शिक्षामा कमजोर छैन उत्तरी मोरङः यी हुन् उत्कृष्ट १० विद्यालय

विहीबार, ०७ बैशाख २०८०
मोरङ l कुनै बेला थियो, अलि गुणस्तरयुक्त पढाइका लागि सुविधासम्पन्न स्कुलमा पढ्नका लागि उत्तरी मोरङबाट विराटनगर, इटहरी, धरान वा झापा पनि पुग्नु पथ्र्यो । स्थानीय स्तरमा स्कुल नभएका होइनन् तर अलि व्यवस्थित र सुविधासम्पन्न नहुँदा अभिभावकले आफ्ना सन्तानलाई अन्यत्र पठाउने सोच्थे । विद्यार्थी पनि अरुतिर गएर पढ्न पाए राम्रो हुन्थ्यो भन्ने ठान्थे । तर अब अवस्था त्यस्तो छैन । उत्तरी मोरङका विभिन्न ठाउँमा व्यवस्थित र सुविधासम्पन्न स्कुलहरु सञ्चालनमा छन् । पढाइको गुणस्तर राम्रो, अतिरिक्त क्रियाकलापमा अब्बल अनि दक्ष जनशक्ति भएकाले अचेल यस क्षेत्रका अभिभावक र विद्यार्थी आफ्नै गाउँ–ठाउँका विद्यालयप्रति आकर्षित भएका छन् । उत्तरी मोरङमा सञ्चालित विभिन्न विद्यालयहरुमध्ये पढाइको गुणस्तर, नतिजा, अतिरिक्त क्रियाकलापमा सफलता, भौतिक पूर्वाधार, जनशक्तिलगायत पक्षलाई ध्यानमा राखेर हामीले मूल्यांकन गर्दै केही उत्कृष्ट विद्यालयहरुबारे यहाँ चर्चा गरेका छौं । गुरुकुल पाठशाला  उत्तरी मोरङमा रहेर उत्कृष्ट शैक्षिक गतिविधि गरिरहेका संस्थागत विद्यालयमध्ये एक हो– गुरुकुल पाठशाला । २०५६ मा स्थापित भए पनि औपचारिक रूपमा पठन पाठन भने २०७५ सालबाट मात्र सुरु गरिएको विद्यालयका सञ्चालक तथा सहायक प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिए । प्रि–प्राइमरीदेखि कक्षा ६ सम्मको अनुमति लिँदै स्थापना भएको विद्यालयमा सुरुमा १०८ जना विद्यार्थी थिए । २०७९ सालबाट गुरुकुल पाठशालाले एसईईमा सहभागिता जनाउन थालेको हो । यस वर्षको एसईईमा १२ जना विद्यार्थी सहभागी रहेको विद्यालयका सञ्चालक तथा सहायक प्रधानाध्यापक गौतमले जानकारी दिए । हाल विद्यालयमा ७ सय विद्यार्थी अध्ययनरत छन् । पठनपाठन उत्कृष्ट भएका कारण पनि एसईई परीक्षामा शतप्रतिशत उत्कृष्ट नतिजा आउनेमा विद्यालय आशावादी देखिएको छ । बेलबारी नगरपालिका वडा नम्बर ३ मा रहेको यस विद्यालयमा संस्कार र संस्कृति सहितको पठनपाठन भन्ने भनाइलाई मूल मन्त्र बनाएर शिक्षण सिकाइ क्रियाकलाप गरिँदै आएको छ । व्यावहारिक शिक्षालाई विशेष जोड दिने गरेको यस विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिने गरेको छ । बेलवारी नगरपालिकाले प्रथम नागरिकका रूपमा घोषणा गरेको र नगरपालिकाको निर्णयलाई सम्मान गर्दै धिमाल समुदायका विद्यार्थीलाई २५ प्रतिशत छुटमा अध्ययन अध्यापन गराइने व्यवस्था मिलाएको छ । यस्तै २ जना एकै घरका विद्यार्थी अध्ययनका लागि आउँदा १ जनालाई ५० प्रतिशत छुट दिने गरिएको छ । छोरालाई बोर्डिङ र छोरीलाई सरकारी विद्यालयमा अध्यापन गराउने परिपाटीको अन्त्य गर्ने उद्देश्यसहित छात्रा छात्रवृत्तिको व्यवस्था गरिएको छ, जसअन्तर्गत २ जना एकै परिवारका छात्राहरूलाई मासिक शुल्कमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको सहायक प्रधानाध्यापक गौतमले जानकारी दिए । आदर्श सेकेन्डरी बोर्डिङ स्कुल यस क्षेत्रको अर्को उत्कृष्ट आदर्श सेकेन्डरी बोर्डिङ स्कुल हो । २०६९ मा स्थापित यो विद्यालयमा त्यस बेला २ सय ५० विद्यार्थी थिए भने हाल ९ सयभन्दा धेरै विद्यार्थी रहेको विद्यालयका अध्यक्ष नरबहादुर धिमालले जानकारी दिए । आदर्श सेकेन्डरी बोर्डिङ स्कुलबाट अघिल्लो शैक्षिक वर्षमा ४० जनाले एसईई दिएका थिए भने २०७९ सालको एसईईमा ३२ जना विद्यार्थी थिए । आठौँपटक एसईई परीक्षामा सहभागी भएको यस विद्यालयको विगतको नतिजा उत्कृष्ट रहेका कारण यस पटकको एसईईमा मा पनि सर्वोत्कृष्ट नतिजा आउने विश्वास विद्यालयको छ । मन्टेश्वरी पद्धतिमा रहेर अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयमा विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्टाफ नर्सको समेत व्यवस्था गरिएको छ । यस विद्यालयमा लेटाङ नगरपालिका, केराबारी गाउँपालिका, राजा रानी, बुधबारे, भाउन्ने, विराटचोक लगायतका क्षेत्रबाट विद्यार्थी अध्ययनका लागि आदर्श सेकेन्डरी बोर्डिङ स्कुल आउने गरेको विद्यालयका अध्यक्ष धिमालले जानकारी दिए । बेलवारीमा आदर्शले अन्य विद्यालयभन्दा फरक र उत्कृष्ट पहिचान बनाउन सफल भएको धिमालको भनाई छ । सीमित विद्यार्थी मात्रै राखेर अध्ययन अध्यापन गरिने भएका कारण पनि विद्यालयको पठनपाठन उत्कृष्ट रहेको उनको भनाई छ । यो शैक्षिक सत्रबाट नृत्य, संगीत, फुटबल, कराते र भलिबल गरी ५ वटा अतिरिक्त विधालाई छनोट गरिएको र उक्त ५ वटा विधामध्ये हरेक विद्यार्थीले एउटा विधामा सहभागिता जनाउने पर्ने नियम सुरु गरिएको छ । हरेक विधामा विषयगत शिक्षकको व्यवस्था गरिएको छ । अतिरिक्त क्रियाकलापमा यसअघि नै उत्कृष्ट नतिजा निकाल्दै आएको यस विद्यालयले नगर तथा जिल्ला स्तरबाट आयोजना हुने विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाउँदै उत्कृष्ट नतिजा निकाल्न सफल भएका धेरै उदाहरणहरू रहेको धिमालको भनाई छ । के. यु. एकेडेमी उत्तरी मोरङका उत्कृष्ट विद्यालयमध्ये केयु एकेडेमी एकेडेमी पनि एक हो । केराबारी गाउँपालिकामा रहेको यस विद्यालयको स्थापना २०६४ सालमा भएको थियो । देबकुमार नेपालले स्थापना गरेको यो विद्यालयले शिक्षण सिकाइ क्रियाकलापपा छुट्टै छाप छाड्न सफल भएको छ । विद्यालयमा हाल ८ सय २० भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक समिर सुबेदीले जानकारी दिए । अघिल्लो वर्षमा ३२ जना विद्यार्थीलाई एसईईमा सहभागी गराएको के यु एकेडेमीले २०७९ को एसईईमा ३६ जना विद्यार्थीलाई सहभागी गराएको छ । विद्यालयमा शिक्षक शिक्षिका सहित ३९ जना कर्मचारी रहेको प्रधानाध्यापक सुवेदीले जानकारी दिए । आधुनिक प्रविधिको प्रयोगबाट शिक्षण सिकाइ गर्दै आएको यस विद्यालयले सम्पूर्ण कार्य डिजिटल प्रविधिबाट नै गर्दै आएको छ । विभिन्न समयको नतिजाहरुमा पटकपटक केराबारी गाउँपालिका प्रथम बन्न सफल यो विद्यालय संस्थागतअन्तर्गत प्रमाणपत्र तहको अध्ययन अध्यापन हुने गाउँपालिकाकै एकमात्र विद्यालय रहेको प्रधानाध्यापक सुवेदीले जानकारी दिए । नयाँ शैक्षिक सत्रबाट प्रमाणपत्र तहमा कम्प्युटर साइन्सको पठनपाठन गर्ने तयारी विद्यालयले गरेको छ । विद्यालयले प्रत्येक शुक्रवार विभिन्न कार्यक्रम तथा खेल प्रतियोगिताको आयोजना गर्ने गरेको छ । शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य लिएको यस विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको भनाई छ । अतिरिक्त क्रियाकलापहरू अन्तर्गत नृत्य, फुटबल खेल, हाजिर जवाफ प्रतियोगिता, वक्तृत्वकला लगायतका विभिन्न पालिका तथा जिल्लास्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । विभिन्न समयमा शिक्षक शिक्षिकाहरूलाई आवश्यकताका आधारमा तालिमको व्यवस्था समेत गर्ने गरिएको प्रधानाध्यापक सुवेदीको भनाई छ । एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुल पथरी नगरपालिकाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान गर्ने संस्थागत विद्यालयमा एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुल अग्रपंक्तिमा पर्छ । २०४३ सालमा स्वर्गीय सिएम कन्दङ्वाको पहलमा स्थापना भएको यस विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय पठनपाठन गर्दै आएको छ । कक्षा ४ सम्मको अनुमति प्राप्त गर्दै करिब ३० जना विद्यार्थी लिएर स्थापना भएको एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुलमा हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । विद्यालयमा हाल १२ सय ५० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । २०७९ सालको एसईईमा यस विद्यालयबाट ५८ जना विद्यार्थी सहभागी रहेको विद्यालयका प्रधानाध्यापक रविन कन्दङ्वाले जानकारी दिए । यस अघिको एसईई तथा पहिले एसएलसी रहँदा पनि उत्कृष्ट नतिजा निकाल्न यो विद्यालय सफल भएको थियो । २०६८ सालको एसएलसी परीक्षामा यही विद्यालयका विद्यार्थीी विवेक कोइराला ९० दशमलव ५ प्रतिशत अङ्क ल्याएर उत्तीर्ण भएका थिए । यस्तै दोस्रो र तेस्रो हुने विद्यार्थीहरूले पनि ८९ देखि ८८ प्रतिशतसम्म प्राप्त गर्न सफल भएका थिए । २०६९ सालको एसएलसी परीक्षामा एक विद्यार्थी ९२ दशमलव ५ प्रतिशत अङ्क ल्याउन सफल भएका थिए । विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीसहित विद्यालयलाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक कन्दङ्वाले जानकारी दिए । सोही समय दीक्षा न्यौपानेले र आस्मा पोखरेलले पनि क्रमशः ९० दशमलव ५ प्रतिशत र ९० प्रतिशत अङ्क प्राप्त गर्न सफल भएका थिए । यस्तै २०७४ सालको एसईईमा तत्कालीन प्रदेश १ ९कोशी० बाट ४ जनाको ४ जिपिए आएकामा दुईजना एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुलकै विद्यार्थीले ल्याउन सफल भएको प्रधानाध्यापक कन्दङ्वाले जानकारी दिए । विद्यालयले अतिरिक्त क्रियाकलापका लागि पनि विषयगत शिक्षकहरूको व्यवस्था गरेको छ । प्रविधियुक्त अध्ययन अध्यापनलाई विशेष जोड दिने गरेको यस विद्यालयले २०७६ सालदेखि हरेक वर्ष विद्यालयका संस्थापक स्वर्गीय सिएम कन्दङ्वाको स्मृतिमा समाजमा सकारात्मक भूमिका खेल्ने विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने गरेको छ । २०७६ सालमा वरिष्ठ लोकगायक एलपी जोशी र साहित्यकार धनकुटे कान्छालाई सम्मान गरिएको थियो । त्यस पछिका २ वर्ष कोरोनाका कारणले कार्यक्रम गर्न असमर्थ भएको र २०७९ सालमा गरिएको कार्यक्रममा प्रा। डा। गोविन्दराज भट्टराईलाई एक लाख एक हजार नगदसहित सिएम कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको थियो । यसैगरी, सङ्गीतकार अनिल फागोलाई ५१ हजार नगद सहित सिएम कन्दङ्वा युवा राष्ट्रिय प्रतिभा सम्मान र ११ हजार नगदसहित पत्रकार अर्जुन राईलाई सुशीला कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान गरिएको प्रधानाध्यापक कन्दङ्वाले जानकारी दिए । बाल्मीकि मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुल अभिभावक र विद्यार्थीको ध्यान तानिरहेको यस क्षेत्रको अर्को विदालय हो– बाल्मीकि सेकेन्डरी बोर्डिङ स्कुल । २०५४ सालमा स्थापित यस विद्यालयले आफ्नो छुट्टै इतिहास बनाउन सफल भएको छ । १ सय २० जना विद्यार्थीलाई लिएर स्थापना भएको विद्यालयमा हाल १२ सय ५० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्मको पठनपाठन भइरहेको विद्यालयका प्रबन्ध निर्देशक नोवल किशोर खनालले जानकारी दिए । अघिल्ला शैक्षिक सत्रहरूमा उत्कृष्ट तथा उदाहरणीय नतिजा निकाल्दै आएको विद्यालयले यस पटकको एसईईमा पनि उत्कृष्ट नतिजा निकाल्ने विश्वास विद्यालयले लिएको छ । शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य लिएको यस विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा पनि सफलता पाउँदै आएको छ । विभिन्न समयमा हुने नृत्य, फुटबल, हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला जस्ता नगर तथा जिल्लास्तरीय प्रतियोगिताहरूमा यो विद्यालय उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै आएको यस विद्यालयले प्रत्येक कक्षाकोठामा आधुनिक प्रविधि जडान गरी पठनपाठन गर्ने गरेको प्रबन्ध निर्देशक खनालले जानकारी दिए । आउने शैक्षिक सत्रबाट पाठ्यपुस्तकका साथै विद्यार्थीलाई सुहाउँदो सामाजिक व्यवहारका कुराहरू, संस्कारका कुराहरू, संस्कृतिका कुराहरू, मर्यादा, नेपालीपन जस्ता पक्षबारे विज्ञको उपस्थितिमा छुट्टै कक्षा सञ्चालन गर्ने तयारी गरिएको विदालयले जनाएको छ । नयाँ प्रविधि प्रयोगलाई उच्च प्राथमिकता दिएर सिकाइलाई प्रभावकारी बनाउने योजना स्कुलले बनाएको छ । वाल्मीकि सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गरेका धेरै विद्यार्थीले नेपालका विभिन्न सरकारी तथा निजी क्षेत्रमा उच्च पदमा रहेर काम सम्हाल्न सफल भएको प्रबन्ध निर्देशक खनालले बताए । व्यावहारिक शिक्षा नै अहिलेको आवश्यकता रहेको र सोही कुरालाई मध्यनजर गर्दै शिक्षण सिकाइ क्रियाकलाप गरिने भएका कारण पनि आफूहरुको स्कुल अब्बलमध्येको एक रहेको उनले बताए । सुबिजिमुर सेकेन्डरी बोर्डिङ स्कुल सुन्दरहरैँचा नगरपालिकाका उत्कृष्ट संस्थागत विद्यालयहरूमा पर्छ, सुबिजिमुर सेकेन्डरी बोर्डिङ स्कुल । विद्यालयको नाम नै विशेषतायुक्त छ । सुमनको सु, विवेकको वि, जीवनको जी, मुनाको मु र रजिताको र अर्थात् यी ५ नामको पहिलो अक्षरलाई लिएर उनीहरूको स्मृतिमा यो विद्यालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द कार्कीले जानकारी दिए । यो विद्यालयको स्थापना २०५१ सालमा भएको थियो । सुन्दरहरैँचा वडा नम्बर १२ मा रहेको यस विद्यालयमा हाल ११ सय ८० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । अघिल्लो एसईईमा ६६ जना विद्यार्थी सहभागी गराएको सुबिजिमुर सेकेन्डरी बोर्डिङ स्कुलले २०७९ मा ६० जना विद्यार्थीलाई सहभागी गराएको थियो । शिक्षक–शिक्षिकासहित ५५ जना कर्मचारी रहेको यस विद्यालयमा विद्यार्थीको सहजताका लागि ४ वटा स्कुल बस सञ्चालन गरिएको छ । प्राविधिक पक्षहरूसँग नजिक रहेर शिक्षण सिकाइ गर्ने गरेका कारण पनि विद्यालयको पठान पाठन उत्कृष्ट रहेको प्रधानाध्यापक कार्की बत्ताउँछन् । विद्यालय राष्ट्रलाई आवश्यक पर्ने म्यानपावर उतपादनमा दक्ष रहेको र सो कुरा विगतका नतिजाहरूले पनि प्रष्ट पारिसकेको प्रधानाध्यापक कार्कीको भनाई छ । विद्यालयले शैक्षिक क्षेत्रमा आवश्यक पर्ने कुनै पनि कुरामा कमी कमजोरी नगरी उत्कृष्ट र अनुभवी शिक्षक शिक्षिकाहरूबाट अध्ययन अध्यापन गर्दै आएको छ । शैक्षिक गतिविधिसँगै विद्यार्थीलाई अनुशासित बन्न सिकाउने र सफल र सक्षम नागरिक बन्न उत्प्रेरणा गर्दै शिक्षण सिकाइ क्रियाकलाप गरिरहेका कारण पनि सुबिजिमुर सेकेन्डरी बोर्डिङ स्कुल मोरङ जिल्लाकै उत्कृष्ट विद्यालयहरू मध्यको एक रहेको विद्यालयका प्रधानाध्यापक कार्कीले बताए । ब्राइटफ्युचर सेकेन्डरी बोर्डिङ स्कुल मोरङको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गर्न सफल संस्थागत शैक्षिक संस्थाहरू मध्यको एक ब्राइटफ्युचर सेकेन्डरी बोर्डिङ स्कुल पनि हो । २०४८ सालमा सोमराज राईबाट स्थापना भएको यस विद्यालयले स्थापनाको झन्डै ३२ वर्ष लाग्दै गर्दा छुट्टै पहिचान बनाउन सफल भएको छ । विद्यालयमा २०५६ सालमा नयाँ व्यवस्थापन भित्रिएको थियो । त्यस बेला १ सय २५ जना विद्यार्थी रहेको विद्यालयमा हाल ११ सय ५६ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक टिकाराम ढकालले जानकारी दिए । २०७९ सालको एसईईमा ५८ जना विद्यार्थी सहभागी भएका थिए । विगतमा उत्कृष्ट नतिजा निकाल्दै आएकाले विद्यालयले यसपटक पनि उत्कृष्ट अङ्कका साथ सबै विद्यार्थीहरूलाई एसईई उत्तीर्ण गराउने विश्वास लिएको छ । विद्यालयमा शिक्षक शिक्षिका सहित ७६ जना कर्मचारी छन् भने ४ वटा स्कुल बस सञ्चालनमा छन् । सुन्दर हरैँचा नगरपालिका ८ नम्बर वडामा अवस्थित यस विद्यालयमा अध्ययन तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक भौतिक पूर्वाधारहरू सुविधायुक्त रहेको विद्यालयका प्रधानाध्यापक ढकाल बताउँछन् । बाल मनोवैज्ञानिक पद्धतिलाई अँगालेर पठनपाठन गराइने यस विद्यालयमा विद्यार्थीको भावना, रुचिअनुसार अध्ययन अध्यापन गराउने गरिएको छ । अतिरिक्त क्रियाकलापका लागि पनि छुट्टाछुट्टै कक्षा कोठा तथा विषयगत अनुभवी शिक्षक शिक्षिकाहरूको व्यवस्था गरिएको छ । काठमाडौँको लावण्य इन्टरनेश्नल नामक शिक्षण संस्थासँगको सहकार्यमा पूर्वप्राथमिक तहका कक्षाहरूलाई मन्टेश्वरी विधिबाट अध्यापन गरिँदै आएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरूलाई सामाजिक लगानी कोषमा सूचीकृत गरिएका कारण शिक्षक शिक्षिकाहरूको स्थायित्वमा उक्त कुराले उत्तिकै भूमिका खेल्ने गरेको छ । सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुल सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुल पनि विद्यार्थी र अभिभावकको ध्यान तान्न सफल बनेको छ । २०५१ सालबाट सञ्चालनमा आएको यो विद्यालयले युकेजी कक्षाबाट सुरु गरेको थियो । २९ वर्षअघि सुरुवात गर्दा विद्यालयमा २९ जना विद्यार्थी रहेको विद्यालयका संस्थापक समेत रहेका प्रधानाध्यापक अर्जुन बस्नेतले जानकारी दिए । हाल कक्षा १२ सम्मको अध्ययन हुने यस विद्यालयमा १३ सय ८० भन्दा धेरै विद्यार्थी छन् । २०७९ सालको एसईई परीक्षामा ४९ जान विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए । सुन्दर हरैँचा वडा नम्बर १० मा अवस्थित यस विद्यालयमा शिक्षक तथा शिक्षिकाहरू सहित करिब ९७ जना कर्मचारी छन् । विद्यार्थीलाई विद्यालय र घर आउजाउ गर्नाका लागि ६ वटा बस सञ्चालन गरिएको छ । आधुनिक प्रविधिमा रहेर अध्ययन गराउने यस विद्यालयमा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै समय दिने गरिएकोे छ । विद्यार्थीको प्रतिभालाई गहन अध्ययन गरेर बाहिर ल्याउनका लागि अभिप्रेरित गर्दै विद्यालयले विभिन्न प्रतियोगिताहरू गराउने गरेको छ । सानोदेखि ठूला सबै कक्षा कोठामा आधुनिक प्रविधि जडान गरिएको र सोही प्रविधिको प्रयोगबाट अध्ययन गराइने गरेका कारण विद्यालयले कक्षा कोठालाई चक डस्टरका साथै मार्कर रहित बनाएको प्रधानाध्यापक बस्नेतको भनाई छ । सबै कक्षाहरूमा इन्टरएक्टिभ प्यानल बोर्डको प्रयोग गरेर पढाउने गरिएको बताउँदै प्रधानाध्यापक बस्नेतले कोसी प्रदेशमा नै पहिलो पटक यस्तो प्रविधि भित्र्याउने सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुल पहिले रहेको दाबी समेत गरे । काठमाडौँको लावण्य इन्टरनेश्नल नामक शिक्षण संस्थासँगको सहकार्यमा मन्टेश्वरी विधिको प्रयोगबाट अध्ययन अध्यापन गरिँदै आएको छ भने विद्यालयका शिक्षक शिक्षिकाहरूलाई अवश्यकताका आधारमा विभिन्न तालिमहरुमा सहभागी गराउने गरिएको छ । नेपाली भाषा कला तथा संस्कृतिलाई पनि विशेष जोड दिएर अध्यापन गराइने यस विद्यालयमा विभिन्न समयमा आफ्नो भेषभूषा तथा संस्कृति झल्किने पहिरन लगाएर विद्यालयमा उपस्थित गराउने गरिएको छ । यसले एक अर्काको परम्परा र संस्कृति पहिचान गर्न विद्यार्थीलाई मद्दत पुग्ने गरेको छ । कम्प्युटर ल्याब, मन्टेश्वरी ल्याब, साइन्स ल्याब, होटेल म्यानेजमेन्ट ल्याब लगायतका विषयका छुट्टाछुट्टै सुविधा सहितका कक्षा कोठाहरू उपलब्ध छन् । अतिरिक्त क्रियाकलापअन्तर्गत लोक नृत्य प्रतियोगितामा नेपाल प्रथम बन्न सफल यस विद्यालयले नगर तथा जिल्ला स्तरबाट हुने विभिन्न प्रतियोगितामाहरूमा उत्कृष्ट बनेका धेरै उदाहरण छन् । जुपिटर सेकेन्डरी बोर्डिङ स्कुल सुन्दर हरैँचा नगरपालिकामा रहेर उत्कृष्ट शैक्षिक गतिविधि प्रस्तुत गर्दै आएका विद्यालयको सूचीमो जुपिटर सेकेन्डरी बोर्डिङ स्कुल पनि पर्छ । २०५० सालमा स्थापित यस विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विनोद सुब्बाले स्थापना गरेको यस विद्यालयमा २०५७ सालबाट नयाँ व्यवस्थापन आएपछि सोही व्यवस्थापनले हालसम्म विद्यालय सञ्चालन गर्दै आएको छ । २०५७ सालमा नयाँ व्यवस्थापनले विद्यालय लिँदै गर्दा १ सय ६८ जना विद्यार्थी रहेकोमा हाल यस विद्यालयमा एक हजार भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको प्रधानाध्यापक हरिशचन्द्र ढकालले बताए । विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । २०६१ सालबाट एसईई ९तत्कालीन एसएलसी० परीक्षामा सहभागिता जनाएको यस विद्यालयबाट हालै सम्पन्न २०७९ सालको एसईई परीक्षामा ६५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ गछियामा रहेको यस विद्यालयमा शिक्षक शिक्षिका सहित ४८ जना कर्मचारी छन् । आधुनिक प्रविधिको नजिक रहेर अध्ययन अध्यापन गराउँदै आएको यस विद्यालयले विद्यार्थीको मनोविज्ञान अध्ययन गरेर आवश्यकताका आधारमा अध्ययन अध्यापन गराउने गरेको छ । विभिन्न विधाका अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले उत्तिकै सफलता हात पारेको छ । अनुभवी शिक्षक शिक्षिकाहरूबाट अध्यापन गराउने गरेको यस विद्यालयको भौतिक पूर्वाधार पनि सुविधासम्पन्न रहेको प्रधानाध्यापक ढकालले जानकारी दिए । विद्यार्थीको सिकाइलाई मध्यनजर गर्दे आवश्यकता अनुसार विभिन्न तालिमहरू सञ्चलन हुँदै आएकोमा आउने शैक्षिक वर्षमा यसलाई निरन्तरता दिइने भएको छ । प्रविधि प्रयोगबाट शिक्षण सिकाइ गर्दै आएको विद्यालयले पारिवारिक वातावरणमा पठनपाठन गर्ने गरेको छ । शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य लिएको यस विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको ढकालको भनाई छ । मदरल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुल सुन्दरहरैँचा नगरपालिकामा चर्चित अर्को उत्कृष्ट संस्थागत विद्यालय हो– मदरल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुल । २०५१ सालमा स्थापना भएको यस विद्यालयले सुरुमा कक्षा ५ सम्मको अनुमति लिँदै पठनपाठन सुरु गरेको थियो । करिब ४० जना विद्यार्थीबाट सुरु भएको यस विद्यालयले स्थापनाको करिब २८ वर्ष बितिसक्दा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । २०७९ सालको एसईई परीक्षामा मदरल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुलबाट २१ जना विद्यार्थीले सहभागिता जनाएको संस्थापक प्रधानाध्यापक राम दाहालले बताए । यस अघिको शैक्षिक सत्रहरूमा उत्कृष्ट नतिजा निकाल्न सफल यस विद्यालयले यस पटकको एसईईमा पनि उत्कृष्ट उल्लेखनीय नतिजा निकाल्ने विश्वास लिएको छ । शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य लिएको विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा पनि उल्लेख्य प्रगति गर्दै आएको छ । अतिरिक्त क्रियाकलापहरू अन्तर्गत नृत्य, फुटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला लगायतका विभिन्न नगर तथा जिल्ला स्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको विद्यालयले जनाएको छ । तालिमप्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण गराउँदै आएको यस विद्यालयले नयाँ प्रविधिे प्रयोगलाई उच्च प्राथमिकता दिएर सिकाइलाई प्रभावकारी बनाउने योजना बनाएको छ । विद्यार्थीको मनोविज्ञान अध्ययन गरेर क्षमता अनुसारको शिक्षामा जोड दिने यस विद्यालयले अभिभावकत्व जिम्मेवारी समेत ग्रहण गर्ने गरेको छ ।                                                                                                                                               शब्द- मनोज दाहाल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार