विराटनगर । मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशुलाई फेला पारिएको छ ।
शनिबार बिहान शौचालयभित्रबाट रोएको आवाज आएपछि कर्मचारीले खोज्दा भर्खरै जन्मिएको करिब १ किलो २ सय ग्राम तौलको छोरा शिशु भेटिएको अस्पतालले जनाएको छ । अस्पतालले तत्कालै प्रहरीलाई खबर गरेपछि शिशुलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ ।
अभिभावकको अत्तोपत्तो नलागेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीको समन्वयमा शिशुलाई एन्जल फाउन्डेसनमार्फत झापाको दमकस्थित कियोच बाल अस्पतालमा लगिएको छ । फाउन्डेसनका जनरल म्यानेजर सन्तोष कार्कीका अनुसार शिशु हाल एनआईसीयूमा भर्ना गरिएको छ ।
चिकित्सकको निगरानीमा शिशुको उपचार भइरहेको छ । कार्कीले तत्कालका लागि शिशुको सम्पूर्ण उपचार र आवश्यक खर्च फाउन्डेसनले बेहोरेको जानकारी दिए ।
यसबीचमा प्रहरीले नवजातलाई शौचालयमा छाडेर जाने आमाको खोजी सुरु गरेको छ । अस्पतालमा सीसीटीभी फुटेज तथा सोही समयमा आउने–जाने व्यक्तिहरुको विवरण संकलन गरेर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रतिक्रिया