काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाउनेहरूलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै गुरुङले विशेष महाधिवेशनको नाममा ‘फेक हस्ताक्षर’ ल्याउनेहरूको निहित स्वार्थ देखिएको दाबी गरे। उनले भने, “विशेष महाधिवेशनको माग गर्दै फेक हस्ताक्षर गर्नेहरूलाई अनुशासन समितिले कारबाही गरेर पार्टीबाटै निकाल्नुपर्छ।”
गुरुङको भनाइले काँग्रेसभित्रको विवाद थप चर्किएको छ। हाल काँग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको छ। सो मागमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन जुटाइएको दाबी गरिएको छ।
यता, केन्द्रीय नेताहरूबीच अहिले चुनाव अघि विशेष महाधिवेशन गर्ने वा पछि गर्ने भन्ने विषयमा तीव्र बहस चलिरहेको छ। पार्टीभित्र नेतृत्व परिवर्तन र नीतिगत दिशा निर्धारणका विषयमा आन्तरिक खिचातानी बढ्दै गएको छ।
प्रतिक्रिया