उवासंघ इटहरीको निर्णय विरुद्ध एमाले निकट सदस्यहरू, के भन्छन् अध्यक्ष ?

शुक्रबार, २७ असार २०८२

इटहरी : इटहरी उद्योग वाणिज्य संघभित्र हालै भएको सदस्यता नवीकरण र कर नतिर्ने व्यवसायीहरूलाई अनियमित रूपमा सदस्यता दिइएको भन्दै कार्यसमिति सदस्यहरू विरोधमा उत्रिएका छन् । नेकपा(एमाले) निकटका कार्यसमितिका नौ जना सदस्यहरूले नेतृत्वको निर्णयविरुद्ध एक प्रेस विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले शुक्रवार इटहरीमा पत्रकार सम्मेलन गर्दै संघको वर्तमान नेतृत्वले लोकतान्त्रिक मूल्य, पारदर्शिता र कानुनी शासनको उल्लङ्घन गरेको आरोप लगाए । 

संघले आन्तरिक राजस्व कार्यालय इटहरीबाट प्राप्त निर्देशनको अवहेलना गर्दै कर नतिर्ने, व्यवसाय बन्द भइसकेका तथा गैर व्यवसायीक व्यक्तिहरूलाई पनि मनोमानी तवरले सदस्यता नवीकरण गरेको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ,

उद्योग वाणिज्य संघ इटहरीले माइकिङ गरी कर्मचारी खटाएर बजारमा नवीकरणका लागि पूरा रकम असुल गरिसकेपछि आज आएर आफ्ना नजिकका र हाल व्यापार व्यवसाय नै नभएका, व्यापार व्यवसाय कागजमा मात्र सीमित भएकाहरूलाई सजिलो होस् भन्नका लागि नवीकरण गर्नुपर्ने अन्तिम समयमा विशुद्ध निर्वाचनका लागि गैर उद्योगी व्यवसायीहरूलाई बहुमतका दम्भमा ५० प्रतिशत छुट दिने निर्णय गरेको प्रति हाम्रो घोर आपत्ति छ ।

कार्यसमिति सदस्यहरूले कर तिर्ने व्यवसायीहरूको योगदानको उपेक्षा गर्दै कर नतिर्नेहरूलाई समान हैसियतमा राखेर नवीकरण गरिनु इमानदार करदाताहरूको अपमान भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनीहरूले बहुमतको दम्भमा निर्णय लिइएको भन्दै कार्यसमिति बैठकमा जबरजस्ती निर्णय गर्ने प्रवृत्तिप्रति आपत्ति समेत जनाए । 

उनीहरूका अनुसार कर नतिर्ने तथा वैधानिक मापदण्ड पूरा नगर्ने व्यवसायीहरूको नवीकरण तुरुन्त खारेज गर्न, संघको कार्यसमिति बैठक तुरुन्त बोलाई कानुन बमोजिम निष्पक्ष निर्णय गर्न, आन्तरिक राजस्व कार्यालयको निर्देशन अक्षरशः कार्यान्वयन गर्न, संघको नेतृत्वले कानुनी शासनको सम्मान गरोस् र संस्थागत आचरणमा सुधार ल्याउन माग समेत गरेका छन् । 

संघका फरक मत राख्ने कार्यसमिति सदस्यहरू राजेन्द्रकेशरी घिमिरे, उमानाथ दाहाल, सुरेश कार्की, बलबहादुर न्यौपाने, राकेश श्रेष्ठ, ढुण्डीराज गुरागाईँ, दिलीप पराजुली, अभिषेक बस्नेत, र सुभाष गौतमले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नेतृत्वलाई सच्चिन आग्रह गरेका हुन् । उनीहरूले कर प्रणालीप्रतिको सम्मान र व्यावसायिक पारदर्शिता कायम राख्नका लागि आवाज उठाउन आफूहरू बाध्य भएको बताएका छन् ।

press meet

यता उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले विरोधमा निस्किएका सदस्यहरूले व्यवसायीहरूको भावना बुझ्न नसकेको बताएका छन् । बहुमत सदस्यहरूले नै व्यवसायीहरूलाई छुटको प्रस्ताव गरेर निर्णय गरेको उल्लेख गरेका पराजुलीले प्रदेश खबरसँगको कुराकानीका क्रममा भने,‘उद्योग वाणिज्य संघ भनेको व्यवसायीकै हकहितका लागि हुन्छ । अहिलेको परिस्थितिमा व्यवसायीहरू बैङ्कको किस्ता समेत तिर्न नसकिरहेको अवस्था रहेको छ । सरकारले पनि व्यवसायीहरूका लागि छुटहरू ल्याएको अवस्था रहेको हुन्छ । हामीले व्यवसायीहरूको संस्थामा थप आबद्धता गर्नका लागि पनि व्यवहारिक पक्षलाई हेरेका हौँ ।’

उद्योग वाणिज्य संघको निकट भविष्यमै निर्वाचन हुन गइरहेको छ । जसमा व्यवसायीहरू आन्तरिक रूपमा समेत चुनावी रणनीतिमा लागेका छन् । उद्योग वाणिज्य संघको २०७९ साल माघ २८ गते भएको निर्वाचनमा पाँच हजार १८४ सदस्य रहेकामा अहिले त्यसमा नवीकरण गर्नेको सङ्ख्या एक हजार हाराहारी मात्रै पुगेको उद्योग वाणिज्य संघ श्रोत बताउँछ । 

नेतृत्वसँग विभाजित बनेका सदस्यहरू समेत नेतृत्वको कार्यसैेलिप्रति नै असन्तुष्टि भएर नै उद्योग वाणिज्य सङ्घमा आबद्ध हुनेको सङ्ख्या घट्दै गएको दाबी गर्दछन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार