उदयपुर । राष्ट्रिय गौरवको आयोजना निर्माणका नाममा अवैधरूपमा माटो उत्खनन गरी ओसारपसार गरेको आरोपमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले नेपाल प्रहरीको सहयोगमा १७ वटा टिपर नियन्त्रणमा लिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईका अनुसार नियन्त्रणमा लिइएका टिपरबारे वास्तविकता छानबिन सुरु भएको छ । उनले राष्ट्रिय गौरव आयोजनाको नाममा कसैलाई पनि अवैध उत्खननको अनुमति नहुने स्पष्ट पार्दै, कोशी प्रदेश सरकारको आर्थिक ऐन २०८१ को अनुसूची ११ अनुसार कानुनी कारबाही गरिने बताए ।
चौदण्डीगढी–४ स्थित केशव बहादुर भुजेलको नम्बरी जग्गाबाट माटो उत्खनन भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले मंगलबार १७ वटा टिपर नियन्त्रणमा लिएको हो । टिपरहरू नगरपालिकालाई बुझाइएको थियो ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार जेठ ३१ देखि असोज १ सम्म कुनै पनि व्यक्तिको जग्गा वा अन्य स्थानबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि साउन महिनामा गैरकानुनी रूपमा माटो उत्खनन गरिएको हो ।
उक्त माटो सिताराम कन्स्ट्रक्सन बेल्टारमार्फत सासेक राजमार्ग सुधार योजनाको पूर्वी खण्ड कञ्चनपुर–कमलामा काम गरिरहेको चाइना रेल्वे नं. २ इन्जिनियरिङ समूह कम्पनी लिमिटेडलाई बिक्री गरिएको हो ।
नगर प्रमुख कालुमान लामाले आफू नगरबाहिर रहँदा गैरकानुनी उत्खनन भएको र सो बारे स्पष्ट जानकारी नभएको बताए । तर, यस्ता कार्य गर्ने कम्पनीलाई कानुनअनुसार कारबाही गरिने बताए ।
स्थानीयवासीहरूले पटक–पटक यस्ता घटना दोहोरिने गरेको भन्दै अवैध उत्खनन गर्ने कम्पनीलाई कालोसूचीमा राखी भविष्यमा काम गर्न नपाउने व्यवस्था गर्न माग गरेका छन् ।
उता सिताराम कन्स्ट्रक्सनका सञ्चालक तेज नारायण शाहले आफूले कानुनी अनुमति लिएर मात्र उत्खनन गरेको दाबी गर्दै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत आयोजना निर्देशनालयबाट असार ८ गते प्राप्त आशयपत्रका आधारमा उत्खनन सुरु गरिएको बताएका छन् ।
उनका अनुसार प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी केशव बहादुर भुजेलको ३८ कट्ठा जग्गामध्ये हाल १५ कट्ठाबाट ६ हजार घनमिटर उत्खनन भइरहेको छ । तर, नगरपालिकाले यसबारे कुनै जानकारी नभएको जनाएको छ ।
प्रतिक्रिया