इटहरी : विश्व बैंक (वर्ल्ड बैंक)को ७३ करोडभन्दा बढीको लगानीमा निर्माण भइरहेको इटहरीको तालतलैया सडक खण्डमा सुरुआती चरणमै चरम लापरबाही देखिएको छ ।
भर्खरै कालोपत्र गरिएको उक्त सडकमा पानी जम्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् । निर्माण प्रक्रिया पूर्ण नहुँदै सडकको सतहमा पानी जम्न थालेपछि गुणस्तरप्रति प्रश्न उठ्न थालेको छ । त्यति मात्र नभएर सडकका दायाँबायाँ बनाइएका ड्रेनसमेत कामै नलाग्ने अवस्थाका छन् । जसका कारण पानी पर्दा ड्रेनबाट चुहिएर जान थालेको छ ।
इटहरी उपमहानगरपालिकाका– २, ३ र ४ छोएर तालतलैया गेट नजिकैको भेटघाट चौक हुँदै बरगाछीसम्म निर्माण भइरहेको सडकलाई इटहरीकै गौरवको आयोजनाको रूपमा हेरिएको छ । साइकल लेनसहित अत्याधुनिक सुविधा सम्पन्न हुने दाबी गरिएको सडकको लापरबाहीपूर्ण निर्माणले स्थानीयको अपेक्षामा धक्का लागेको छ ।
विश्व बैंकको ७३ करोड ८० लाख १२ हजार ४ सय ७६ रुपैयाँ ५७ पैसाको लगानीमा सडक निर्माण भइरहेको छ । इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार यो सडक खण्डको कुल लम्बाइ साढे ८ किलोमिटर हुनेछ । जसअन्तर्गत इटहरी–२ मा ३२ फिट, इटहरी–३ मा ६० फिट र इटहरी–४ मा ५० फिट चौडाइको सडक बन्ने योजना छ ।
तर, हालैको वर्षाले कालोपत्र सतहमै पानी थुनिन थालेपछि त्यसको डिजाइन र निर्माणमा प्रश्न उठ्न थालेको हो । ‘सुरुमै यस्तो भयो भने वर्षौं टिक्ने भनेर गरिएको लगानी व्यर्थ हुने खतरा छ,’ एक स्थानीयले बताए ।
निर्माण पक्षले बनाएको १३ महिना सम्म त मर्मत सम्भार गर्ने जिम्मा लिन्छ त्यो भन्दा पछिको जिम्मा कसले लिन्छ यस्तो कमसल सडक बनेको छ स्थानीयले भने ।
नेपाल सरकारले सार्वजनिक गरेको ‘घुम्नैपर्ने एक सय गन्तव्य’ सूचीमा पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल तालतलैया समावेश भएपछि इटहरी उपमहानगरपालिकाले तालतलैया जोड्ने सडकलाई ‘गौरवको आयोजना’मा राखेर निर्माण थालेको थियो । तर, निर्माण कार्यमा ठेकेदार पक्षको चरम लापरबाही देखिएपछि स्थानीयवासी र सरोकारवालाले आपत्ति जनाएका छन् । गम्भीर असन्तोष व्यक्त गरिरहेका छन् ।
इटहरी–३ का पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेस नगर उपसभापति बालकृष्ण बिष्टले गौरवको आयोजनाको नाममा सुरु गरिएको सडक निर्माण गुणस्तरियतामा प्रश्न उठेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘सडक बन्नु गौरवको कुरा हो । तर, न समयमै काम सकियो, न त गुणस्तर कायम गरियो । यस्तो लापरबाही अत्यन्त दुःखद हो ।’
'आशिष आशीर्वाद निर्माण जेभी' ले २०८२ असारसम्ममा काम सक्ने गरी ठेक्का पाएको भए पनि काम सुस्त छ । एक महिनाअघि त्रिवेणी चोकदेखि तालतलैया गेटसम्म कालोपत्रे गरिएको भए पनि स्थानीयले गुणस्तर कमजोर रहेको भन्दै चर्को विरोध गरेका छन् ।
‘धुलो राम्रोसँग नउडाउनु, वर्षा लाग्नुअघि हतारमा कालोपत्रे गर्नु सडक निर्माणमा देखिएको लापरबाही हो । यस्तो कामले पर्यटकलाई असहज बनाउनुका साथै स्थानीयको सुरक्षामा समेत जोखिम बढाउँछ,’ स्थानीयले गुनासो गरे ।
इटहरी उपमहानगरपालिका–३ का वडाध्यक्ष उमेश सुवेदीले सडक निर्माणको कामप्रति असन्तोष जनाउँदै ठेकेदारको कामप्रति कडा आपत्ति जनाएका छन् । ‘बरु यस अघिको सडक नै राम्रो थियो जस्तो भइसक्यो,’ उनले खिन्न हुँदै भने, ‘कालोपत्रे त भयो । तर न काममा गुणस्तर छ, न त कुनै ‘फिनिसिङ’ नै ।’
ड्रेन निर्माणका क्रममा लापरबाही भेटिएपछि आफूले स्पटमै काम रोक्न लगाएको स्मरण गर्दै वडाध्यक्ष सुवेदीले निर्माण प्रक्रियामा ठेकेदारले गैरजिम्मेवारी देखिएको बताए । ‘हामी प्राविधिक होइनौँ । तर, सडकको चौडाइ नाप्दा ठिक्क पुर्याइन्छ । अनि ‘ठीक छ’ भनिन्छ । यसले झनै शंका ब्जाउँछ,’ उनले भने।
वडाध्यक्ष सुवेदीले सडकको सुपरिवेक्षण गर्ने जिम्मा पाएको इटहरी उपमहानगरपालिका र वर्ल्ड बैंकको प्रतिनिधिहरू नै जिम्मेवार नबनेको आरोप लगाए । साथै, ठेक्का प्राप्त कम्पनी ‘आशीर्वाद’ले पेटी ठेक्का दिएको भन्दै त्यसले कामको गुणस्तरमा प्रश्न उठाएको बताए ।
यता इटहरी उपमहानगरपालिका– ४ का वडाध्यक्ष भक्त लामा भन्छन्, ‘मैले पटक–पटक मापदण्ड अनुसार सडक बनाउनु भनेको छु । सम्झौतामा जसरी लेखिएको छ, त्यही अनुसार काम हुनुपपर्छ । तर, वडामा अहिले निर्माणाधीन सडकमा फिनिसिङसमेत भएको छैन । के हुँदैछ भन्ने जानकारी नै छैन ।’ उनले असारमै सम्पन्न हुनुपर्ने काम अहिलेसम्म नसकिएको उल्लेख गर्दै कामको ढिलाइ र गुणस्तरबारे विश्व बैंक तथा नगरपालिकाबीचको सम्झौता अनुसार जिम्मेवारी लिनुपर्ने तर्क राखे ।
सडक निर्माणमा मापदण्ड पालना नभए वर्ल्ड बैंकका इन्जिनियरहरू ल्याएर बाटो भत्काएर आफैँ बनाउने चेतावनी लामाले दिए । भने, ‘जस्ताको तस्तै राम्रो बाटो बनेन भने म जिम्मा लिन्छु । भत्काएर म बनाउँछु ।’
उनले समेत ४ नम्बर वडा पर्ने क्षेत्रमा ड्रेन नबनाइनै पिच गर्न लागेको आफूहरूले थाहा पाएपछि रोकिदिएको दाबी गरेका छन । वडाध्यक्ष लामाले स्थानीयको सहज र सुरक्षित आवागमनलाई ध्यानमा राखी मापदण्डअनुसार काम गर्न निर्माण पक्षलाई आग्रह गरेका छन् ।
स्थानीयहरूले सडक निर्माण कार्यमा पारदर्शिता, मापदण्डअनुसारको निर्माण तथा दोषी ठेकेदारमाथि कारबाहीको माग गरेका छन् । ‘यदि काम सुधारिएन भने आन्दोलनमा जान बाध्य हुनेछौं,’ उनीहरुको चेतावनी छ ।
ठेकेदार कम्पनीले म्याद थप्दै, जिम्मेवारी पन्छाउँदै
निर्माण समयमै नसकिएपछि 'आशिष आशीर्वाद जेभी'ले विश्व बैंकसँग २०२५ नोभेम्बरसम्मको म्याद थप गरिसकेको छ । जेभीका सञ्चालक केशर बुढाथोकीका अनुसार इटहरी उपमहानगरमा पनि म्याद थपका लागि निवेदन दिइएको छ ।
‘वर्ल्ड बैंकबाट म्याद थप भइसकेको छ । इटहरीबाट थप्ने प्रक्रिया जारी छ,’ बुढाथोकीले भने ।
स्थानीयको गुनासोप्रति प्रतिक्रिया दिँदै उनले निर्माण कार्य अन्तिम चरणमा रहेकाले केही समस्या भए सुधार गरिने बताए । ‘यदि पानी जमेको हो भने बनाइदिन्छौं,’ बुढाथोकीले भने, ‘स्थानीय जनप्रतिनिधि र कन्सल्टेन्टको रोहबरमा कालोपत्र भएको हो । गुनासो आउनु हुँदैन ।’
यता विश्व बैंकका प्रतिनिधिका रूपमा काम गरिरहेका प्रध्युम्न न्यौपानेले निर्माणको क्रममा गम्भीर त्रुटि देखिएपछि पटक–पटक पत्र पठाएर काम रोकाइएको दाबी गरेका छन् । तर, ती पत्रको प्रमाण माग्दा उनी सम्पर्कविहीन बनेका छन् । जसले उनको दाबीप्रति नै गम्भीर प्रश्न उठाएको छ।
‘निर्माण स्थलमै नपुगी टिप्पणी गर्ने ?,’ आरोपको खण्डन गर्दै न्यौपानेले भने, ‘म निरन्तर फिल्डमा पुगेको छु । यस्तो आरोप पूर्ण रूपमा झुटो हो ।’ उनले त्रुटि देखिएपछि लिखित पत्रमार्फत निर्माण कार्य रोकिएको बताएका थिए । तर,ती पत्र कहिले, कुन मितिमा र के आधारमा पठाइयो भन्नेबारे प्रमाण देखाउन नसकेपछि उनी आफैँ विवादमा तानिएका छन् ।
पत्रको प्रतिलिपि माग्दा ‘कार्यालय पुगेपछि पठाइदिन्छु’ भन्दै पन्छिएका न्यौपाने त्यसयता सम्पर्कमा आउनै चाहेनन् । उनी सम्पर्कविहीन बनेपछि उनका भनाइमाथि शंका बढेको छ । निर्माण कार्यको पारदर्शिता, गुणस्तर र निगरानी प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ ।
एकातिर निर्माण पक्षको लापरबाही, अर्कोतर्फ सुपरिवेक्षणमा खटिएका प्रतिनिधिको यस्तो अस्पष्ट र जिम्मेवारीविहीन व्यवहारले निर्माणको गुणस्तरमाथि गम्भीर शंका जन्माएको छ।
जनताको कर तिरेर निर्माण गरिने पूर्वाधारमा यस्तो ढिलासुस्ती र अव्यवस्था हुनु दुर्भाग्यपूर्ण भएको सरोकारवाला बताउँछन् । आपराधिक लापरबाहीको संकेत नै भएको उनीहरुको भनाइ छ ।
वर्ल्ड बैंकको ऋणमार्फत नेपाल सरकारले रकम जुटाई इटहरी उपमहानगरपालिकालाई अनुदान दिएपछि निर्माण थालिएको इटहरीको महत्त्वपूर्ण सडक हो ।
सडक निर्माणका लागि प्रारम्भिक ठेक्का रकम ७३ करोड ८० लाख रुपैयाँ तोकिएको थियो । तर, निर्माण प्रक्रिया अघि बढेपछि वर्ल्ड बैंकले सोही आयोजना अन्तर्गत थप १ करोड ९२ लाख ४० हजार ९ सय ४३ रुपैयाँ अनुदान स्वरूप उपलब्ध गराएको छ ।
त्यसअनुसार सडक निर्माणको कुल लागत अब ८४ करोड ७२ लाख ५३ हजार ४ सय २० रुपैयाँ पुगेको छ । सम्झौताअनुसार गत असार मसान्तसम्ममा निर्माण कार्य पूरा गर्नुपर्ने भए पनि हालसम्म जम्मा ६९ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
निर्माण कार्यको ठेक्का लिएको ‘आशिष–आशीर्वाद जेभी’ कम्पनीले वर्ल्ड बैंकबाट ५१ करोड ५० लाख रुपैयाँ भुक्तानी पनि लिइसकेको बताइएको छ ।
सडक निर्माणको जिम्मा उदयपुरको त्रियुगा–७ स्थित आशिष् आशीर्वाद जेभी कम्पनीले लिएको हो । कम्पनीले २०८० सालको असार ३ गते निर्माण सम्झौता गरी काम सुरु गरेको थियो ।
ठेकेदार कम्पनीले पटक–पटक म्याद थप्दै काम लम्ब्याउनु र गुणस्तर कायम नगर्नु गम्भीर विषय भएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया