बारा : पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान सङ्घीय सांसद किसान श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडलाई षड्यन्त्रकारी दलालहरूको खेल भएको बताएका छन् ।
उनले आफूलाई भ्रष्ट्राचारी प्रमाणित गर्न सक्नेहरूले पाएमा आफैँ आगोमा जल्न तयार रहेको चुनौतीसमेत दिए ।
मङ्गलवार राति आन्दोलनकारीले श्रेष्ठको सिमरा–स्थित निवास, आधा दर्जन सवारीसाधन र व्यवसायमा आगजनी गरेर ठूलो क्षति पुर्याएका थिए ।
श्रेष्ठको भनाइअनुसार पितृकार्यका लागि भारतको बनारस गएका बेला यो आक्रमण भएको हो । उनी बुधवार राति मात्रै स्वदेश फर्किएका छन् ।
श्रेष्ठले घटनामा संलग्नहरूलाई "षड्यन्त्रकारी दलाल" भन्दै कानुनी वा जनस्तरबाट कारबाही हुने चेतावनी दिए ।
“चोक–चौतारामा बसेर किसान श्रेष्ठको घर जलाउनुपर्छ भनेर सार्वजनिक सम्पत्ति र निजी घरमा आक्रमण गर्नेहरूको पहिचान भइसकेको छ । कानुनले नसके जनताले कारबाही गर्नेछन्,” उनले भने ।
उनका अनुसार आगजनी र तोडफोडका कारण करिब १० करोड बराबरको क्षति भएको छ । “८ करोडको सवारीसाधन र २ करोड बराबरको संरचना ध्वस्त पारिएको छ,” श्रेष्ठले बताए ।
श्रेष्ठले सोझा–साझा जेनजी आन्दोलनकारीलाई प्रयोग गरी निजी सम्पत्ति तोडफोड गर्ने षड्यन्त्र भएको दाबी गरे । “मुलुकलाई संविधानविहीन बनाएर धमिलो पानीमा माछा मार्ने प्रयास भएको छ,” उनले भने ।
जीतपुर–सिमरा ४ निवासी श्रेष्ठ सिमराका व्यवसायी समेत हुन् ।
प्रतिक्रिया