ठमेलमा ‘चक्रे मिलन’को बर्थडे पाटीमा प्रहरीको विशेष अप्रेसन : मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरु पक्राउ

शुक्रबार, १६ साउन २०८२
तस्बिर : फाइल

रमेश पौडेल

काठमाडौँ : काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रमा बिहीबार राति प्रहरीले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

कुख्यात ‘चक्रे मिलन’को जन्मदिनको अवसरमा आयोजना गरिएको पाटीमा विभिन्न समूहका गुन्डा भेला भएको सूचनाका आधारमा प्रहरीले मध्यरातपछि विशेष अप्रेसन सञ्चालन गरेको हो।

काठमाडौँ प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सादा पोसाकमा अप्रेसन चलाएर दर्जनौँ शङ्कास्पद व्यक्ति पक्राउ गरेको छ। प्रहरीले घटनास्थल वरपर घेराबन्दी गरेर गुण्डागर्दीमा संलग्न मानिएकालाई नियन्त्रणमा लिएको जनाएको छ।

एक उच्च प्रहरी अधिकारीका अनुसार, ‘विशेष सूचनाका आधारमा अप्रेसन चलाइएको हो। दर्जनौँ व्यक्तिहरू पक्राउ परेका छन् र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।’

यस क्रममा लामो समयदेखि प्रहरी निगरानीमा रहेका युवराज गुरुङ उर्फ ‘सानुभाइ’ पनि पक्राउ परेका छन्।  साउन १५ को बिहान ३ बजे ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

नुवाकोटको ककनी गाउँपालिका–५ का ३३ वर्षीय सानुभाइ टोखाको सूर्यदर्शन हाइटमा बस्दै आएका थिए। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए।

उक्त पाटीमा काठमाडौँका विभिन्न अपराध समूहका सदस्यहरूको बाक्लो उपस्थिति थियो। 

काठमाडौँका एसएसपी विश्व अधिकारीले गुण्डागर्दी नियन्त्रणका लागि बिहीबार रातभर सक्रिय रूपमा अपरेसन चलाएका थिए।

प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले भने, “अवाञ्छित गतिविधिमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।”

रेस्टुरेन्ट र रात्रि क्लबहरूमा झैझगडा गर्ने र हप्ता असुल्ने गुनासो बढेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध विशेष अपरेसन चलाएको थियो।

पक्राउ परेका व्यक्तिहरूमाथि हातहतियार, डर त्रास देखाएर रकम असुली, फिरौती, बल प्रयोग र सङ्गठित अपराधलगायतको आशङ्कामा अनुसन्धान थालिएको छ। प्रहरीले आवश्यक अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार