‘लम्की स्किन’ रोग प्रकोपः इलामका गाई भकाभक मर्दै

विहीबार, ०७ बैशाख २०८०
इलाम । इलामका किसानले पालेका गाई भकाभक मर्न थालेका छन् । ‘लम्कि स्किन’ नामक रोगका कारण किसानले पालेका गाई मर्न थालेका हुन् । गाईलाई ज्वरो आउने र शरिरका फोका देखा पर्ने लगायतका लक्षण देखा पर्छन् । पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा गाई मर्ने गरेको छ । जिल्लाको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिकामा यसको प्रकोप वढि छ । तर अन्य सबै पालिकामा यसको असर देखिएको छ । लैनो दुध दिने गाई नै मर्न थालेपछि किसानलाई घाटा लागेको छ । पशु पालेर नै घर खर्च चलाउने यहाँका अधिकांश परिवार यो रोगको प्रकोप वढ्न थालेपछि चिन्तित भएका छन् । इलाममा मात्र ५० हजारदेखि तीन लाखसम्म पर्ने गाईहरु छन् । महंगो मूल्यमा खरिद गरेर ल्याइएका गाईमा यस्ता रोगले आक्रमण गर्न थालेपछि किसानहरुलाई घर खर्च गर्न नै समस्या हुने गरेको छ । जिल्लाका अधिकांश स्थानमा केही समय देखी ‘लम्पी स्किन’ नामक रोग फैलिएको छ । यस्ता रोगले पशु मर्नथालेपछि किसान समस्यामा परेका हुन् । उपचार हुन समेत नसकेको किसानहरु बताउँछन् । केही पहिला मानिसमा कोरोना रोगझैँ पशुमा यसको संक्रमण फैलिन थालेको छ । पशु बिरामी पर्ने र मर्न थालेपछि जिल्लाका हजारौं किसान चिन्तामा छन् । गाईलाई ज्वरो आउने, शरीरभर फोका उठ्ने, तिनै फोका पाकेर कीरा पर्ने, खुट्टा सुन्निनेजस्ता लक्षण गाईमा देखिएको किसान बताउँछन । यस्ता लक्षण देखिएको केही दिनमा घाँस खान छाडेर पसारिने र मर्ने गरेको किसानको भनाई छ । करिब एक महिनायता यो रोगका कारण सयौँ गाई बिरामी परेका छन् भने दर्जनौ गाई मरेका छन् । यो रोग हावाकै माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाट समेत यो रोगको संक्रमण बढ्ने बताइएको छ । यो रोगको उपयुक्त औषधी र उपचारमा सरकारी क्षेत्रबाट चासो नराख्दा यस्तो समस्या बढेको बताइएको छ । यस रोगको संक्रमण फैलिएपछि इलाम नगरपालिकाले गाईहरुमा लम्फी स्किन डिजिजजस्तै लक्षण देखा परे नगरका पशुविज्ञसँग सम्पर्क राख्न सूचना जारी गरेको छ । रोङ गाउँपालिकाले विरामी भएका गाईहरुको उपचारमा आफुहरु जुटेको गाउँपालिकाले जनाएको छ । यो रोगको संक्रमण फैलिए पनि इलाममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनशक्ति विहीन छ । विगत साढे तीन महिनादेखि पशु प्राविधिक र कर्मचारी नहुँदा एक कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ । तीन महिनादेखि एक्लै कार्यालय सञ्चालन गरिरहेको कार्यालय सहयोगी टंक प्रसाद खतिवडा बताए । बिहान कुचो लगाउने देखि लिएर बोका सुँगुर खसी पार्ने काम पनि गर्नुपर्ने उनले जनाए । प्रयोगशाला, कार्यालय निवास, सहितको संरचना रहेको इलामको पशु सेवा विज्ञ केन्द्रमा रहेका विभिन्न उपकरण पनि त्यसै सञ्चालनमै नआई थन्किएका छन् । यहाँ रहेको कुटी काट्ने, साइलेज बनाउने, मिनिरल ब्लक बनाउने मेशिन र काउ सिड जस्ता उपकरण समेत प्रयोग विहीन बनेका छन् । यो रोगका कारण गाईमा समस्या आउँदा दुध उत्पादन घट्ने तथा किसानलाई लाखौँ रकम घाटा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार