सार्वजनिक भयो, जगतले त्यसप्रति गरेको खेदप्रकट र ममाथि देखाएको सदाशयताले पुनः मेरो राजनैतिक निष्ठाको सगरमाथाले थप उचाई प्राप्त गरेको अनुभूति पाईरहेछु ।’
अभिव्यक्तिमा राईले आफ्ना पुराना राजनीतिक स्मृतिहरु पनि साटेका छन् ।
यस्तो छ उनको अभिव्यक्ति :
हार्दिक आभार/ हार्दिक कृतज्ञता !
***************************
फेरि एकपटक निष्ठा र त्यागको राजनीतिले जगतबाट पृष्ठपोषण पाएको छ । राजनीतिमा ईमान, निष्ठा र त्यागको चिरहरण भैसक्यो, अब बदमास, भ्रष्ट र नैतिकहरामहरुले राजनीति कव्जा गरिसक्यो । राजनीति गर्न धूर्त, फट्याई र चाकडिवाज हुन जान्नु पर्छ भन्ने भाष्यलाई केही दिनको यो परिघटनाले धुलो चटाई रहेछ ।
हिजो विहानै मेरी ठूलि छोरी शुसाले ढाडस दिईन्, ``बाबा, धेरै पिर नलिनुस, हामीलाई सम्झिनुस । १ वर्ष कष्ट भए पनि केही गुमेको छैन ।´´
छोरीको यो भनाईले म धेरै पुरानो अतीतको गहिराइमा डुवेँ-जब उनले पहिलो पटक यो धरतिमा पाईला टेकिन, संयोगले मेरो हातमा एउटा दुरसंचारको चिठि प्राप्त भयो, त्यही दिनको भोलिपल्ट ७ वजेभित्र पार्टी कामको सिलसिलामा मैले दिक्तेल पुग्नै पर्ने । तब साथमा झोला बोकेर परिवारका सदस्यहरुसँग केही दिनका लागि विदा भएर दिक्तेल हानिएँ । त्यसको ६ महिनापछि घरपुग्दा छोरी नजानिदो मुस्कुराउदै चहललहल गर्ने भै सकिछन् । १ हप्ता घरमा बसेर पुन म दक्षिणी क्षेत्र हानिए ।
यसरी कहिले बाहिर कहिले गाउँ समयको गति यसरी नै अगाडि बढिरह्यो । यसवीच देशमा र जिल्लामा कैयौँ राजनैतिक परिघटना घट्दै रहे । तर मैले जनताको घर आगनलाई नै आफ्नो मन अड्याउने परिवेश सम्झिरहेँ । म पछाडि जिल्लामा पाईला टेक्ने थुप्रै राजनैतिककर्मीहरु मुलुकको उपल्लो तहमा पुगेर राजनैतिक जिम्मेवारी निरोपण गर्ने सुअवसर पाउदै गए । मेरो राजनाैतिक व्यक्तित्वले भने खोटाङको सरहद भन्दा बाहिर जाने, खेल्ने अवसर पाएन र, एउटा ईमेज बन्यो- °`बिष्णु राई अति सोझो छ विचरा । न केही कमायो, न केही जमायो । समय अनुसार चल्न जान्दैन । उ पछाडी राजनीतिमा आउनेहरु कहाँ पुगिसके, उ जहाको तही ।´´
तरै पनि म राजनीतिबाट टाढिन सकिनँ । यसवीच २०७९ साल गुज्र्यो । हो रहेछ, मेरो नाम प्रदेश ( ख) मा सिफारिस हुदा हुदै संघमा सिफारिस भएको व्यक्ति जसको ख मा सिफारिस भएको थिएन र अन्तर्घातको आलोचना खेपिरहेको थियो, उसले टिकट हत्यायो । अत्यन्त सोझै त रहेछु- मनको एका कुनामा मलाई नि यतो यस्तै यस्तै लाग्यो । झण्डै झण्डै मेरो पनि निष्ठाको राजनीतिले मैमाथि प्रश्न गर्न खोजुला जस्तो गर्यो-
बदमास र धूर्तहरुको राजनैतिक साम्राज्यमा कहिलेसम्म निष्ठाको सगरमाथा उभ्याईरहन सक्छौ बिष्णु ?
तर जब म माथि १ वर्षे नसिहतको कारवाही सार्वजनिक भयो, जगतले त्यसप्रति गरेको खेदप्रकट र ममाथि देखाएको सदाशयताले पुन: मेरो राजनैतिक निष्ठाको सगरमाथाले थप उचाई प्राप्त गरेको अनुभूति पाईरहेछु । अझ जगतमा निष्ठाप्रतिको जनसमर्थन जिउदै रहेछ, र एक दिन निष्ठा, समर्पण र त्यागको राजनीतिको धरोहर उभिनेछ, बदमासहरु राजनैतिक मैदानबाट फरार हुनेछन- यो विश्वास फेरिपनि बलियो भएको छ ।
अन्तमा सम्पूर्ण शुभेच्छुक मित्रहरु, जसले सत्य र निष्ठाको राजनैतिक जगलाई मजबुत बनाउदै विभिन्न माध्यमबाट पवित्र अभिव्यक्तिहरु सम्प्रेषण गरिरहनु भएको छ, अझ सशक्त भएर बैचारिक बहसलाई चर्काउदै जानुहोला- म हार्दिक नमन/ हार्दिक कृतज्ञता र हार्दिक आभार प्रकट गर्दै जीवन पर्यन्त म यहाँहरुको साथ रहने कवुल गर्दछु । जयनेपाल !
कुमारीपाटी, ललितपुर ।
(विक्रम सम्वत २०८२ आषाढ २७ गते शुक्रवार रोज शुभम् ।)
प्रतिक्रिया