गाईघाट : तीन दिनदेखि लगातार भइरहेको झमझम वर्षाले सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै गएपछि उदयपुरको बेलका नगरपालिकाका बासिन्दा डुबान र कटानको उच्च जोखिममा परेका छन्।
विशेषगरी बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी आसपासका बस्तीहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन्।
बाढीको जोखिम बढेपछि बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले ती क्षेत्रहरूमा नदी कटान सुरु भइसकेको र स्थिति चिन्ताजनक बन्दै गएको जानकारी दिइन्।
सप्तकोशीले धार परिवर्तन गर्ने सङ्केत देखिएपछि जोखिममा रहेका गाउँहरूको स्थलगत अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद लुइँटेल नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेको छ।
सिडिओ लुइँटेलले कोठु, डुम्रीबोट, सिसौलीजस्ता क्षेत्रमा सप्तकोशी नदी किनार कटान गर्दै घर नजिक आउन थालेकाले स्थानीयवासीलाई सतर्क रहन र उच्च जोखिमका लागि तयार रहन आग्रह गरेका छन्।
उनले सम्भावित विपद् न्यूनीकरण तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।
उक्त टोलीमा सहभागी नगरप्रमुख अशोक कार्कीले बेलकाको उच्च जोखिमयुक्त क्षेत्रमा तत्काल पूर्वतयारी थालिएको र उद्धारका लागि आवश्यक जनशक्ति र स्रोत साधन परिचालन गर्न सुरु गरिएको बताए।
जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार विपद्मा परेकाको उद्धार र राहत कार्यका लागि आवश्यक रणनीति तयार भइसकेको छ।
जिल्ला प्रशासन उदयपुरले सम्भावित डुबान प्रभावित क्षेत्रमा बासिन्दालाई सुरक्षित स्थानमा सर्ने र रातिको समयमा विशेष सतर्कता अपनाउन आग्रह गर्दै बेलकाबासीलाई बाढीबारे नियमित जानकारी लिन अपिल गरेको छ।
सप्तकोशीको यो बाढी पूर्वतयारी नगरेमा ठुलो क्षति निम्त्याउन सक्ने भन्दै स्थानीय तहले चनाखो भएर जोखिम न्यूनीकरणमा जुट्न आग्रह गरेका छन्।
प्रतिक्रिया