 
                            झापा : झापाको गौरीगंज गाउँपालिका–६ खजुरगाछी बजारमा राति भएको आगलागीमा करिब एक करोड बीस लाख रुपैयाँ बराबरको क्षति भएको छ।
हिजो (बिहिबार) राति करिब १० बजे खजुरगाछी बजारका राजेन्द्र ढकालको ईट्टाको गाह्रो र टिनको छाना भएको दुई तले आठ कोठे घरमा आगलागी भएको हो। सो घर छेउमै रहेको टिनको छानाको तीन कोठे टहरामा चन्द्र नायकले सञ्चालन गर्दै आएको होलसेल किराना पसलमा अचानक बिजुली सर्ट भएर आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय गौरीगंज , सीमा सुरक्षा बल, गौरादह नगरपालिका, शिवसतासी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा खटिएको टोलीले करिब मध्यराति १२ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो।
आगलागीबाट कुनै पनि मानवीय वा चौपाया क्षति नभए पनि घर र पसलभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। आगलागीमा राजेन्द्र ढकालको घरभित्र रहेका सुन, चाँदी, नगद, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान जलेर करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
त्यसैगरी, चन्द्र प्रसाद नायकको नाममा दर्ता भएको ‘राहुल खुद्रा किराना पसल’ पूर्ण रूपमा जलेर नष्ट भएको छ, जसबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। निजकी श्रीमती मिनु देवी नायकको नाममा रहेको भाडा पसल पनि जलेर करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
आगलागीबाट जम्मा करिब एक करोड बीस लाख रुपैयाँ बराबरको क्षति भएको र घटनाको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार, आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया