इटहरी : यदि भाग्यले साथ दिएको भए, इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ आज (शनिवार) साउदी अरबतर्फ उडिरहेको हुन्थे।
टिकट र भिसा हातमै थिए, तर जीवनले उनलाई फरक मोडमा डोर्यायो। विमान चढ्ने उत्साहका साथ यात्रा गर्न नपाइ, उनी शववाहनमा कहिल्यै फर्किन नपाउने गरी फर्किए।
चार वर्षसम्म इटहरीको बर्गर हाउसमा पसिना बगाएका अभिषेकको सपना परिवारलाई सम्हाल्ने र आफ्नो जीवन सुधार्ने थियो।
“श्रम बेचेर जीवन बनाउने” चाहना बोकेका उनी अन्तिम पारिश्रमिक लिन गएको बर्गर हाउसबाट घर फर्किँदै गर्दा गोली लागेर जीवनको अन्त्य भयो।
इटहरी उपमहानगरको भिडभाडमा उनी प्रदर्शनकारी थिए कि सामान्य यात्रु भन्ने अझै स्पष्ट छैन, तर परिवारको पीडा अवर्णनीय छ।
दुबईमा श्रम गर्दै आएका बुबाले “उडान” होइन, “अन्त्येष्टि” का लागि नेपाल फर्किनु पर्यो। अभिषेकको आमा, भाइबहिनीसहित आफन्त एवम् छरछिमेकी विक्षिप्त छन् ।
उनकी माइजू तारा श्रेष्ठले आँसु रोक्न सकिनन्, “बर्गर हाउसबाट पैसा मागेर ल्याउँछु भनेर गएका थिए, फर्किँदै गर्दा नाकमा गोली लागेछ, हिँड्दै गर्दा ढलेछन्।”
भदौ २३ मा भएको जेन–जी आन्दोलनले १९ जनाको ज्यान लियो। त्यसै दिन इटहरी–१४ का मोहन सदाको प्राणसँगै अभिषेकको जीवन पनि सकियो।
उनका भाइ–बहिनी, आफन्त र छरछिमेकी भिषण पीडामा छन्। उनका साथीहरूले भने, “विदेश उड्ने तयारी गरिरहेका थिए, अब त हाम्रो साथी कहिल्यै फर्किँदैन।”
छोराको मृत्युपछि अभिषेकका बुबा आजै दुबईबाट नेपाल फर्किएका छन्। उनको शव हाल धरानस्थित बीपी प्रतिष्ठानमा राखिएको छ, र परिवारले अन्तिम श्रद्धाञ्जली दिन तयारी गरिरहेको छ।
प्रतिक्रिया