विराटनगर । विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव सङ्कलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।
हिजो र अस्ती धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव सङ्कलन गरेर केन्द्रमा पठाउनका लागि कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गिरि (झापा), इन्द्रमणी पराजुली (धनकुटा) खड्ग राई (सङ्खुवासभा), इश्वरमणी राउत (उदयपुर) ,सत्यनारायण चौधरी (मोरङ) रहेका छन ।
यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।
खतिवडाका अनुसार भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरू राखिएका छन् । एक सातामा भित्र आयोजना हुने बैठकमा विधान संशोधनका विषयमा व्यापक बहस हुने, त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।
जिल्लाका बैठकहरूमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तर पार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ ।
अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएकै होः खतिवडा
बैठकमा कतिपय केन्द्रीय सदस्यले आफ्ना मत राख्न नपाएको गुनासो आइरहेका सवालमा पार्टी प्रदेश कमिटी अध्यक्ष खतिवडाले अपानिको बर्खिलाप हुने गरी बोल्न नदिएको बताए ।
‘पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नु यो । केही कमरेडहरूले पार्टी केन्द्रको निर्णय र अपानि १२ को बर्खिलापमा छलफल गर्न खोज्नु भएको थियो ’ खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन, तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरूले बोल्ने समय पाउनु भएन ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः एमालेमा सक्रिय हुने चासो राखे पछि अहिले एमाले भित्र त्यसका बारेमा बहस गर्न खोज्नेलाई रोक लगाइएको असन्तुष्ट नेताहरूले जनाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले साउन १२ गते अन्तर पार्टी निर्देशन १२ जारी गर्दा पार्टी केन्द्रका निर्णय र विभिन्न निर्देशन मातहतका पार्टी कमिटीमा पठाएका थिए ।
प्रतिक्रिया