उदयपुरमा अवैध उत्खनन प्रकरण: १७ वटा टिप्पर नियन्त्रणमा लिएपछि पालिकाले गठन गर्‍यो छानबिन समिति

शुक्रबार, ३० साउन २०८२

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित केशव बहादुर भुजेलको निजी जग्गाबाट गिट्टी/माटो उत्खनन भइरहेको अवस्थामा साउन २७ गते १७ वटा टिप्पर नियन्त्रणमा लिएपछि नगरपालिकाले दोषी पहिचान गरी कानुनी कारबाही गर्न छानविन समिति गठन गरेको छ।

हिजो बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले वडा नम्बर ९ का अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो। समितिमा वडा नम्बर ४ का अध्यक्ष लुङ्गाराज राई र पालिकाका इन्जिनियर सन्तोष राई सदस्य छन्। इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले उत्खनन भइरहेको स्थानमा छापा मारेर टिप्परहरू नियन्त्रणमा लिएपछि ती सवारी साधनहरू नगरपालिकाको जिम्मामा बुझाइएको हो।

उक्त उत्खनन क्षेत्र नम्बरी हो वा ऐलानी (वन क्षेत्र) भन्ने विषय अझै स्पष्ट नभएको स्थानीयको भनाइ छ। उनीहरूले असार महिनादेखि नै अवैध उत्खनन भइरहेको तर साउन २७ गते मात्र घटना सार्वजनिक भएको बताएका छन्। लामो समयसम्म यसबारे खुलासा नभएनु घटनामा ठूला व्यक्तिहरूको मिलेमतो रहेको संकेत भएको स्थानीयको आरोप छ। साथै, प्रहरी प्रशासनको समेत संलग्नता हुन सक्ने दाबी गरिएको छ।

यस घटनालाई लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), राप्रपा र जसपाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविनको माग गरेका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले छुट्टै विज्ञप्ति जारी गर्दै घटनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ।

छानविन समितिका संयोजक प्रकाश राउतले घटनाको वास्तविकता सार्वजनिक गर्न र दोषी जोकोही भएपनि कानुनी दायरामा ल्याउन प्रतिबद्धता जनाएका छन्। उनका अनुसार समिति गठन भएसँगै आवश्यक प्रक्रिया सुरु भइसकेको छ र जनताले शंका गरेका सबै पक्षमा निष्पक्ष छानविन हुनेछ।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार