सिन्धुलीबाट एकाएक बेपत्ता हायु परिवारका १५ जना पोखरामा फेला

सोमबार, १२ साउन २०८२

पोखरा : सिन्धुलीबाट बेपत्ता भएको भनिएको हायु परिवारका सबै १५ सदस्य पोखराको गगनगौंडामा फेला परेका छन् । पोखराको माथिल्लो गौँडगौडा क्षेत्रमा बसोबास गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्कीका प्रहरी प्रमुख (एसपी) श्यामबाबु ओलियाका अनुसार, ती सबै जना पोखरामा मजदुरीको काम खोज्न आएका थिए । ‘हामी लेबर काम गर्ने हो, काम खोज्न पोखरा आएका हौँ,’ भनेर उनीहरूले प्रारम्भिक बयानमा बताएका छन् ।

उनीहरू स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेका थिए । प्रहरीले हाल सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याउने कार्य गरिरहेको छ । एसपी ओलियाका अनुसार, ‘उनीहरू पोखरामा १४–१५ दिन बस्ने योजनासहित सिन्धुलीबाट गाडी नै रिजर्भ गरेर आएका रहेछन् ।’

होटेलमा एक रात बसेर स्थानीयको घरमा बस्न गएका उनीहरूलाई प्रहरीले होटल छाडेको भोलिपल्टै फेला पारेको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट गत शुक्रवारदेखि हराएको भनिएको हायु परिवारको विषयमा स्थानीय तहले १६ जना बेपत्ता भएको जानकारी दिएको थियो । तर अनुसन्धानका क्रममा एक जना — सुजाता हायु — काठमाडौँमा श्रीमान्‌सँग बसिरहेको खुलेपछि प्रहरी खोजी १५ जनामै केन्द्रित भएको थियो ।

फेला परेका १५ जनाको सूची यस प्रकार छ :
१. उर्मिला हायु (५२ वर्ष, आमा)
२. कमला हायु (२७ वर्ष, जेठी छोरी)
३. कोमल माया हायु (२३ वर्ष, माइली बुहारी)
४. उषा हायु (१९ वर्ष, छोरी)
५. अस्मिता हायु (१८ वर्ष, छोरी)
६. राजु हायु (२९ वर्ष, जेठो छोरो)
७. हिमाल हायु (२४ वर्ष, माइलो छोरो)
८. लाल बहादुर हायु (१६ वर्ष, साइँलो छोरो)
९. वेग बहादुर हायु (१४ वर्ष, छोरा)
१०. लक्ष्मण हायु (११ वर्ष, छोरा)
११. सुवर्ण हायु (१२ वर्ष, छोरा)
१२. ओम कुमारी हायु (१० वर्ष, छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु
१५. शान्ता हायु (१५ वर्ष, छोरी)

प्रहरीले उनीहरू पोखरामा आउनु अघि कुनै आपराधिक नियत थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान अघि बढाएको छ । स्थानीय बासिन्दालाई पनि खबर नगरी एकसाथ परिवार नै बेपत्ता भएको घटनाले पहिल्यै तनाव सिर्जना गरेको थियो । हाल उनीहरू सबैको अवस्था सामान्य रहेको र प्रहरीको निगरानीमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार