काठमाडौं । निर्धारित कोटाभन्दा अत्यन्त न्यून विद्यार्थी हुनुलगायत विभिन्न कारणले समस्यामा परेका क्याम्पसहरु मर्ज गरिने (गाभिने) भएका छन् ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाका अनुसार काठमाडौं विश्वविद्यालय (केयु) मा सञ्चालित सातवटा स्कुलमा दुई सय शैक्षिक कार्यक्रमको कूल सिट कोटाको ३० प्रतिशत यस वर्ष कोटा खाली छ।
उनले मेडिकलतर्फ एमबिबिएस र बिडिएसबाहेक अन्यमा पनि कोटा खाली रहेको जनाए। यो समस्या एउटा केयुको मात्र नभएर मुलुकमा सञ्चालित ११ विश्वविद्यालयका १ सय ५० आंगिक कलेज, ५ सय ३७ सामुदायिक कलेज र ७ सय ७३ सम्बन्धन प्राप्त निजी गरी एक हजार चार सय ४० कलेजको समस्या हो।
विद्यार्थी अभावमा कलेज बन्द हुने अवस्थामा पुगेपछि सरकार भने सयभन्दा कम विद्यार्थी भएका २ सय १८ सामुदायिक कलेज र २१ आंगिक कलेजका कार्यक्रम मर्जर गर्ने तयारीमा जुटेको अनुदान आयोगले जनाएको छ।
यसैगरी सयभन्दा कम विद्यार्थी भएका ३ सय ४५ निजी कलेज मर्जरबारे पनि छलफल अघि बढेको आयोगले जनाएको छ।
शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा काठमाडौं विश्वविद्यालयले केही दिनअघि मात्र नेपालको उच्च शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो।
गुणस्तरीय शिक्षा र अवसरको खोजीमा विगत ८ महिनामा ७० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न बिदेसिएको राष्ट्रबैंकको तथ्यांक छ भने साउनदेखि चैत २३ सम्म ८० हजार विद्यार्थीले विभिन्न देशमा अध्ययनका लागि एनओसी लिएका छन्।
विद्यार्थी विदेशिएपछि नेपाली कलेजहरू बन्द हुने अवस्थामा पुगेका हुन्। विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकरप्रसाद भण्डारीका अनुसार आयोगले सयभन्दा कम विद्यार्थी भएका सामुदायिक कलेज गाभ्ने र आंगिक कलेजको हकमा न्यून विद्यार्थी भएका कार्यक्रमसमेत गाभ्नका लागि मापदण्ड बनाएर अवधारणा पत्रसमेत तयार गरी अघि बढेको छ।
नेपालमा सञ्चालित कुल एक हजार चार सय ४० कलेजमध्ये ६५ प्रतिशत कलेज कठिनसाथ सञ्चालन भइरहेका छन्।
२०७९–८० मा विश्वविद्यालय अनुदान आयोगबाट अनुदानका लागि निवेदन दिएका सयभन्दा कम विद्यार्थी संख्या भएका सबैभन्दा बढी बागलुङ र स्याङ्जामा ६–६ वटा रहेको उल्लेख छ।
उनले क्याम्पस मर्जर गर्ने सबालमा विश्वविद्यालय अनुदान आयोगले नीति र मापदण्ड बनाएर क्याम्पस मर्जरमा लैजाने तयारी गरिरहेको जनाए।
५ वर्षअघि सामुदायिक क्याम्पसहरूमा अध्ययनरत विद्यार्थी संख्या ३३.६ प्रतिशत थियो भने हाल २९।०९ प्रतिशतमा झरेको तथ्यांकले देखाउँछ।
पाँच वर्षअघि ५ सय ३२ सामुदायिक क्याम्पस रहेकोमा हाल ५ सय ३७ रहेको देखिन्छ। यसले क्याम्पस संख्यामा वृद्धि भए पनि विद्यार्थी संख्या घट्दै गएको देखाउँछ।
सरकारले चालु शैक्षिक वर्षमा कुल शिक्षा बजेटको एक खर्ब ९६ अर्बमध्ये १० प्रतिशत रकम उच्च शिक्षामा लगानी गरेको छ। लगानी अनुसारको उपलब्धि नआएपछि सरकारले कलेज मर्जर गर्न नीति तथा मापदण्ड बनाएर अघि बढेको आयोगले जनाएको छ।
मर्जरका लागि विश्वविद्यालयका प्राध्यापक उपकुलपति तथा कलेजका प्राध्यापक सहमत भइसकेका छन्। २०७६ सालको राष्ट्रिय शक्षा नीतिले पनि न्यून विद्यार्थी भएका कलेजहरू मर्जर गर्ने व्यवस्था गरेको छ।
नेपालमा विश्विविद्यालयका आंगिक क्याम्पसको संख्या १५० पुगेको छ भने सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसको संख्या ५३७ र निजी क्याम्पस संख्या ७५३ गरी १४४० पुगेको छ। देशभर चार लाख ६० हजार विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेका छन्।
त्रिभुवन विश्वयविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसको संख्या ५२८ छ। नेपाल संस्कृत विश्वविद्यालयबाट चारवटा र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच वटा सामुदायिक क्याम्पस छन्।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस संख्या ५२८ छन्। नेपाल संस्कृत विश्वविद्यालयबाट ४ वटा र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ५ वटा सामुदायिक क्याम्पस छन्।
प्रतिक्रिया