उदयपुर । उदयपुर प्रहरीले नौ किलो अवैध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बेलका नगरपालिका–३ मोरङ्गे टोलका ३५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीका अनुसार बुधबार बेलका नगरपालिका–१ आमबासीमा चेकिङमा खटिएको प्रहरी टोलीले मोटरसाइकल सवार श्रेष्ठलाई शंका लागी चेकजाँच गर्दा झोलामा लुकाई ल्याउँदै गरिएको नौ किलो गाँजा फेला पारेको हो।
श्रेष्ठले चढेको प्रदेश १–०५–००१ प ९४७८ नम्बरको मोटरसाइकल रामपुरठोक्सिलाबाट सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका फत्तेपुरतर्फ जाँदै गरेको थियो। सो क्रममा प्रहरीले मोटरसाइकल रोकेर चेकजाँच गर्दा गाँजा भेटिएको थियो।
श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया