यी हुन् धरानका अब्बल संस्थागत स्कुलहरू

बुधबार, ०६ बैशाख २०८०
धरान । नयाँ शैक्षिक सत्रका गतिविधि सुरु हुँदै गर्दा सुनसरीको धरानमा सञ्चालित संस्थागत विद्यालयहरुमा चहलपहल बढेको छ । नयाँ भर्ना, पुराना विद्यार्थीको माथिल्लो कक्षामा प्रवेश लगायत प्रक्रियाहरुका लागि अभिभावक र विद्यार्थीको चहलपहल बढेको हो । धरानमा अभिभावक र विद्यार्थीका मन जितेका विद्यालयहरु धेरै छन् । व्यावहारिक शैलीको पठनपाठन, अतिरिक्त क्रियाकलाप, अभ्यासमूलक सिकाइ जस्ता विभिन्न विशेषताहरु भएका विद्यालयहरुप्रति अभिभावक र विद्यार्थीको ध्यान जाने गरेको छ । यहाँ सञ्चालित विद्यालयहरुमध्ये उत्कृष्टमा आफ्ना सन्तानलाई शिक्षा दीक्षा दिन अभिभावकहरु लोभिने गरेका छन् । धेरै उत्कृष्ट विद्यालयहमध्ये आफ्नो छनोटमा परेका विद्यालयमा गएर सन्तानको शिक्षाका लागि प्रक्रिया मिलाउन उनीहरु सक्रिय भएका छन् । सफल विद्यार्थी उत्पादन गर्दै युरेका तीन दशक लामो यात्रामा उत्कृष्ट शैक्षिक क्रियाकलाप र नतिजाले युरेका स्कुल धरानमा परिचित छ । करिब १५ सय विद्यार्थीलाई पढाउँदै आएको युरेका रेसिडेन्सियल स्कुलले तीन दशकको अवधिमा थुप्रै विद्यार्थीलाई सफल बनाएको छ । युरेका स्कुलका प्रिन्सिपल कुरान लिम्बूका अनुसार यहाँ अध्ययन गरेका विद्यार्थीहरु धरानका प्रतिष्ठित विद्यालयका प्रिन्सिपलदेखि बैंक, हस्पिटल तथा सरकारी सेवामा सक्रिय छन् । युरेका स्कुल २०५० सालमा स्थापना भएको हो । स्कुल अहिले २ ब्लकमा सञ्चालित छ । दुई ब्लक गरेर ६ कठ्ठामा रहेको स्कुल धरानको छाताचोक नजिकै छ । स्कुल इन्टरनेश्नल स्कुल अवार्डबाट सम्मानित भइसकेको छ । अवसरहरूको सिर्जना, जीवन परिवर्तन साथै कडा मिहिनेत तथा अन्तर्राष्ट्रिय स्तरको सिकाइ प्रदान गर्नु युरेका स्कुलको विशेषता हो । गुणस्तरीय शिक्षाका लागि नेतृत्व वर्ग, शिक्षक एवं विद्यार्थीबीच सहकार्य निरन्तर जारी राख्नुपर्ने विद्यालयको विश्वास छ । अहिले युरेका स्कुलमा सयभन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयले समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा विद्यार्थीलाई प्रोत्साहित गर्छ । सिकाइमा विद्यार्थीको स्वतन्त्रता र पाठ्यक्रमसँगसँगै अतिरिक्त क्रियाकलापमा जोड दिने गरिएको छ । बेला बेला विभिन्न विषयहरुमा ब्रिफिङ, कार्यशाला, अनलाइन शिक्षण, सामुदायिक सहभागिता र विचारहरूको आदानप्रदानलाई विद्यालयले प्रोत्साहित गरिरहेको छ । यसले विद्यार्थीको नेतृत्व क्षमता विकासमा महत्वपूर्ण सहयोग गरेको छ । शिक्षक र विद्यार्थीलाई पाठ्यक्रममा विभिन्न महत्वपूर्ण सीप एकीकृत गर्न सहयोग पुग्छ । मन्टेश्वरी शिक्षादेखि, बोर्डस, डे बोर्डस, साइन्स ल्याब, कम्प्युटर ल्याबको व्यवस्था पनि राम्रो छ । बालबालिकाका सिकाइ उपलब्धि मूल्यांकनका लागि विभिन्न लिखित, मौखिक, प्रयोगात्मक परीक्षा, क्रियाकलाप र सहभागितालाई आधार मानिन्छ । त्यसैले पनि युरेका यी तमाम उपलब्धिहरूको आधारमा अब्बल विद्यालय हो भन्न सकिन्छ । भौतिक पूर्वाधारमा अब्बल समिट सेकेण्डरी स्कुल समिट सेकेण्डरी स्कुल २०४८ सालमा स्थापना भएको हो । भौतिक पूर्वाधारमा सम्पन्न स्कुल शैक्षिक गुणस्तरमा पनि उत्तिकै सम्पन्न छ । विद्यालयमा अहिले ५ सय बढी विद्यार्थी छन् भने ३३ जना शिक्षक कर्मचारी छन् । ७ कठ्ठा जग्गामा रहेको स्कुलका कक्षाकोठाहरु खुल्ला छन् भने अन्तर्राष्ट्रिय स्तरका भलिबल र बास्केटबल कोर्ट छन् । विद्यालयको भवन पूर्ण रुपमा भूकम्पप्रतिरोधी छ । ‘विद्यालयका भवनहरु व्यवस्थित ढंगल निर्माण गरेका छौं, विद्यार्थीलाई अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले भवन तथा खेलमैदान हामीले निर्माण गरेका हौं’ विद्यालयका प्रिन्सिपल रमेश घिमिरेले भने । धरान–९ बगैचा चोकमा रहेको समिट स्कुलको शैक्षिक गुणस्तर लोभलाग्दो छ । गत वर्ष एसईईमा विद्यार्थीले ए प्लस देखि बी प्लससम्मको ग्रेड ल्याएका थिए । विद्यालयमा १० वर्षभन्दा बढी अनुभव भएका शिक्षकहरुको उपस्थिति बलियो छ । अनुभवी तथा दक्ष शिक्षक शिक्षिकाबाट पठनपाठन गराइने भएकोले रिजल्ट राम्रो भएको दाबी प्रिन्सिपल घिमिरेको छ । विद्यालयमा नेपाल सरकारले तोकेको योग्यता पुगेका जनशक्ति भएकाले विद्यार्थीको सिकाइ उपलब्धि राम्रो हुने गरेको उनको अनुभव छ । समिट स्कुल धरानमा पहिलो पटक होटल म्यानेजमेन्ट विषय पढाउने विद्यालय हो । यसका साथै म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरिजम विषय पनि समिट स्कुलमा पढाई हुन्छ । अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा पनि विद्यालय उत्तिकै अब्बल छ । छात्र तथा छात्रा भलिबलमा समिट स्कुलको उपस्थित जहिल्यै बलियो हुन्छ भने पछिल्लो समय बास्केटबलमा पनि समिट राम्रो छ । विद्यालयमा शैक्षिक क्यालेण्डरलाई अनुसार विद्यालयमा अतिरिक्त क्रियाकलाप हुने गरेको छ । खेलकुदका इभेन्टमा सहभागी हुन जाँदा समिट स्कुल कहिल्यै खालि हात नफर्किएको दाबी प्रिन्सिपलको छ । ग्रामीण क्षेत्रको उज्यालो– शिक्षा सन्देश शिक्षा सन्देश बोर्डिङ स्कुल २०४८ सालमा स्थापाना भएको हो । साबिक पाँचकन्या गाविस वडा नं। ३ मा स्थापना भएको यो स्कुल ‘ग्रामिण क्षेत्रको उज्यालो’को रुपमा परिचित छ । गाउँमा अंग्रेजी माध्यमबाट शिक्षा दिने उद्देश्यले स्थपाना भएको यस स्कुलले २०६६ सालदेखि एसएलसिमा सहभागी भएको हो । शिक्षा सन्देशबाट पास आउट भएका विद्यार्थीहरुले इन्ट्रान्स परिक्षामा सहरका नामी विद्यालयमा सजिलै नाम निकालेर अध्ययन गर्ने गरेका छन्, यसको अर्थ शिकाइ उपलब्धीमा शिक्षा सन्देश बोर्डिङ स्कुल सफल छ । अहिले यो विद्यालयमा ७ सय भन्दा बढी विद्यार्थी छन् भने ५२ जना शिक्षक कर्मचारी छन् । गतवर्षदेखी ११ र १२ कक्षाको अध्यापन सुरु गरेको यस विद्यालयमा म्यानेजमेन्ट र कम्प्युटरको पढाई हुन्छ । विद्यालयको कक्षाकोठा ५ कठ्ठा क्षेत्रफलमा छ भने खेलमैदान छुट्टै पाँच कठ्ठामा छ । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु अष्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा थप अध्ययनका लागि गएका छन् भने केही विद्यार्थीहरु चिकित्सक, शिक्षक तथा बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् । विद्यालयले प्रोजेक्टरबाट अध्यापन थालेको छ भने यस वर्षदेखि स्मार्ट कक्षाहरु समेत सञ्चालनमा ल्याइने स्कुलका सञ्चालक चन्द्रबहादुर सुवेदीले बताए । शिक्षा सन्देश बोर्डिङ स्कुल यस क्षेत्रकै सबैभन्दा कम मासिक शुल्क लिने विद्यालय पर्दछ । भौतिक पूर्वाधारमा सम्पन्न, साइन्स तथा कम्प्युटर ल्याब भएको विद्यालय हो । शान्त र सफल चिल्ड्रेन्स एकेडेमी धरान–१५ बुढासुब्बा चोकमा रहेको चिल्ड्रेन्स एकेडेमी शान्त र सफल विद्यालय हो । २०५२ सालमा नै स्थापना भएको यो विद्यालय अभिभावकको भरोसाको रुपमा पनि चिनिन्छ । ७ सय ५० भन्दा बढी विद्यार्थीलाई पढाउँदै आएको यस विद्यालयमा ३६ जना शिक्षक कर्मचारी छन् । नतिजामा केन्द्रित भएर विद्यार्थीलाई सोही अुनसार प्रशिक्षित गर्दै अघि बढिरहेको चिल्ड्रेन्स एकेडेमीमा बोडर्स तथा डे बोडर्सको सुविधा छ । विद्यालयमा कम्प्युटर ल्याब, साइन्स ल्याब तथा लाइब्रेरी छ । विद्यालयले कक्षा टप विद्यार्थीलाई निःशुल्क अध्यापन गराउदै आएको छ भने दोस्रो र तेस्रोलाई क्रमशः ५० र २५ प्रतिशत छुट गर्दै आएको छ । विद्यालय प्रांगण भित्रै बास्केटबल कोर्ट छ भने समयानुसार विद्यार्थीलाई बाहिर लगेर पनि खेलकुदमा सहभागी गराइन्छ । पछिल्लो वर्ष एसईईमा ए प्लस सहित बी प्लससम्मको नतिजा ल्याएको यस स्कुलको शिकाइ उपलब्धी राम्रो छ । स्कुलबाट पास आउट भएका विद्यार्थीहरु अहिले राम्रो ठाउँमा पुगेको भन्दै प्रिन्सिपल खुसी मान्छन् । अभिभावकको ढुकढुकी– विष्णु स्कुल धरानको विष्णु मेमोरियल सेकेण्डरी स्कुल अभिभावकको ढुककुकी जत्तिकै छ । यो विद्यालयमा आफ्ना छोराछोरी पढाउन अभिभावकबीच प्रतिस्पर्धा नै चल्छ । २०४४ सालमा स्थापना भएको यो स्कुलमा अहिले पनि १५ सय विद्यार्थी अध्ययरत छन् । मन्टेश्वरीदेखि कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा ८० जना शिक्षक कर्मचारी छन् । धरानको भानुचोकनजिक रहेको यो विद्यालय १४ कठ्ठा जग्गामा फैलिएको छ । त्यसमा पनि यस विद्यालयका भवनहरु विशाल छन् । भूकम्पप्रतिरोधी भवन भनेर विद्यालयले दाबी गरेको छ । विद्यालयमा योगा, बास्केटबल, टेबलटेनिस, क्रिकेट, फुटबल, मार्सल आर्टस, डान्स तथा फाइन आर्टस्का छुट्टा छु्ट्टै प्रशिक्षकरु विद्यालयले राखेको छ । विद्यालयको मूल लक्ष्य भनेको गुणस्तरीय शिक्षा र नेतृत्व विकास हो । विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठ भन्छन्, ‘हाम्रो विद्यालयमा रेडक्रस, स्काउट, रोट्रक्ट क्लबहरु छन् । सोही क्लबहरु मार्फत् विद्यार्थीले विभिन्न कार्यक्रमको आयोजना गरिरहेका हुन्छन् । जसले उनीहरुको नेतृत्व विकास हुन्छ भने जिम्मेवार नागरिकका रुपमा पनि स्थापित हुन्छन् ।’ विद्यालयको मुख्य विशेषता भनेको उत्कृष्ट नतिजा नै हो । १ सय ३० जनाले एसईई दिदा ए प्सल सहित धेरै विद्यार्थी ए र थोरै मात्र बि प्लसको ग्रेडमा उत्तिर्ण भए । गतवर्ष एमबिबिएस अध्ययनको इन्ट्रान्समा विष्णु स्कुल देशभरीबाट ११ औं स्थामा रह्यो । त्यस्तै कृषि विज्ञानको इन्ट्रान्समा दोस्रो भएको थियो । विद्यालयको नतिजा उत्कृष्ट हुनु नै अभिभावकका लागि भरोसा हो भन्ने कुरा विष्णु स्कुलले प्रमाणीत नै गरेको छ । थोरै विद्यार्थी, नतिजामा उत्कृष्ट– धरान मोडल स्कुल थोरै विद्यार्थी रहेर पनि नतिजामा उत्कृष्ट रहन सफल विद्यालय हो धरान मोडल स्कुल । कक्षा ६ देखि १० सम्म अध्यापन गराउदै आएको यस स्कुलले पछिल्लो समय प्राथमिक तहको अध्यापन त्रिवेणी बोर्डिङ स्कुलसँग मिलेर गरिरहेको छ । २०५५ सालमा स्थापना भएको यी स्कुलहरु अहिले कक्षा १ देखि ५ सम्म त्रिवेणी स्कुल र ६ देखि १० सम्म धरान मोडलको नाममा चलिरहेका छन् । अहिले ४ सय विद्यार्थीलाई पढाइरहेको यो स्कुलले २३ औं ब्याचसम्मलाई एसएसलसी, एसईईमा सहभागी गराइसक्यो । विद्यालयमा ३१ जना शिक्षक कर्मचारी छन् । १५ वर्षभन्दा बढी अध्यापन गराउने शिक्षकहरु आधाभन्दा बढी छन् । दक्ष तथा अनुभावी शिक्षकहरुबाट अध्यपन गराईरहेको दाबी प्रिन्सिपल उत्तम गुरुङले बताए । २३ औं ब्याच एसएसलीको भइसकेको हुनाले अहिले धेरैजसो वित्तिय संस्था, हस्पिटल तथा सरकारी सेवामा रहेका पूर्व विद्यार्थीहरु भेटिने गरेको प्रिन्सिपल गुरुङको दाबी छ । ‘इन्टरनेशनल लेभल’ को केके इन्टरनेशनल स्कुल धरानको केके इन्टरनेशनल स्कुल अन्तर्राष्ट्रिय स्तरको छ । धरान–१५ हिन्दुपती मार्गमा रहेको यो स्कुल २०७३ सालमा मात्रै स्थापना भएको हो । ७ सय विद्यार्थी अध्यापन गर्दै आएको यो विद्यालय १३ कठ्ठा जग्गामा छ । विद्यालयका भवन भूकम्प प्रतिरोधी छ । भवन भित्र रहेका कक्षा कोठाहरु पर्याप्त स्पेस रहेको र मास्टर प्लान अनुसार विद्यालयको भौतिक संरचनाको डिजाइन गरिएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरीले जिल्लाको क वर्गमा राखेको यो स्कुलले अन्तर्राष्ट्रिय अवार्ड समेत जितिसकेको छ । अधिकांश कक्षाहरु स्मार्ट छन् भने केही कक्षा कोठाको अध्यापन प्रोजेक्टरबाट अध्यापन गराइन्छ । गुणस्तरीय शिक्षा दिने लक्ष्य राखेको यो स्कुलले पढाइबाट नै विद्यार्थीमा राम्रो रिजल्ट आउने अपेक्षा गरेको छ । विद्यालयका सिइओ प्रवीण अग्रवालका अनुसार अनुभवी तथा दक्ष शिक्षक, आधुनिक प्रविधियुक्त कम्प्युटर ल्याब जस्ता कुराहरुले विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने छ । विद्यालयले अतिरिक्त क्रियाकलाप र प्रशिक्षकहरु नियुक्ति गरेको छ । विद्यालयमा तेक्वान्दो, बास्केटबल, भलिबल र क्रिकेटका प्रक्षिकहरु छन् । गतवर्षको एसईईमा विद्यालयबाट ए प्लस र ए ग्रेडमा उत्तीर्ण भएका थिए । गुणस्तरीय शिक्षा तथा अनुभवी टिमका कारण यो विद्यालय धरानमा उदयिमान हुँदै आइरहेको छ । होलील्याण्ड स्कुलको आफ्नै ब्राण्ड धरान–१५ मा रहेको होलिल्याण्ड स्कुलको ब्राण्ड आफ्नै छ । पर्याप्त खुल्ला ठाउँ, निरन्तर उत्कृष्ट नतिजा तथा राम्रो व्यवस्थापनका रुपमा होलिल्याण्डले आफ्नो परिचय बनाएको छ । २०५३ सालमा स्थापना भएको यस विद्यालयमा अहिले ७ सय ८५ विद्यार्थी छन् । २३ कठ्ठा क्षेत्रफलमा रहेको यस विद्यालयमा बास्केटबलको कोर्ट र फुटबल मैदान समेत छ । यस अघि भौतिक संरचनामा ध्यान दिदै निर्माण कार्य तिब्र भइरहेकोमा अब निर्माणको काम सकिएको भन्दै व्यवस्थापन टिम अब गुणस्तरीय शिक्षामा फर्किएको छ । बास्केटबलमा प्रदेशकै अब्बल रहेको यो विद्यालयमा तेक्वान्दो, कराते भलिबल, म्युजिक डान्स तथा योगाका प्रशिक्षकहरु समेत छन् । यस विद्यालयले वार्षिक रुपमा बास्केटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । विद्यालय खुल्ला बातावरणमा छ । भिडभाड भन्दा अलि टाढा रहेकोले पनि शान्त वातावरण रहेको र यस्तो वातावरणमा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने प्रिन्सिपल राजकुमार लिम्बूले जानकारी दिए । गुणस्तरीय शिक्षाका लागि नेतृत्व वर्ग, शिक्षक एवं विद्यार्थीबीच सहकार्य निरन्तर जारी राख्नुपर्ने विद्यालयको विश्वास छ । विद्यालयले समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा विद्यार्थीलाई प्रोत्साहित गर्छ । सिकाइमा विद्यार्थीको स्वतन्त्रता र पाठ्यक्रमसँगसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन्छ । ब्रिफिङ, कार्यशाला, अनलाइन शिक्षण, सामुदायिक सहभागिता र विचारहरूको आदानप्रदानलाई विद्यालयले प्रोत्साहित गरिरहेको छ । जसले नेतृत्व क्षमता विकास गर्छ । शिक्षक र विद्यार्थीलाई पाठ्यक्रममा विभिन्न महत्वपूर्ण सीप एकीकृत गर्न सहयोग पुग्छ । डिपोको लोभलाग्दो ख्याति २०१९ सालमा विद्यार्थीहरूबाट शुरु गरिएको डिपो मावि मा ११ सय ५० विद्यार्थी छन् । प्रारम्भिक चरणमा व्यवस्थापन, शिक्षा, साइन्स मानविकी विषयमा कक्षा शुरु गरिएको थियो । सबै विषय सञ्चालनमा आए पनि एजुकेशन र मानविकी सोसियल साइन्स भने २०७४ सालदेखि शुरु भएको हो । व्रिटिस गोर्खा भूपू सैनिकद्वारा सञ्चलित यस विद्यालयको क्षेत्रफल १३ विगाहा १० कठ्ठा रहेको छ । विद्यालयका सबै कक्षाकोठा भूकम्प प्रतिरोधी छन् । किनकी सबै कोठाहरु एकतले छन् । विद्यालयमा पर्याप्त मात्रामा खेलकुद मैदानहरु छन् । फुटबलको मैदान, बास्केटबल, सेपाकताक्रो, ब्याडमिन्टनका आफ्नै खेल मैदान छ । कक्षा कोठाहरु फराकिला छन् । योग्य जनशक्ति रहेकाले विद्यार्थीको सिकाइ उपलब्धि पनि राम्रो छ । गुणस्तरीय शिक्षा, शान्त शैक्षिक वातावरण, व्यावहारिक शिक्षा प्रणालीका कारण विद्यार्थीको आकर्षण बर्सेनि थपिँदै गएको छ । अहिले कक्षा १० सम्म ५ सय ५० र प्लस टुमा एक हजार विद्यार्थी छन् । ‘हाम्रो व्यवहारिक र गुणस्तरीय शिक्षाले अभिभावकहरू सन्तुष्ट हुनुभएको छ । त्यही भएर हामीले पछाडि फर्केर हेर्नु परेको छैन’प्रिन्सिपल राजकुमार राईले भने । शैक्षिक क्षेत्रमा मात्र होइन, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा समेत यस विद्यालयले राम्रो सुवास चलाएको छ । यहाँ कक्षा १२ सकेर गएका विद्यार्थीहरूले चिकित्सा शास्त्र र इञ्जिनियरिङ विषयमा राम्रो अङ्क ल्याएर नाम निकाली अध्ययन गरिरहेका छन् । कतिपय विद्यार्थीहरूले राम्रो स्थानमा जागिर खाइरहेको प्रिन्सिपल राई बताउँछन । डिपो स्कुल खेलकुदको उर्वर भुमि समेत हो । पहिलो पाँचपटक भएको डिआइजिपि कप ४ पटक जितेको थियो भने एक पटक दोस्रो भएको थियो । धरानमा भएको मेयर कप स्कुल ओलम्पिकमा दुवै पटक च्याम्पियन भएको थियो । राष्ट्रपति कपमा यो विद्यालय च्याम्पियन नै भएको छ । बास्केटबलको राष्ट्रिय प्रतियोगितादेखि प्रदेश तथा जिल्ला स्तरीय प्रतियोगिताको उपाधि समेत जितेको इतिहास छ । विद्यालयले ललित अम्बर डिपो कप फुटबल तथा स्व। मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल प्रतियोगिता वार्षिक रुपमा आयोजना गर्दै आएको छ । सार्वजनिक गुठीन्तर्गत सञ्चालित यस विद्यालय गैरनाफामूलक संस्थाको रुपमा छ । सदाबहार उत्कृष्ट विजयपुर विजयपुर स्कुल धरान–१ लक्ष्मी मार्गमा छ । २०४३ सालमा स्थापना भएको यो स्कुल धरानमा मात्र नभइ पूर्वमै चर्चित छ । अहिले स्कुलमा १२ सयभन्दा बढी विद्यार्थी छन् । विजयपुर स्कुलको होस्टलमा २ सयभन्दा बढी विद्यार्थी छन् । विजयपुर स्कुल कक्षा १० सम्म धरान–१ मा सञ्चालित छ भने त्यहा भन्दा माथिल्ला कक्षाहरु धरान–१४ स्थित विजयपुरमा छ । ४ विगाहामा रहेको स्कुलमा ७५ जनाभन्दा बढी शिक्षक कर्मचारी छन् । ‘विजयपुर भनेको ब्राण्ड हो, अहिले पनि हाम्रो लोकप्रियता, उत्कृष्ट नतिजा र विद्यार्थी उत्तिकै छन्’ स्कुलका प्लसटु कोअर्डिनेटर निमा भुटिया भन्छन् । उनले विजयपुर स्कुल अहिले पनि उत्कृष्ट रहेको दाबी गरे । ५० को दशकमा लगातार ५ वटा वीरेन्द्र शिल्डको उपाधि जितेको स्कुल त्यसपछि पनि उही लयमा रहेको दाबी भुटियाको छ । त्यसबेला उत्कृष्ट नतिजा ल्याउने स्कुललाई वीरेन्द्र शिल्ड दिइन्थ्यो । अहिले पनि आफ्ना नानीबाबुलाई राम्रो स्कुल पढाउने भनेर पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, खोटाङ, इलाम, तेह्रथुम तथा झापा र मोरङदेखिका अभिभावकहरु विद्यार्थी लिएर विजयपुर स्कुलमा आउने गरेका छन् । विजयपुर स्कुलको गुणस्तर खस्किएको हल्लाले भने स्कुललाई केही प्रभाव पारेको छ । तर विद्यालयको नतिजा, खेलकुदमा पाएको सफलता, स्कुल स्तरभन्दा माथि विद्यार्थीले गरेको प्रगति हेर्ने हो भने पहिलाको भन्दा उत्कृष्ट भएको दाबी भुटियाको दाबी छ । प्लसटुमा मात्रै ५ सयभन्दा बढी विद्यार्थी अध्ययरत रहेको विजयपुर यो तहमा पनि उत्कृष्ट विद्यार्थीको रोजाइमा पर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा उत्कृष्ट लोटस धरानको लोटस विद्या विहारको आफ्नै शैली छ । विद्यार्थीलाई पढाउने मात्र नभइ संस्कारयुक्त शिक्षा दिनेदेखि समाजका लागि योग्य र सक्षम व्यक्ति बनाउने जिम्मेवारी विद्यालयलाई हुने प्रिन्सिपल गणेश श्रेष्ठको भनाइ छ । २०४७ सालमा स्थापना भएको यो विद्यालयले १५ ब्याचसम्म एसईई विद्यार्थी उत्पादन गरिसकेको छ । अहिले विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थी छन् । विद्यालयमा कम्प्युटर कक्षाको व्यवस्था छ भने ल्याबहरु, लाइब्रेरीको सुविधा छ । विद्यालयमा बोडर्स र डे बोडर्सको सुविधा पनि छ । ३३ जना शिक्षक कर्मचारी रहेको विद्यालयमा १० वर्षभन्दा बढी शिक्षण अनुभव भएका शिक्षकहरुको संख्या ५० प्रतिशत भन्दा माथि छ । अनुभवी तथा दक्ष शिक्षकबाट शिक्षण गरेको कारणले नै विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी प्रिन्सिपलको छ । पछिल्लो वर्ष एसईईमा २३ जना सहभागी थिए । उनीहरुमध्ये २ जनाले ए प्लस ग्रेड ल््याए भने अन्यले ए र बी प्लस ग्रेड ल्याएर विद्यालयले उत्कृष्ट नतिजा निकाल्यो । विद्यार्थीलाई पालो पालो गरेर नियमित ट्रेकिङमा लैजाने, विभिन्न स्थानमा शैक्षिक भ्रमणमा लैजाने गरिएको छ । त्यस्तै विद्यालयमा नै आन्तरिक रुपमा खेलकुद प्रतियोगिता, नृत्य तथा गायन प्रतियोगिता समेत वार्षिक रुपमा हुने गरेको छ । विद्यालय परिसरमा टेबलटेनिस, बास्केटबल तथा भलिबलको कोर्ट छ । जसमा विद्यार्थीहरु नियमित रुपमा प्रशिक्षण लिने गर्छन् । माउण्ट हर्मन एकेडेमी माउण्ट हर्मन एकेडेमी धरान–१८ स्थित क्याम गेटमा अवस्थित छ । एकेडेमी २०५४ सालमा स्थापना भएको हो । विद्यालयमा अहिले ५ सय विद्यार्थी र ३० जना शिक्षक कर्मचारी छन् । ६ कठ्ठा जग्गामा रहेको एकेडेमीमा टेबलटेनिस र ब्याडमिन्टन कोर्ट समेत छ । एकेडेमी शैक्षिक गुणस्तरमा अब्बल छ । गत वर्ष एसईईमा ३४ जना सहभागी भएका मध्ये ५ जना ए प्लस २ जना बि प्लस र बाँकी सबै ए ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेका हुन् । विशेष गरेर विद्यार्थीहरु अनुशासनमा उत्कृष्ट रहेको दाबी एकेडेमीका फाउण्डर तथा डाइरेक्टर अनुप योञ्जन तामाङको छ । विद्यालयमा विभिन्न क्लबहरु छन् । ग्रिन टिम, हर्मनिज किड्स क्लब, न्युजपेपर टिम, क्रिएटिभ कला टिम, साइन्स एण्ड टेक्नोलोजि टिम, स्काउट जस्ता विभिन्न क्लबहरु छन् । तिनीहरुले एक आपसमा सहकार्य गरेर काम गर्न सिक्ने गरेको तामाङले बताए । विद्यालयको ग्रिन टिमले हरियाली सम्बन्धी काम गर्दछ । त्यस्तै हर्मनिज किड्स क्लबले सबै खाले काम गर्छ भने न्युजपेपर टिमले वर्षमा तीनवटा भित्तेपत्रिका प्रकाशन गर्दछ । स्काउटका माध्यमबाट समाजसेवाको काम गरिरहेको छ भने विभिन्न वैदेशिक भ्रमणमा समेत विद्यार्थीहरु जाने गरेका छन् । माउण्ट हर्मनबाट गत वर्ष उत्तीर्ण भएर गएका ९ जना विद्यार्थी ए डिभिजन फुटबल खेलिरहेका छन् भने बि डिभिजन र विभिन्न क्लबमा फुटबल खेलिरहेका छन् । विद्यालयका निर्देशक तामाङ यसलाई उल्लेख्य सफलता मान्छन् ।         शब्द-केदार बस्नेत

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार