‘बाँच्न चाहन्छु, तर आलमको त्रास छ’

सोमबार, २३ असार २०८२

 

काठमाडौं : ४२ वर्षीय भारतीय नागरिक गौरीशंकर चमारको अनुहार, छाती, हातपाखुरा देखि शरीरका अधिकांश भाग डढेको छ । दुवैतिरका कान चुँडिएका छन् । सहजरूपमा हेर्न पनि अप्ठ्यारो लाग्ने उनको हुलिया डरलाग्दो छ । तर उनीभित्र रहेको आत्मविश्वासले उनलाई काठमाडौंसम्म डोहोर्‍याएको छ । 

उनि २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटमा भएको बम विस्फोटका घाइते तथा प्रत्यक्षदर्शी हुन् । जुन घटना कांग्रेसका तत्कालिन नेता अफ्ताव आलमले गराएको दाबी गरिएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चमारले बम काण्डको बेलिबिस्तार सुनाए । उनी कसरी घटनामा परे, कसरी बाँचे र त्यसपछि के भयो भन्नेबारे पत्रकारहरूका अगाडि सविस्तार बताउँदा उनको दर्दनाक अभिव्यक्तिले सबैको आँखा रसाए ।

उनी भित्र भने एउटा त्रास अझै बाँकी छ । उनि बम काण्डका नाइके आलमले मारिदिन्छ कि भन्ने भयभित छन् । उनले घटनाका नाइके आलमलाई सफाइ दिने उच्च अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्दै न्यायको लागि अपिल समेत गरेका छन् । 

भारतको बिहार, सीतामढी घर भएका चमारले आलमको इँटाभट्टामा काम गर्दा घटनाको साक्षी बन्न पुगेका हुन् । घटना २०६४ चैत २७ को हो । बेलुकी करिब साढे ६ बजे रौतहटको राजपुर फरहदवास्थित कांग्रेसका तत्कालीन नेता शेख इद्रिशको गाईवस्तु बाँध्ने गोठघर अगाडि आइपुग्दा धेरै मानिसहरू थिए । सो गोठघरभित्र १५–१६ जना मानिस बसेर कुरा गर्दै थिए । गोठघरको ढोका खुला थियो ।

त्यहिबेला अचानक बम विष्फोट भएको ठूलो आवाज आयो । उनकै शब्दमा धमाका भयो । बमका टुक्रा, छर्राहरूले उनका दुवै कान, घाँटी, छाती समेतमा गम्भीर घाउचोट बनाए । रगत बग्न थाल्यो । विष्फोटनमा २–३ जना मानिसको मृत्यु नै भयो । अरू धेरै जना घाइते भए ।

पत्रकार सम्मेलनमा आफ्नो शरीरमा लागेको बमको चोट र पोलेको घाउ देखाउँदै उनले घटनाको विवरण सुनाउँदै उनले भने, ‘हप्ताको पैसा लिन मलाई बोलाइएको थियो । घरको ढोकाको छेउमा पुग्नासाथ बम पड्कियो । मेरो शरीरमा आगो लाग्यो,’ उनले भने, ‘आगो लागेपछि म चिच्याउँदै भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानीमा खसेपछि आगो निभ्यो र म फेरि ज्यान जोगाउन गहुँको खेततिर भागेँ। त्यहीँ म बेहोस भएँ ।’

उनले होस आउँदा भारतको सीतामढीमा ठेलामा रहेको पाएको बताए । चमारले घटनापछि आफ्नो शारीरिक अवस्था कमजोर भएको र काम पाउनसमेत कठिनाइ भएको गुनासो गरे ।

तीन महिनासम्म अस्पतालको कष्टकर बसाइ र उपचारमा साढे ३ लाख भारतीय रुपैयाँ खर्च भएको उनले सुनाए । ‘उपचारका लागि सरकारले घर बनाउन दिएको इँटासमेत बेच्नुपर्‍यो,’ उनले भावुक हुँदै भने, ‘तर आजसम्म अफताब आलम वा उसको कुनै मान्छेले मलाई के छ भनेर सोधेन, एक रुपैयाँ दिएन ।’

शरीरभरि पोलेको घाउका कारण उनी घाममा काम गर्न सक्दैनन् । काम पाए पनि शारीरिक कमजोरीका कारण केही दिनमै निकालिन्छन् । ‘म त एउटा तमासाजस्तो भएँ । जहाँ जान्छु, मान्छेहरू फोटो खिच्न थाल्छन्,’ उनले आफ्नो वर्तमान अवस्थाबारे दुखेसो पोख ।

प्रहरीमा बयान दिएपछि आलमका मान्छेहरूले आफ्नो घरमा गएर आमालाई धम्की दिएको पनि उनले खुलासा गरे । ‘उनीहरूले मेरी आमालाई भनेछन्, ‘तेरो छोरो अब गयो, दुई–चार वर्षपछि बाँच्दैन ।’

आलमलाई सफाइ दिने अदालतको फैसलाविरुद्ध लड्न उनी काठमाडौं आएका हुन् । ‘म सरकारसँग न्याय माग्न चाहन्छु । यस्तो अपराधीलाई छोड्नु हुँदैन, उसलाई कडाभन्दा कडा सजाय हुनुपर्छ,’ उनले सरकार र न्याय प्रणालीलाई गुहारे ।

आफ्नो जीवन तहसनहस बनाउने अपराधी खुला घुम्दा आफ्नो ज्यान जुनसुकै बेला जान सक्ने डरले उनलाई सताइरहेको छ ।

निर्वाचन प्रभावित पार्न बनाउँदै गरेको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई घटनाको प्रमाण नष्ट गर्न जिउँदै नजिकैको इँटाभट्टामा पोलेर मारेको आलममाथि आरोप लागेको थियो ।

लामो समयसम्म अनुसन्धान हुन नसकेको यो घटनामा प्रहरीले प्रमाण जुटाएर अभियोजन गरेपछि जिल्ला अदालतले आलमलाई दोषी ठहर गरेको थियो । तर, हालै उच्च अदालत वीरगञ्जले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको छ । तर, अदालतले गौरीशंकरको यो कुरा पत्याएन । प्रमाणका रूपमा पनि लिएन । बरू उनले अविश्वसनीय र कृत्रिम बयान विवरण अदालतमा दिएको भन्दै जाहेरी नै गलत घोषणा गरिदियो । यही फैसलापछि पीडितहरूले न्यायका लागि पुनः संघर्ष थालेका छन् ।

उनीसँगै इँटा उद्योगमा काम गर्ने सीतामढीकै ३२ वर्षीय नरेश राम, बिकाउ रामसमेत उपचार गराइरहेका रहेछन् । 

यति मात्र होइन, उच्च अदालतका न्यायाधीशहरूले गौरीशंकर बम विष्फोटमा परेको नभएर स्टोभ पड्केको हुनुपर्ने भनेका हुन् । किनभने, अस्पतालको कागजमा स्टोभ पड्केर घाइते भएको लेखिएको अदालतको दाबी छ ।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार