काठमाडौँ । यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैङ्कले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने छ ।
त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा सङ्घ÷संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।
ग्राहकले आफ्नो खाता रहेको बैङ्क वा पायक पर्ने नजिकको बैङ्क तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैङ्कमा गई नोट सटही गर्न सक्नेछन् ।
प्रतिक्रिया