उदयपुरमा प्रस्तावित सगरमाथा विमानस्थल घाँसे मैदानमा परिणत, हजारौं रुख काट्दा वन क्षेत्र उजाड

शुक्रबार, २० भदौ २०८२

उदयपुर । उदयपुरमा निर्माण गर्न लागिएको प्रास्तावित सगरमाथा आन्तरिक विमानस्थल अहिले घाँसे मैदानमा परिणत भएको छ । त्रियुगा नगरपालिका–१ र २ को जोगीदह क्षेत्रमा पर्ने शिवालय धार्मिक वन, कंग सामुदायिक वन र मोतिहायी सामुदायिक वनको १५६.११ हेक्टर वन क्षेत्र विमानस्थल निर्माणको नाममा खाली गरिएको थियो । तर, निर्माण कार्य अघि नबढ्दा १०५ हेक्टरभन्दा बढी वन क्षेत्र उजाड भई अहिले घाँसेमैदान बनेको छ ।

स्थानीयवासीले बिना योजना विमानस्थलको नाममा वन फडानी गरिएको आरोप लगाएका छन् । प्रारम्भिक कमिटीका कोषाध्यक्ष रुद्र अधिकारीका अनुसार, हरियाली वन विनाश गरेर बनेको उक्त मैदानमा अहिले गाईभैंसी चराउने काम मात्रै भइरहेको छ । उजाड बनेको जग्गा वेवारिसे जस्तै देखिन थालेपछि स्थानीयले सामूहिक केरा खेती वा अन्य कृषि उत्पादनमा प्रयोग गर्नुपर्ने मागसमेत गरेका छन् ।

डिभिजन वन कार्यालय गाईघाटका प्रमुख घनेन्द्र श्रेष्ठका अनुसार, सो वन क्षेत्रको स्वामित्व नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा गइसकेको छ । तर, प्राधिकरणले संरक्षणमा चासो नदिँदा अतिक्रमणको जोखिम बढेको उनले बताए । जिल्ला मालपोत कार्यालयका प्रमुख दुबिन्द्रप्रसाद बरालले भने उक्त जग्गा अझै वनकै सरकारी नाममा दर्ता रहेको स्पष्ट पारे ।

सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नबनाई वन फडानी गर्नु दुखद भएको बताए । उनका अनुसार, तत्कालिन सरकारले चुनावी प्रचारको नाममा विमानस्थलको हल्ला मच्चाएर वन क्षेत्र उजाड गरेको हो । एमालेका अध्यक्ष भागवत राउतले पनि डिपिआर बिना वन फडानी गर्नु गलत भएको टिप्पणी गरे ।

यता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. नारायण खड्काले भने विमानस्थल निर्माण प्रक्रिया अघि बढिसकेको दाबी गरेका छन् । उनका अनुसार, प्रारम्भिक अध्ययनपछि रुख कटान भएको र अब डिपिआर तयार गर्ने काम हुने छ । त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले विमानस्थल नबने पनि उजाड बनेको जमिनलाई घेराबेरा गरेर भविष्यमा उपयोग गर्ने बताएका छन् ।

२०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले विमानस्थलका लागि वन क्षेत्र प्रयोग गर्ने निर्णय गरेको थियो । तर, हाल बजेट अभाव र योजना अभावकै कारण निर्माण अघि नबढ्दा विमानस्थलको सपनासहित उजाड बनेको वन क्षेत्र घाँसेमैदानमा परिणत भएको छ ।

ariport ko rukh kater stoke garieko 2

स्थानीयवासीको बुझाइमा, उदयपुरमा हरेक निर्वाचन नजिकिँदा विमानस्थल निर्माणको एजेन्डा उठाइन्छ तर निर्वाचन सकिएपछि बिर्साइन्छ । अहिले पनि सगरमाथा विमानस्थल योजना ठूला नेताहरूको राजनीतिक नारामा मात्र सीमित भएको भन्दै उनीहरू निराश बनेका छन् ।

प्रतिक्रिया

अञ्जनीकुमार अधिकारी
लेखकको बारेमा
अञ्जनीकुमार अधिकारी
जिल्ला संवाददाता

उदयपुर जिल्ला निवासी अधिकारी विगत १ दशक अघिदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

सम्बन्धित समाचार