सप्तकोसी कटानको संकट : हजारौँ घर उच्च जोखिममा, तत्काल समाधानको माग

विहीबार, १२ असार २०८२

इटहरी : तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान सुरु गरेपछि उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका उच्च जोखिममा परेका छन्।

बेलका–२, ३, ८ र ९ तथा बराहक्षेत्र–६ का करिब ४ हजार घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।

नदीले बेलका–८ को लाहुरे खोँच हुँदै कटान तीव्र पारेपछि सोमबारे,डुम्रीबोटे,मसानघाट,धौरी टप्पु, चिलियाटप्पु,एबीसी,श्रीलङ्का टापु,रामनगर,बोची,भागलपुर,क्रान्ति टोल,बानडाँडा र कोशी टप्पु आरक्ष क्षेत्रमा बसोबास गर्ने परिवार उच्च जोखिममा परेका हुन्।

अघिल्लो कटानमा कोशीको भङालो गाउँ पस्दा ४ हजार घर विस्थापित भएका थिए भने हालको अवस्था पनि त्यस्तै भयावह देखिएको छ।

स्थानीय विद्यालय तथा स्वास्थ्य संस्थासमेत कटानमा परेका छन्। बेलका–३ को सरस्वती विद्यालय, बराहक्षेत्र–६ को बाल सेवा, जनता र कौशिका विद्यालयसहित दुई स्वास्थ्य संस्था विस्थापित भइसकेका छन्।

स्थानीयवासी गिरिराज विश्वकर्मा भन्छन्,“बाढी आउँदा डुब्ने डर, घट्दा जमिन कटान भएर गाउँ पस्ला भन्ने चिन्ता। रातभर निदाउन सकिँदैन।”

सप्तकोसी कटानको समस्यालाई कोशी सम्झौतासँग पनि जोडिएको छ। २०११ सालमा नेपाल–भारतबिच भएको कोशी सम्झौताअनुसार भारतले चतरादेखि ब्यारेजसम्म दुवैतर्फ तटबन्ध बनाउनु पर्ने भए पनि अहिलेसम्म निर्माण नगर्दा नेपाली भू–भाग बर्सेनि डुबान र कटानमा पर्दै आएको स्थानीयको गुनासो छ।

पानीको बहाव वर्षायाममा एक सेकेन्डमा २६ अर्ब घनसेन्टिमिटरसम्म पुग्ने कोशीमा दीर्घकालीन योजना नबन्दा विपद् बारम्बार दोहोरिएको हो।

सप्तकोसी कटान नियन्त्रण तथा स्रोत सङ्कलन समिति बेलका–३ ले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल निरीक्षण र दीर्घकालीन समाधानको माग गरेको छ।

ज्ञापनपत्रमा यस वर्ष आएको ४ करोड रुपैयाँको बजेटमा ठेक्का लागेपनि निर्माण व्यवसायीले काम नगरेको जनाइएको छ। “यदि कोशी गाउँ पसेर क्षति भयो भने जिम्मेवारी स्थानीय तह र निर्माण कम्पनीले लिनुपर्छ,” ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

स्थानीयले आवश्यक परेमा जनश्रमदानमार्फत बाँध निर्माण गर्न अनुमति दिनुपर्ने माग पनि अघि सारेका छन्।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार