गाईमा लाग्ने लम्पी स्किन रोगले इलाममा दूध उत्पादन घट्यो

शनिबार, ०९ बैशाख २०८०
इलाम । इलामका बिभिन्न स्थानमा हाल लम्पी स्किन नामक रोग फैलिएको छ । यस रोगका कारण किसानले पालेका गाईहरु बिरामी परेका छन् । रोगकै कारण सयौँ संख्यामा गाई मरेका छन् । हजारौँ बिरामी परेका छन् । इलामको मुख्य उत्पादन मध्येको एक दुध उत्पादन नै प्रभावित भएको छ । रोग फैलिएपछि कोशी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले इलाममा रोगबारे छलफल अगाडि बढाएको छ । इलामका प्राय सवै पालिकाहरुमा लम्पि स्किन रोगले पशु चौपाया थला परेपछि भयावह रुप लिएको गाउँका जनप्रतिनीधि र पशु प्राविधिकहरुले औँल्याएका छन् । धेरै गाइवस्तु मरेका छन् । दुध उत्पादन घटेको छ । डढेलो सल्किएझै लम्पि स्किन रोग सल्किएको छ । प्रदेश सरकार ढिलो आएको छ । इलामको पशु सेवा विज्ञ केन्द्रमा छिटो डाक्टर पठाउन यहाँका बासिन्दाले आग्रह गरेका छन् । सूर्योदय गरपालिकाका पशु चिकित्सक विपिन कुमार सिंहले चाँडो चिकित्सक तथा इलाम स्थित कार्यालयमा दरबन्दी अनुसार कर्मचारी खटाउन आग्रह गरे । कतै कतै गाइवस्तुका अगाडीका खुट्टा सुन्निने र कतै ह्याकुलो सुन्निने अनि गाइवस्तु बस्न नै नसकेर विरामी हुने एवम् मर्ने गरेको प्राविधिकहरुको भनाई छ । रोङ गाउँपालिकाले पहिलो चोटी वहुवनबाट यो संक्रमण पशु चौपायामा देखिएकाले तत्काल समाधानका लागि सकेसम्म श्रोत जुटाएर औषधी उपचार गरीएको जनाएको छ । उपाध्यक्ष विष्णुमाया खवासले गाउँपालिकाले तत्काल प्राविधिकहरुसँग सल्लाह गरेर विपद व्यवस्थापन कोषको रकमबाट खर्च गर्ने गरी प्रत्येक टोलमा लम्पि स्किन विरुद्ध उपचार संचालन गरिएको जानकारी दिइन् । रोङका पशु सेवा प्रमुख मिङ्मा रिञ्जी शेर्पाले अहिले पनि लम्पि स्किन संक्रमण भइरहेकाले गाउँपालिकामा श्रोत र साधनको अभाव खड्कीएको बताए । उनले गाइवस्तु मर्न थालेपछि दुध उत्पादन घटेको र सडकमा दुध बोक्ने गाडि नै कम कुद्न थालेको बताए । पशु प्राविधिकहरुका अनुसार गाउँघरमा देखिएको ठेउले रोग अर्थात लम्पि स्किन भाइरसबाट सर्ने रोग हो । यसको उपचार हँुदैन । रोगथाम गर्ने हो । गाउँमा यो समस्या देखिएपछि उनीहरु तत्काल पशु वस्तुलाई एन्टी वायोटिक भ्याक्सीन दिने गरेका छन् । हावाबाट समेत यो संक्रमण फैलने हुँदा एकैचोटी जिल्लामा भयावह स्थिति देखा परिरहेको छ । प्राविधिकहरुले यसको लागि गोठको सरसफाइमा ध्यान दिन किसानहरुलाई सुझाव दिने गरेका छन् । यस्तै निसंक्रमण गर्ने र जैविक सुरक्षाको विधि अपनाउन सुझाव दिने गरेका छन् । माइजोगमाई ३ नामसालिङकी किसान उर्मिला तामाङले गोठका सवै गाइमा ठेउला देखिएकाले पेलेको तोरीको तेल, बेसार र लसुन पिधेर लगाइदिएको सुनाइन् । उनले यस्तो घरेलु उपचारले पनि बस्तुभाउ निको भएको सुनाइन् । कोशी प्रदेश कृषि तथा सहकारी मंत्रालयकी बरीष्ठ पशु चिकित्सक डा दीपा दियालीले जनशक्तिको चरम अभाव भएकाले समस्या सम्बोधन गर्न ढिलाइ भएको बताएकी छन् । उनले इलाम जिल्लामा पनि तत्कालै पशु चिकित्सकको व्यवस्था भइसकेको र चाँडै पदबहाली हुने जानकारी दिइन् । इलाममा डा राघबेन्द्र तिवारी आउने भएका छन् । जिल्लामा रहेको भेटनरी अस्पताल तथा तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालयमा विगत तीन महिनादेखि कार्यालय सहयोगिको भरमा कार्यलय संचालन भइरहेको छ । दियालीले पशु बस्तुमा अलिक फरक लक्षण पनि देखिएको बताइन् । ‘लम्पि स्किन रोग लाग्दा सवै पशु बस्तुमा गिर्खा देखिन्छ भन्ने छैन । कसैमा ज्वरो मात्र आउने लक्षण पनि हुन्छ । तर फरक प्रकृतिको लक्षण देखिएमा नमूना संकलन गरी प्रयोगशालामा पठाउनु पर्ने हुन्छ ।’ उनले थपिन् । लम्पी स्कीन रोगले थलिएका गाइवस्तुलाई लम्पि शिल्ड एन नामक भ्याक्सीन दिने गरिएको पशु चिकित्सकहरुको भनाई छ । उनीहरुका अनुसार नेपालमा संघीय मंत्रालयले यो भ्याक्सीन खरीद गरी उपलव्ध गराउन पहल थालेको छ । भ्याक्सीन आयातमा प्रदेश सरकार भन्दा संघीय सरकारको भुमिका बढि रहेको छ । डा दीयालीले भनिन् । नेपालमा यो भ्याक्सीन खरीद गर्न मन्त्रालयले वनडेभिल वायोटेकलाई अनुमति दिएको बताइएको छ । यो भ्याक्सीनको दाम दुइ सय रुपैयाँ पर्ने बताइएको छ । तर गाउँका प्राविधिकहरुले यो भ्याक्सीन कहिले आइपुग्ने टुंगो नभएको स्थिति भने भयाभह भएको बताए । इलाम नगरका पशु सेवा शाखा प्रमुख प्रकाश लुइटेलले भ्याक्सीन कहिले आइपुग्ने निश्चित नभएको बताए । ‘समग्रमा भ्याक्सीन नै महँगो छ । यसको मुल्य सय गुण महँगो भयो । स्थानीय तहले भ्याक्सीन किनेर दिन सक्ने स्थिति छैन । किसानले आफै तिरेर लाउँछु भन्दा पनि पाइरहेको स्थिति छैन ।’ प्रदेश मंत्रालयले जिल्लामा लम्पि स्किनको समस्या देखा परेपछि आकस्मिक रोग नियन्त्रण बजेटबाट केहि उपचारका सामग्री जिल्लामा ल्याएको र वितरण गरिएको जनाएको छ । तर यस्तो जटिल अवस्थामा प्रदेशले किसानलाई तत्काल राहत दिने कार्यक्रम ल्याउनुपर्ने जनप्रतिनीधिहरुले बताएका छन् । रोङ गाउँपालिकाकी उपाध्यक्ष खबासले प्रदेश सरकारले भ्याक्सीन दिएर पठाउने आशाले कार्यक्रममा आएको भए पनि नपाएको दुखेसो गरिन् । चाँडो भ्याक्सिन पठाएर मर्न लागेका पशु बचाउन जिल्लाबासीले संघिय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार