धरान पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित नौ जना पक्राउ

आइतबार, २३ कार्तिक २०८२

धरान : धरानस्थित एक पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको कुटपिटका कारण मृत्यु भएपछि केन्द्रका सञ्चालकसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–११ मङ्गलबारेमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत तेह्रथुम मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईको कुटपिटबाट मृत्यु भएको पुष्टि भएको हो।

केन्द्रभित्रको सिसी क्यामेरा फुटेजमा राईलाई पाता कसेर, कम्मरमा कम्ब्याट र डोरीले बाँधेर हातखुट्टा चल्न नसक्ने गरी लडाएको दृश्य फेला परेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। तर, गत मङ्गलवार उनको त्यहीँ मृत्यु भएको हो।

घटनापछि प्रहरीले केन्द्रका सञ्चालक धरान–८ का मणिराज राईसहित नौ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अन्यमा राकेश प्रधान, श्रवण राजधानी, निकेश सुनुवार, सुरेन लिम्बु, हस्तबहादुर विश्वकर्मा, बिरु लिम्बु, सचिन राई र विजय चौधरी रहेका छन्।

प्रहरीले सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार